The District Doctor

बि.स.१९६७ बसन्त ऋतुको एक दिन, म कामको सिलसिलामा लेक पुगेर फर्किंदै थिएँ, आउँदा आउंदै मलाई चिसो लाग्यो र बिरामी परें । संयोगबस ज्वरो आइसक्दा सम्म म सानो बस्ती भएको स्थानसम्म आइपुगेको थिएँ । बास बसेको घरमा मैले बैद्य बोलाइदिन आग्रह गरें । आधा घण्टामा एउटा पातलो, कालो कपाल भएको मध्यम कदको बैद्य आइपुग्यो । उसले मलाइ साधारण ओखती दियो । तोरीको लेप लगाइदियो । पर हेर्दै, सुक्खा खोक्दै, मेरो उपचार बापत पाएको पाँच रुपैयाँ कोटको खल्तीमा हालेर हिंड्न के आँटेको थियो, बाहिर पानी दर्किन थाल्यो र रोकियो । म ज्वरोले लखतरान परेको थिएँ, आज रातभरि निद्रा लाग्दैन जस्तो मलाइ लागिरहेको थियो, त्यसैले उ रोकिएको देखेर केहिबेर भए पनि उसंग कुरा गर्न पाइने भयो भनेर खुशी लाग्यो । चिया मगाएँ । अनि बैद्य बिस्तारै मसंग खुलेर कुरा गर्न थाल्यो । उ निकै जाँगरिलो थियो र देखिन्थ्यो पनि । जिन्दगी अचम्मको छ…. कोहि हुन्छन जोसंग जति नै सुकै लामो समय बिताए पनि मन खोलेर कुरा गर्न सकिंदैन, आफ्ना कुरा राख्न पनि धक लाग्छ ….. कतिसम्म भन्दा हामी मन्दिर नै गएर भगवानकै सामु पनि सम्पूर्ण रुपमा साँचो  बोल्न सक्दैनौ । मलाइ थाह छैन तर अनायासै मलाइ त्यो मान्छेले मलाई निकै भरोशा गरेर आफ्ना सबै कुरा भन्न थाल्यो  । कुराकानीको क्रममा उसले आफ्ना जीबनमा भोगेका घटनाहरु सुनायो । त्यसमध्यको एक म यहाँ उसैको शब्दमा भन्दै छु ।
तपाईं सायद चिन्नु हुँदैन होला’ उसले थाकेको मधुर स्वरमा शुरु गर्यो, “तपाईं यहाँको जिमिन्दार, जिभप्रसाद भट्टराईलाइ चिन्नु हुन्छ र?…सायद चिन्नुहुँदैन होला। … (उसले घांटी खस्खसाउँदै  आँखा मिच्यो) “हेर्नुस, के भएको थियो भनेर भन्दा, म एकसाँझ मेरो छिमेकी जिमिन्दारको घरमा बसेको  थिएँ; यत्तिकै साथिहरुसंग रमाइलो गर्दै । हाम्रो जिमिन्दार निकै सज्जन व्यक्ति हुनु हुन्छ, अनि रमाइलो गर्न माहिर हुनुहुन्छ । त्यत्तिकैमा…. उहाँको नोकरले मलाइ बोलायो र भन्यो कोहि मलाइ सोध्दै आएको छ । मैले सोधें ‘किन खोजेको रहेछ मलाई?’ उताबाट आवाज आयो ‘उसले एउटा पत्र लिएर कोही आएको छ, पक्कै कोहि बिरामी भएर होला ।’ मैले पत्र माँगें — बिरामीको नै रहेछ  — ठिक छ — तपाइंलाई थाह नै छ — यहि मात्रै त मेरो हातमुख जोर्ने बाटो हो ।  पत्र एउटी बिधुवा महिलाले लेखेकी रहिछन, उनले यसो लेखेकी थिईन, ‘मेरी छोरी मर्दैछ, भगवानको लागि आइदिनुस।’ अनि लेखेको थियो ‘मैले तपाईंका लागि चम्दानी पठाएकी छू ।’ खैर, त्यो त ठिकै थियो तर उनको घर बीसौं कोश टाढा थियो, त्यसमाथि रात परिसकेको थियो, अनि सडक अत्यन्तै खराब थियो । त्यसमाथि बिधुवा….. पक्कै गरिब होलिन, दुइ रुपैयाँ पनि आशा गर्न नसकिने ठाऊँ थियो, त्यसमा पनि शंका थियो, पैसाको साटो अन्न पो दिएर पठाउने हुन कि भन्ने सम्भावना थियो । तर पनि.. मानवता.. सबै भन्दा ठुलो कुरा हो, उता बिरामी मृत्युको मुखमा हुन सक्छ । म खेल्दाखेल्दैको तास अर्कोलाइ थमाएर घर गएँ । देखें, दुइटा देख्दै दिक्क लाग्दा झमेला सिंडीमा ठिंग उभिईरहेका थिए, हेर्दै हली जस्ता….. दुब्ला न दुब्ला, जताततै टालेको कोट लगाएका, अनि मेरा सामुन्ने टोपी फुकालेर टाउको निहुराऊँदै उभिएका थिए । अब म निश्चित भएँ कि बिरामी पक्कै धनी छैनन् । तपाईंलाइ मैले यस्तो सोचेको देखेर हाँसो उठ्ला, तर म जस्तो गरीब मान्छेको दिमागमा यस्ता सोचाइ आउनु स्वाभाविक नै हो । यदि ती चम्दानी बोक्ने मान्छे राजकुमार जसरि ठाडो शीर गरेर उभींदा हुन्, टोपी नफुकाल्दा हुन्, दाह्री पछाडी  उनीहरुको मुस्कुराऊँदो अनुहार देखिँदो हो त कम्तिमा पनि छ रुपैयाँ सम्म त पक्कै पाइन्छ भनेर ढुक्क भईन्थ्यो । तर यहाँ अवस्था बेग्लै थियो । तर अरु केहि बिकल्प नै थिएन, जिम्मेबारी नै मुख्य थियो । मैले केहि अत्याबश्यक औसधि लिएँ र उनीहरुसंग लागें। तपाइँ पत्याउनु हुँदैन म कुन कष्टले त्यहाँसम्म  पुगें । बाटो एकदम खराब, त्यसमाथि कैयौं नदी तर्नु पर्ने, अनि हिलो माटो । जसोतसो म त्यहाँ पुगें । एउटा सानो खरले छाएको घर थियो । भित्रबाट उज्यालो प्रकाश आइरहेको थियो, त्यसको मतलब घरका मानिसहरु मेरै प्रतिक्षामा थिए । सबैभन्दा पहिले त्यहाँ मेरो भेट एकजना बृद्धासंग भयो, उदाश तर निकै शिष्टताले उभिएकी…. ‘उनलाई बचाइदिनुस….’ उनले भनिन, ‘….उ मर्दैछ’ । मैले भनें “प्रार्थना गर्नुस, तर निराश नहुनुस, बिरामी कहाँ हुनुहुन्छ ?’  ‘यताबाट.. ।’ एउटा निकै सफा कोठा, कुनामा टुकी जलिरहेको, अनि खाटमा त्यही करिब २० उमेर की स्त्री  अचेत अवस्थामा पल्टिरहेकी थिईन   । उनको शरीर निकै तातेको थियो, स्वास फेर्न गाह्रो भइरहेको देखिन्थ्यो – ‘निकै ज्वरो आएको रहेछ’ । त्यहाँ अरु दुइ किशोरीहरु पनि थिए, उनका बहिनीहरु, तिनका आँखा आँशुले भरिएका थिए । ‘हिजो’ उनीहरु भन्न थाले, ‘दिदी एकदम ठिक हुनुहुन्थ्यो र खाना पनि राम्ररी नै खानु भएको थियो । बिहान टाउको दुख्यो भन्न थाल्नु भयो र अहिले आएर हेर्नुस यस्तो भैसक्यो’ मैले सम्झाउँदै भने, ‘नआत्तिअ बरु  पार्थना गर’ बैद्यको कर्तब्य, त्यति त भनीदिनै पर्यो । अनि बिरामी नजिक गएँ र नांडी छामें, ज्वरो नापें  ।  अनि ती नानीहरुलाई तोरीको लेप बनाएर ल्याउन भनें । त्यतिनै बेला मेरो नजर उनको मुहारमा पर्न गयो……… ओहो कति सुन्दर मुहार !!!!  हेर्नुस… भगवान कसम मैले त्यत्तिको अनुहार त्यो दिनअघि सम्म देखेकै थिईन ! यति सुन्दर की – – – शब्दमा बर्णन गर्नै नसकिने – – – म आँफै लाजले असजिलो महसुश गरें – – –  ओहो…… उनको त्यो सुन्दरता – –  ! धन्य, त्यहीबेला उनि केहि चलमलाइन, उनी पसिनै पसिना भएकी थिईन, केहि होशमा आएर यता उता हेरिन, मुस्कुराइन र आफ्नो हात अनुहार तीर लगिन । उनका बहिनीहरु उनको छेउमा पुगे, उनीहरुले सोधे, ‘कस्तो छ अहिले?’ ‘ठिकै छ’ उनले जवाफ दिएर अर्कोतीर फर्किईन् । मैले उनीतिर हेरें, ऊनी फेरी निदाई सकेकी थिईन् । ‘अब बिरामीलाई एक्लै छोडिदिनु पर्छ’ मैले भनें । हामी सबैजना बिस्तारै त्यस कोठाबाट निस्कियौं, एउटी नोकर्नी मात्र त्यहाँ बासिन उनको हेरचाह गर्नका निम्ति । अगेना माथि एउटा कित्लीमा पानी उम्लिंदै थियो, यता बोतलमा घरेलु रक्सी चांग लाएर राखिएका थिए – – – तर हाम्रो पेशामा रक्सी स्वीकृत थिएन त्यसैले मलाइ चिया दिईयो र राति त्यहीं बस्न अनुरोध गरे । मैले सहर्ष स्वीकार गरें, हुन पनि त्यति राति म  त्यहाँ नबसे कहाँ जानु? बृद्धा बिलौना गर्न थालिन, ‘के भयो उसलाई यस्तो?’ मैले सम्झाएँ ‘यसरी नआत्तिदिनुस, ऊनी छिट्टै बिसेक हुनेछिन, बरु तपाईं पनि गएर केहिबेर आराम गर्नुस । हेर्नुस, रातको दोस्रो प्रहर भैसक्यो ।’ ‘अनि केहि परेमा मलाइ ब्युझाऊँनु होला ।’ उनले ‘हुन्छ’ भनेर गईन, ति किशोरीहरु पनि गए । मेरो लागि त्यहिँ भान्सा कोठामा सुत्ने व्यवस्था मिलाइएको थियो। म निकै थकित थिएँ । म सुत्ने कोशिस गरिरहेको थिएँ, तर अचम्म… मलाई पटक्कै निद्रा लागेन । मेरो आँखाभरी घरी घरी अघिकै बिरामीको मुहार आइरहेको थियो । आखिरमा म निदाउन नै सकिन, जुरुक्क उठें, अनि सोच्न थालें । एकपटक गएर बिरामीलाइ हेर्न मन लाग्यो । बिरामी भएको कोठा मसंगै जोडिएको थियो । म उठें – –  बिस्तारै ढोका उघारें – – – मेरो धड्कन बढ्न थाल्यो । देखें, उसलाई हेरचाह गर्न बसेकी नोकर्नी मुख खोलेर  घुर्दै निदाइरहेकी थिई  । बिरामी मै तीर टाउको फर्काएर निदाइरहेकी थिईन । दुवै हात फैलाएर । उनलाई देखेर दया जागेर आयो । म उनी नजिक पुगें….. अचानक उनले आँखा खोलिन र मलाइ हेर्दै भनिन, ‘को हो तपाईं?’ म आत्तिंदै भनें, ‘म बैद्य हूँ, तिमीलाई कस्तो छ भनेर जाँच्न आएको ।’ ‘ए तपाईं बैद्य?’ ‘हो हो म बैद्य हूँ, तपाइंको आमाले शहरदेखि तपाइंको उपचार गर्न मलाइ बोलाउनुभएको; तपाईंलाई तोरीको लेप पनि लगाइदिएको छु । अब तपाईं निदाउने कोसिश गर्नुस, एक दुइ दिनमै तपाईं आफ्नो खुट्टामा उभिन सक्नु हुन्छ ।’ ‘हो बैद्य, मलाई मर्न नदिनुस्, मलाइ बचाइदिनुस्’ ‘किन यस्तो कुरा गर्नु भएको? तपाईलाई केहि हूँदैन ।’ उनको नाडी छामें, उनलाई फेरी ज्वरो आएको रहेछ  । उनले मतीर हेरिन, मेरो हात समाइन अनि अर्धचेतनामा बोल्न थालिन, ‘म तपाईलाई भन्छु म किन मर्न चाहान्न भनेर…..म तपाइंलाई मात्र भन्छु…… कसैलाई नभन्नु होला है …. सुन्नुस ।’ म झुकें, उनले थोरै टाउको उठाएर मेरो कान नजिक ओठ ल्याइन, उनको मुलायम केशले मेरो गालामा स्पर्श गर्यो, अनि उनी बिस्तारै सासले बोलिन्….. मैले केहि बुझ्न सकिन ……. तर उनी कानेखुशी गरिरहिन…… यति छिटोछिटो बोलिन् कि त्यो गुरुङ भाषा थियो कि नेपाली त्यो पनि मैले ठम्याउनै सकिन…. उनी रोकिईन्…. टाउको कमाउदै सिरानीमा पल्टीईन, अनि मलाई औंलाले संकेत गर्दै भनिन, ‘याद राख्नुहोला बैद्य, यो कुरा अरु कसैलाई नभन्नु……।’ मैले उनलाई कसैगरि बल्लतल्ल शान्त पारें, केहि पिउन दिएँ, नोकर्नीलाइ ब्युझाएं, अनि निस्कें ।’

बैद्यले खल्तीबाट नस निकालेर बेजोडसंग तान्यो, र एकछिन सायद मिन्टको असरले होला नराम्ररी मुख बिगार्यो ।

‘ त्यसैगरी’ उसले भन्न सुरु गर्यो, ‘भोलिपल्ट, मैले सोचे बिपरित, उनी त झनै ग्रस्त हुदै गईन । मैले धेरै सोचें, अन्तत उनी निको हूँदासम्म म त्यहीं बस्ने निर्णय गरें, सम्भबत: उता शहरमा मेरा बिरामीहरु मलाई पर्खिंदै बसेका होलान । तर यहाँ पहिलो त बिरामी निकै सिकिस्त थिईन, दोस्रो कुरा म उनको बारेमा बढी नै चिन्तित हुन् थालेको थिएँ । साथै, मलाई उनको पुरै परिवार मन पर्न थालेको थियो । उनीहरु गरीब त थिए, त्यस्तो बिकट ठाउँमा थिए तर पनि उनीहरुमा अचम्मको सभ्यता थियो, शिक्षित थिए । उनको पिता पनि शिक्षित एवं लेखक रहेछन । गरिबीकै कारण उनको देहवसान भएको रहेछ । तर मर्नुअघि आफ्नो परिवारलाई उचित शिक्षा दिएर गएका रहेछन, त्यस घरमा निकै पुस्तकहरु पनि  थिए । सायद म उपचारको लागि आइदिएको कारणले हो कि अरु नै केहि कारणले हो ; त्यो घरका सबैजना मलाई आफ्नै परिवारको सदस्य जसरी माया गर्दथे।’

‘शहर जाने बाटो पहिले भन्दा झनै खराब भएको थियो । सम्पर्क माध्यम पनि केहि थिएन, शहरबाट औषधि मगाउन पनि अत्यन्त मुश्किल थियो…… यता बिरामी दिनानुदिन झनै थला पर्दै गएकी थिईन……. फेरी त्यतिनै बेला….. (बैद्य  केहीबेर मौन भयो) ‘म तपाइंलाई कसरि भनौं अब…. ‘ (उसले फेरी नस तान्यो, खोक्यो अनि थोरै चिया पियो) ‘…. तपाइंलाई भूमिका नबाँधि भन्नु पर्दा….. मेरो बिरामी….. कसरी भन्नु खै?…… खासमा भन्नुपर्दा मेरो बिरामी मलाइ प्रेम गर्न थालेकी थिईन…. अथवा, सायद त्यो प्रेम थिएन…….म कसरी भन्न सक्छु?? (बैद्य  भुइँतीर हेरेर रातो भयो) ‘होइन….’ उसले फेरी भन्न थाल्यो, ‘…प्रेम…. साँच्चै भन्नु पर्दा, आँफैले आँफैलाई अनाबश्यक मुल्यांकन गर्नु हुदैन। उनी शिक्षित थिईन, बाठी थिईन, पढेकी थिईन, अनि म आँफुचाहि आफ्नो प्राचीनता नै बिर्सिसक्न लागिसकेको मान्छे, (बैद्य आँफै तीर हेर्दै मुस्कुरायो ) म आँफैले भन्नु पर्दा मबाट कसैले केहि अपेक्षा गर्नु नै बेकार थियो । तर धन्न म मुर्ख चाहिं थिईन, मैले सेतोको लागि कालो लिन चाहिन; दुइचार कुरा मैले पनि जानेको थिएँ; मैले देखिरहेको थिएँ, त्यो केटी, बसन्ती गुरुङ – यो उनको नाम थियो – – बास्तवमा मलाई प्रेम गर्दिनथिईन्, खासमा भन्नुपर्दा, त्यो झुकाव बास्तबमा म प्रतिको उनको सम्मान या त्यस्तै केहि थियो । तर उनले त्यो भावनालाइ गलत ढंगले लिईन- – – – यो उनको मनोभाब थियो – – – – तपाईं स्वयं पनि यसलाई आफ्नै पाराले मुल्यांकन सक्नु हुन्छ । तर….’ (बैद्यले थप्यो, यी अपुरा वाक्य उसले एकै सासमा भनिरहेको थियो, उदाश मुद्रामा ) ‘पानी बिदो होला जस्तो छ; सायद म अब जानुपर्छ अब – – तपाइंले यस्ता कुरा बुझ्नु पनि हुँदैन होला  – – – तर जानु अघि म सबैकुरा तपाइंलाई खुलस्त पर्ने कोशिश गर्छु ।’

उसले चियाको चुस्की लगायो र शान्त भएर भन्न थाल्यो ।

‘ त्यसपछि…… उनी झनै सिकिस्त हुँदै गएकी थिईन्। तपाइँ बैद्य होइन त्यसैले तपाइँले ती थला परेका बिरामीको मनमा कस्ता कुरा खेलिराखेका हुन्छन त्यो बुझ्नसक्नु हुदैन, प्रथमत: जब कसैलाई जब महसुश हुन थाल्छ कि उ अब मर्दैछ, त्यो बेला कसरी कुनै पनि कुरामा कसरी उसले बिश्वाश गर्नसक्छ? उ झन डराउन थालेको हुन्छ, त्यो स्थिती व्याख्या नै गर्न सकिदैन । अझ सोच्नुस कि जब तपाईंले सबै जानेको कुरा बिर्सिसक्नु भयो, तपाईंको बिरामीको तपाई प्रतिको बिश्वाश नै हराइसक्यो, अनि अरु वरिपरी भएका मान्छेले तपाइँ असम्यमित भएको भेउ पाउन थालिसके र सबैजना तपाईं प्रति सशंकित संकेत गर्दै कानेखुशी गरेजस्तो भान हुन्छ ….। ओहो कति घृणास्पद हुन्छ त्यो अवस्था…. । पक्कै पनि कहिँ न कहिँ त औसधि पक्कै हुँदो हो…. उनको  रोग चट्टै पार्थ्यो होला…… केहि गरि त्यो कसैले ल्याइदिए त…. । तर त्यो मात्रै कुरा पनि होइन, हामि आँफै पनि औसधिलाई पर्याप्त समय दिंदैनौ राम्ररी काम गर्नलाई । घरि एउटा औसधि खायो.. यसले भएन भन्यो, अर्को खायो … फेरी स्वास्थ्य सम्बन्धी पुस्तक पढ्यो – – –  यसले पो काम गर्छ कि – – –  अनुमानको भरमा एउटा निकालिन्छ – – – अनि भाग्यको हातमा सबैकुरा छोडिन्छ ।… तर यहाँ कोहि मर्दैछ.. अनि लाग्छ अर्को बैद्य  यहाँ भैदिए बरु  उनको ज्यान बच्दो पो हो कि । त्यसैले मैले विचार-विमर्श गर्नुपर्ने थियो । म त्यो मृत्युको जिम्मेबार हुन चाहदिनथें  । जिन्दगीमा कैयौं पटक  हामी अनाहकै बेबकूफ भइन्छ र अनावस्यक झमेला सहनु पर्दछ । बिरामी मर्छ – – – त्यो हाम्रो गल्ति होइन – – – हामीले हाम्रो नियम अनुसार नै उपचार गरेका हुन्छौं । सबैभन्दा असह्य पीडा त्यति बेला हुन्छ जब बिरामी र उनका परिवारजन हामीप्रति आँखै चिम्लेर बिश्वस्त भैदिन्छन तर सोहि बेला हामीलाइ महसुश भैसकेको हुन्छ कि हामीबाट अब केहि हुन सक्दैन । त्यो पनि त्यस्तै अन्धविश्वास नै थियो जुन बसन्तीको परिवारले मप्रति गरिरहेका थिए; उनीहरुले त यो पनि बिर्सिसकेका थिए कि उनकी छोरी सिकिस्त छ । म आँफैपनि उनीहरुलाइ भरोशा दिलाउने गर्थें तर उनीहरुलाई त्यसो भन्दा कुनैकुनै बेला मेरो आफ्नो मुटुले नै ठाउँ छोड्ने गर्थ्यो । त्यसमाथि अर्को समस्या….. शहर जाने बाटो अत्यन्त खराब भएको थियो र औसधि लिन पठाएको मानिस पनि अझै फर्केको थिएन । म धेरैजसो  बिरामीसंगै कोठामा हुन्थें; उनको सामु म भावुक हुन सक्दिनथें, त्यसैले उनलाई चुटकिलाहरु सुनाउँथें, उनीसंग तास खेल्थें । रातभरी उनकै छेवैमा बसेर उसलाई हेरिरहेको हुन्थें । उसकी बुढी आमा आँखाभरी आँशु लिएर मलाई धन्यबाद दिन्थीन । म मनमनै भन्ने गर्थें, ‘म तपाईंको कृतज्ञताको लायक छैन ।’ म तपाइंलाई सिधै भन्छु  – – अब लुकाउनु पर्ने केहि कारण पनि छैन  – – – म मेरो बिरामीलाइ प्रेम गर्न थालेको थिएँ । बसन्ती गुरुङले मेरो मनभीत्र प्रेम जगाइदिएकि थिईन् । प्राय म बाहेक अरु कसैलाई पनि उनको कोठामा आउन दिदैन्थीन । उनी मसंग कुरा गर्थीन, मेरो बारेमा सोध्थीन, म कहाँ बस्छु? कसरी बाँचेको छु? मेरो परिवारमा को-को छन्? आफन्तहरु कस्ता छन्? मेरो प्रेमिका… ?? सबै प्रश्नको जवाफ दिनु पर्थ्यो मैले  । उनी यस्तो बेलामा नबोले राम्रो हुन्थ्यो, तर उनलाई चुप गराउने हिम्मत थिएन मेरो – म सक्दिनथें पनि अनि चाहदिनथें पनि । अनि कहिलेकाही म आँफैले आँफैलाई प्रतिप्रश्न गर्ने गर्दथें, ‘म किन यस्तो गलत कार्य गर्दैछु?’……उनी मेरो हात समाएर धेरै बेरसम्म मलाई एकोहोरो हेरिरहन्थिन, अनि आँफै लजाएर मुण्टो घुमाऊँथिन अनि सुस्केरा हाल्दै भन्ने गर्थिन, ‘तपाईं कति राम्रो हुनुहुन्छ है……’ उनका हात ज्वरोले गर्दा निकै ताता हुन्थे, आँखा ठुला अनि निस्तेज देखिन्थे ‘….हो के….’ उनी भन्थिन, ‘…..तपाईं कति जाति हुनुहुन्छ, अनि तपाईं हाम्रो छिमेकीजस्तो पनि हुनुहूँदैन…. पटक्कै हुनुहूँदैन…. तपाईंलाइ मैले पहिले किन नभेटेकी हूँला? ‘ ‘बसन्ती, शान्त होउ’ मैले भनें, ‘मलाइ लाग्छ… मेरो बिश्वाश गर…. मलाई थाह छैन कसरी….. तर शान्त होउ……सबैकुरा ठिक हुनेछ …. ।’
‘यहि बेला अर्को कुरा भन्छु’ बैद्य परेली खुम्चाउँदै बोल्यो, ‘त्यो परिवारका सदस्यले छिमेकीहरुसंग प्रगाढ सम्बन्ध राख्दैनथे । उनीहरु भन्दा निरक्षर मान्छे हरुसंग उनीहरुको विचार मिल्दैनथ्यो, उनीहरु भन्दा धनीहरुसंग उनीहरुको स्तर मिल्दैनथ्यो । उनीहरु असाधारण रुपमा शिक्षित थिए; मलाई उनीहरुको यहि बिशेषता मनपरेको थियो । अब त उनी मेरो हातबाट मात्रै औसधि खाने भएकी थिईन् । बल्लतल्ल टाउको उठाऊँथिन्, म उनलाई सहयोग गर्थें, औसधी लिन्थिन अनि मतीर हेर्दथिन…. मलाइ त्यसरी हेरिदिंदा मेरो मुटु नै फुट्छ कि जस्तो भान भएर आउँथ्यो  । यता उनी झन झन सिकिस्त हुँदै गएकी थिईन् । ‘अब उनी मर्छिन ‘ म सोच्ने गर्थें, ‘अब उनी मर्नै पर्छ’ । म निकै गम्भीर हुँदै गएको थिएँ; उनकी आमा र बहिनीहरु मतीर हेर्थे, मेरो आँखामा हेर्थे…. मप्रति को उनीहरुको भरोषा गुम्दै गएको मैले महसुश गरिसकेको थिएँ । ‘कस्तो छ उनलाई अहिले?’   ‘अहिलेसम्म ठिक छ…..’ मेरो दिमाग सुस्त भैसकेको थियो । एक रात म मेरो बिरामी संगै थिएँ । त्यो नोकर्नी पनि त्यहीं थिई, चर्कोसंग घुर्दै निदाएकी थिई; बिचरी पनि दुखि थिई, थकित देखिन्थी। बसन्ती गुरुङलाइ त्यस साँझ झनै च्याप्यो; निकै ज्वरो आइरहेको थियो । मध्यरातसम्म निकै छट्पटाइन् , धन्न निदाइन्। कत्ति पनि हलचल नगरी पल्टीएकि थिईन्। कोठाको कुनामा भगवानको तस्वीर मुनि टुकी बलिरहेको थियो। म त्यहाँ टाउको झुकाएर एकछिन बसें। म अनिदो भएकाले झकाएजस्तो भएको थिएँ। त्यत्तिकैमा पछाडिबाट कसैले छोएको आभाष भयो, मैले फर्केर हेरें, बसन्ती मलाई आशय मिश्रित नजरले घुरिरहेकी थिईन्….. उनका ओठ खुलेका थिए, उनका गाला बलिरहेका थिए। ‘बैद्य, के म मर्छु?’ ‘भगवान त्यति साह्रै निस्ठुरी छैनन्, भरोशा राख’ ‘होइन… बैद्य …मलाइ दिलाशा दिनलाई मात्र म बाँच्छु भनेर नभन्नु….बिन्ति नभन्नु…  यदि तपाइंलाई थाह छ भने….. सुन्नुस ! भगवानको लागि भए पनि मलाई मेरो बास्तबिक स्थिती भनिदिनुस….’ उनको स्वास बढेर आयो ‘….यदि म साँच्चिकै भन्नुभयो भने… म पनि तपाइंलाई सबै कुरा भन्नेछु … सबै कुरा…’ ‘बसन्ती, म तिमीसंग  अनुनय गर्छु’ ‘सुन्नुस मेरो कुरा, म खासमा निदाएकी थिईन . …. म तपाईंलाइ निकै बेर देखि हेरिरहेकी थिएँ। म तपाईंलाइ बिश्वाश गर्छु, तपाईं एकदम राम्रो मान्छे हुनुहुन्छ, एकदम सच्चा हुनुहुन्छ। म तपाईंसंग बिन्ति गर्छु – मलाई साँचो कुरा भनिदिनुस। तपाइंलाई थाह छ यो कुरा थाह पाउनु मेरो लागि कति महत्वपूर्ण छ भनेर । भगवानको लागि भनिदिनुस, के म मर्दैछु?’ ‘बसन्ती म तिमीलाई के भनूँ? प्रार्थना गर’ ‘बैद्य म तपाईसंग प्रार्थना गर्दैछु !’ ‘म तिमीलाई केहि लुकाउन सक्दिन बसन्ती’ मैले भनें ‘ तिमी निकै जोखिममा छौ, तर भगवान दयालु छन् ।’ ‘म मर्दैछु.. म मर्दैछु’ उनको मुहार अचानक उज्यालो भएर आयो, म शशंकित भएँ। ‘नडराउनुस .. नडराउनुस!! मलाई मृत्युदेखि कत्ति पनि डर लागेको छैन।’ उनी कुहिनो खुम्च्याऊँदै बसिन ‘ अब… म ढुक्कसंग भन्न सक्छु र हृदय देखि तपाईंलाई धन्यबाद दिन सक्छु…… तपाईं कति दयालु अनि राम्रो हुनुहुन्छ…. म तपाइंलाई माया गर्न थालेकी छु ।’ म अमुक बनेर एकोहोरो हेरीरहें, आबेशमा आएजस्तो भएँ, मेरो लागि त्यो निकै भयानक दृश्य थियो। ‘तपाइंले सुन्नुभयो मैले के भनें?? म तपाइंलाई धेरै माया गर्छु?’ ‘बसन्ती, म यसको लायक छैन’ ‘होइन होइन….. तपाइंले मेरो कुरा बुझ्नु भएन….’ त्यत्तिकैमा उनले आफ्ना हात फैलाइन र मेरो टाउको समाइन अनि मेरो निधार चुमिन…. म चिच्याउनै लागि सकेको थिएँ.. तर म हारें…. अन्तत म उनको सामु घुंडा टेकें अनि टाउको उनको सिरानीमा गाडेर पल्टिएँ। उनी केहि बोलिनन, मेरो केश उनका औंलाले सहलाऊँदै बसिन्। मैले सुनें, उनी रुँदै थिईन्। मैले उनलाई शान्त बनाउन खोजें, बिश्वस्त बनाउन खोजें ….. तर म आँफैलाइ के भन्ने के भन्ने… केहि थाह थिएन। ‘ फेरी मैले भनें, ‘बसन्ती, म तिम्रो आभारी छु . … मेरो बिश्वास गर…. शान्त भईदेउ, तिमीले त्यो निदाईराखेकी केटीलाइ ब्युझाऊँने भयौ।’    ‘पुग्यो, पुग्यो’ ‘उनि बोल्दै गईन, ‘मलाई कसैको मतलब छैन; जोसुकै ब्युझिऊन्; सबैजना आएपनि मलाई केहि फरक पर्दैन। म मर्दैछु, थाह छ सबैलाई…… अनि अब मलाइ के को डर? तपाईं किन डराउनु हुन्छ? मतीर हेर्नुस… सायद तपाईं मलाई माया गर्नु हूँदैन होला… म गलत हुन सक्छु…. त्यसको लागि मलाइ माफ गर्नु होला।’ ‘बसन्ती, के भनेकी तिमीले…… म तिमीलाई अबश्य माया गर्छु।’ उनले सिधा मेरो आँखामा हेरिन्, अनि हात फैलाऊँदै भनिन्, ‘त्यसो भए मलाई एकपटक आफ्नो अँगालोमा लिईदीनुस।’ मलाइ नै थाह छैन त्यसरात मैले आँफैलाई कसरि सम्हालें; मलाइ यस्तो लाग्दै थियो कि मेरो बिरामीले आँफैलाइ मार्दै थिईन्; हो मलाई थाह थियो कि उ अधुरी थिईन्; अनि यहि उमेरमा उनले मृत्युको कल्पना पनि गरेकी थिईनन् होलिन् —-तर—– उनले मेरो बारेमा त्यस्तो नसोचिदिनु पर्ने थियो। बास्तबमा २० बर्षको कलकलाऊँदो उमेरमा माया भन्ने के चिज हो?? कस्तो हुन्छ?? भन्ने थाह नै नपाइ मर्नुपर्ने निराशाले नराम्ररी पिरोलेको थियो उनलाई। अन्तत उनको त्यो निराशाको शिकार म हुन पुगें – – – अब बुझ्नु भयो कुरा? अनि मलाइ आफ्नो अँगालोमा फुत्किन नै नमिल्ने गरेर बेरीन,  ‘म प्रति दया गरिदेउ बसन्ती, तिमीप्रति मेरो पूर्ण सहानुभूति छ….’ ‘किन?’ उनले सोधिन ‘अब सोच्नका लागि के नै छ र? तपाईंलाइ थाह छ म जसरि पनि मर्छु…’ अनि एकोहोरो बोल्दै गईन ‘यदि म निको भएर सामान्य हुन्छु भन्ने केहि आशा भएको भए मलाइ अबश्य संकोच लाग्थ्यो होला… तर यहाँ त्यस्तो केहि छैन? म किन संकोच मान्नु?’ ‘तर तिमीलाई कसले भन्यो कि तिमी मर्छौ?’ ‘ओहो…. !! तपाईं चुप लाग्नुस्, तपाईं मसंग झूट बोल्नु हूँदैन; आँफैलाई हेर्नुस – – बास्तबमा तपाईंलाइ झूट बोल्नै आऊँदैन…. ‘ ‘तिमी बाँच्नै पर्छ बसन्ती; म तिमीलाई अबश्य बचाऊँछु; हामि सबै मिलेर प्रार्थना गर्नेछौं; अनि छिट्टै हामी सबैजना संगै हुनेछौं, खुशी हुनेछौं।’  ‘होइन पख्नुस, तपाइंले अघिनै भनीसक्नु भएको छ कि म अबश्य मर्छु…तपाइंले मसंग बाचा गर्नुभएको छ…. तपाइंले मलाइ भनीसक्नु भएको छ…..’

‘त्यो मेरा लागि निकै निर्मम क्षण थियो, धेरै कारणले… हेर्नुस न जिन्दगीमा कहिले काहिँ अनाबश्यक कुराहरुले कति असर गर्छन; बाहीर हेर्दा केहि जस्तो देखिंदैन, भीत्र असह्य पीडा हुन्छ । यत्तिकैमा उनले मेरो नाम सोधिन, थर पर्दैन, पहिलो नाम मात्रै। मलाइ सबैजनाले बैद्य नै भनेर बोलाऊँदथे तर अहिले उनलाई अहिले नाम नै भन्नु पर्ने भयो, ‘सोमनाथ पण्डित’ ……खोइ कुन्नि किन ?? …उनि रिसाईन्, टाउको घुमाइन् अनि नबुझ्ने गरी गुरुङ भाषामा केहि बोलीन्, पक्कै केहि अप्रिय नै बोलीन् होलीन् … पक्कै पनि – – – अनि त्यसपछि उ असहमति मिश्रित हाँसो  हाँसिन्  – – ।

‘खैर, मैले बल्लतल्ल गरेर त्यो रात काटें। सखारै म बाहीर गएँ, मै पागल भैसकें कि जस्तो अनुभब मलाइ हूँदै थियो। जब म बिहानको चिया पिएर उनको कोठामा फर्किएँ; उनि त झन् चिन्नै नसकिने भएकी थिईन, चिता माथिको लाश बरु उ भन्दा केहि राम्रो देखिँदो हो। त्यो अनुभब मैले कसरि बाँचे हूँला, मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन। ३ दिन ३ रात कटे,  मेरो बिरामीको हालत अझै उस्तै थियो । रात पनि कहाली लाग्दा; उनका कुरा झन् त्यस्तै!! अनि एक रात सँधैझैं  उनको छेवैमा बसेको थिएँ अनि प्रार्थना गरें ‘ भगवान उनलाई लैजाउ…’  मनमनै ‘…छिटो… अनि मलाई पनि संगै।’ त्यतीकैमा अचानक उनकी बृद्धा आमा कोठामा आइन। मैले साँझपख नै उनलाई भनिसकेको थिएँ – – केहि आश त छ – – – तर अब लामालाइ बोलाऊँदा पनि ठिकै होला कि भनेर । छोरीले आमालाइ देखेपछी सोधिन, ‘आमाले यो बारेमा के भन्नु हुन्छ बैद्य ?’   ‘कस्तो के भन्नु हुन्छ?’ मेरो अनुहाबाट रंग उड्यो अनि मैले आमालाई भने ‘उनी ज्वरोले गर्दा बेसुरमा बरबराइ रहेकी छीन’ उनले मलाई बिचमै रोकेर भनिन, ‘उस उस, अघि भर्खर सम्म तपाइंले मलाइ अरु नै केहि भन्दै हुनुहुन्थ्यो। किन नाटक गर्दै हुनुहुन्छ तपाईं? मेरी आमा एकदम जाति हुनुहुन्छ – – उहाँले केहि भन्नु हूँदैन – – – किनभने उहाँले सबै कुरा बुझ्नुहुन्छ – –  त्यसमाथि म जसरि पनि मर्दै छु…. मलाई अब कसैसंग झूट बोल्नु छैन, तपाईंको हात दिनुस मलाइ।’ म बलजफ्ती हात फुत्काएर कोठा बाहिर गएँ। ती बृद्धा आमा… निश्चितै अनुमान लगाइन होलिन के चल्दै थियो भनेर।’

अब म तपाईंलाइ धेरै बेर थकाऊँदिन। अनि म आँफैलाई पनि यो कुरा सम्झेर आऊँदा निकै गाह्रो महसुश हुन्छ। ……त्यसको भोलिपल्ट उनको निधन भयो। उनको आत्मालाइ शान्ति मिलोस।”  बैद्य  छिटछिटो बिलाप गर्दै थप्यो ‘ उनको निधन हुनु भन्दा केहि अघि उनले उनको परिवारका सदस्य सबैजनालाइ बाहिर गईदिएर मलाइ र उनलाई मात्र कोठामा छोडिदिन आग्रह गरिन।’

‘मलाइ माफ गरिदिनु होला’ उनले भनिन ‘मैले सायद हजुरलाई अप्ठेरोमा पारिदिएँ … मेरो रोगले…..तर मेरो बिश्वास गर्नुस, मैले यो जिन्दगीमा केवल तपाईंलाइ मात्र प्रेम गरेकी छु …. त्यसैले मलाइ नबिर्सिदिनु होला… यो मेरो औंठी चिनो राखीदिनुस।’

बैद्य भाबुक हूँदै अर्कोतीर फर्कियो, मैले उसको हात समाएँ ।

‘ ह्या….’ उसले भन्यो, ‘…..बरु अरु नै केहि कुरा गरौँ अब….. कि सानो दाउमा एकछिन तास पो खेल्ने कि? हुन त जुवा भन्ने चीज म जस्तो भाबुक मान्छेको लागि होइन। म जस्तो गरिब मान्छेले सोच्ने यति हो कि  जसरी हुन्छ मेरा बालबच्चालाइ राम्रो संग पाल्न सकियोस, अनि श्रीमतीको गालि खानु नपरोस। त्यसपछि…. थाह छ? सबैले मलाइ भन्ने गर्थे … मेरो अब बिहे गर्ने उमेर भैसक्यो भनेर – – – मैले पनि एउटी ब्यापारीकि छोरी बिहे गरें – – – सात हजार दाइजो लिएर। उनको नाम रुक्मिणी हो; यो सोमनाथ ठिकैसंग चल्दैछ। उसको अलि झनक्क रिसाऊने बानी छ, अनि दिनभरि सुत्ने बानी छ उनको, त्यसलाई अब राम्रो भन्ने कि नराम्रो?’

हामी पानी बिदो भइन्जेल सुका दाउमा तास खेल्दै बस्यौं ।  त्यसदिन सोमनाथले मेरो पाँच मोहोर जित्यो, अनि खुशी हूँदै आफ्नो घरतीर लाग्यो

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s