नेपाली चलचित्र #मौन मेरो समिक्षा – #NRB

आज निकै लामो अन्तरालपछी हलमै गएर नेपाली चलचित्र हेर्ने अवसर जुर्यो। चलचित्रको नाम थियो ‘मौन’। केही नेपाली च्यानलहरुमा प्रोमो हेरेको थिएँ, हिजोअस्ती ट्वीटरमा पनि यो चलचित्रको बारेमा निकै तारिफ सुन्न पाइएको थियो, बिमल केआरले टिकट काट्ने र कफी खुवाउने प्रस्ताब गरे, अनी गाईयो चलचित्र हेर्न। हलमा पसियो, कठै मैले हलमा जान छोडेपछी हल मर्मत सम्हार नि गर्न छोडेछन झैं लाग्यो। नेपाली चलचित्र चल्ने हल हरुका हालत, सिट, साउन्ड सिस्टम देख्दा त फेरी अर्को चलचित्र हेर्न आउन्न झैं लाग्यो। भित्र जम्मा ९ जना दर्शक रहेछन हामी दुईलाई समेत गन्दा। चलचित्र शुरु भयो, बिस्तारै दर्शक संख्या थपिँदै गयो, धन्न माउथ पब्लिसिटीले गर्दा त्यती आएका होलान। किनकी चलचित्रको प्रचार शुन्यप्राय थियो। हाम्रा पछाडि दुई इलिगल जोडी बसे, जसलाई चलचित्र हेर्न भन्दा अरु नै केही कुरामा चाख थियो। घरी चलचित्रका पात्रका खिल्ली उडाउंथे घरी ब्यक्तिगत गफ गर्थे, अती भएपछी मुख फोरेरै चुप गराउनु पर्‍यो। अनी बल्ल चलचित्र हेरे झैं हुनथाल्यो।

 Image

शायद एक दशक भयो होला मैले नेपाली चलचित्र हेर्न छोडेको, एकताका त नेपाली चलचित्रको स्तर यतिसम्म खस्किएको थियो कि साथीभाइ समक्ष नेपाली चलचित्र हेरेर आएको हूँ भन्न पनि लाज हुने अवस्था थियो। पछील्लो समयमा आएर केही नाम कहलाएका चलचित्र हेरियो तर ति सबै पाइरेटेड थिए त्यसैले ति चलचित्र को बारेमा समिक्षा गर्ने मेरो कुनै अधिकार छैन। तर आज हलमै गएर नेपाली चलचित्र हेरियो, अनी लाग्यो नेपाली चलचित्र उधोगले प्रगती गर्दैछ।

अर्पण थापा र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहेको यस चलचित्र सुरज भुसाल ले निर्देशन गरेका हुन। बोल्न/सुन्न नसक्ने दुई पात्र बिचको प्रेम सम्बन्धलाई यस चलचित्रमा देखाइेको छ। पहिलो प्रयास भए पनि नव निर्देशकले सबै कलाकारहरुलाई उत्कृष्ट अभिनय गराउन सफल रहेका छन। अर्पण र नम्रता बोल्न/सुन्न नसक्ने पात्र को स्वभाविक अभिनय गरेका छन। उनिहरुले पात्रमा भिज्न प्रसस्त पुर्वतयारी गरेको स्पस्ट देखिन्छ। युट्युबमा अर्पणको ‘सिक सिटी’ हेरेको थिएँ, उनको अभिनय खुब मन परेको थियो, ‘मौन’ मा पनि उनले निराश बनाएका छैनन। नम्रताको पनि यस अघी ‘सानो संसार’ हेरेको थिएँ, नम्रताको अभिनय लगायत त्यस चलचित्रको कुनै पनि पक्ष मलाई मन परेको थिएन, तर ‘मौन’ सम्म आइपुग्दा उनको अभिनय क्षमता निकै निखारीइसकेको रहेछ। पहिलो दृश्यमै उनी दर्शकको मन जित्न सफल हुन्छिन। चलचित्रको अर्को प्लस पोइन्ट नम्रताको सुन्दरता पनि हो, उनको आत्मबिश्वास सँगसँगै उनको सुन्दरता पनि बढेको देखिन्छ। Beauty With Talent, Patience & Confidence. सांकेतिक दृश्यहरुमा सबटाइटल छन, सबटाइटल नहेरे पनि पात्रहरुको एक्स्प्रेसनबाट प्रस्ट बुझिन्छ। अन्य कलाकार हरुको अभिनय पनि खोट लगाउन नमिल्ने छ। ‘बोका’ पात्रले हसाऊंछ। संगीत पक्ष मध्यम छ, यस्ता फरक धारका चलचित्रमा गीतहरुको खासै आवश्यकता हुँदैन ।  

 

आम मनिस हरुमा ‘मौन’ हिन्दी चलचित्र ‘बर्फी’ को कपी हो भन्ने भ्रम रहेछ। तर त्यो सत्य होइन। प्रमुख पात्रहरु बोल्नसुन्न नसक्ने बाहेक यि दुई चलचित्रमा अरु केही मिल्दो छैन। एउटै सपना दोहोरिरहने दृश्य चाँहीं अर्को हिन्दी चलचित्र ‘जाने तु या जाने ना’ भन्ने चलचित्रबाट प्रभावित भएको पाएँ। चलचित्रको सबैभन्दा खराब पक्ष चाँही लगतारका धुम्रपानका दृश्यहरु हुन, जुन नेपाली चलचित्रमा आवश्यकता भन्दा बढी नै देखाइन थालिएका छन। चाहे त्यो लुट होस् य छड्के या मौन, प्रमुख पात्रले धुम्रपान गरेको दृश्यहरुले बढी नै प्राथमिकता पाएको पाएँ। चलचित्र प्राय युवापुस्तालाई लक्षित गरी बनाइन्छ, उनैले हेर्ने चलचित्रमा ‘हिरो’ पात्रले धुम्रपान गरेको दृश्य बारम्बार देखाइनु भनेको उनिहरुलाई पनि धुम्रपान गर्न प्रोत्साहित गर्नु जस्तै हो। ती मसिना अक्षरमा ‘धुम्रपान हानिकारक हुन्छ’ भनेर लेख्नु भन्दा यस्ता दृश्यलाई सकेसम्म कम देखाइनु नै उचित हुन्छ। सेन्सर बोर्डले पनि यस्ता कुरामा ध्यान पुर्‍याउनु जरुरी छ।

 

समग्रमा भन्नुपर्दा नेपाली चलचित्र मौन केही आधुनिक, केही पृथक ढर्राको, तर परिवार सँग बसेर हेर्न लायक चलचित्र बनेको छ। यो कुनै पट्यार लाग्दो सन्देश दिने खालको चलचित्र पनि होइन। मुखिया, जमिन्दार, अन्याय, अत्याचार, बलात्कार, राजनीति या अपाङ्गता मा केन्द्रित चलचित्र पनि होइन। र् अश्लील सम्बाद बिप गरेर राखिएका पनि छैनन। कथाबस्तु साधारण छ, दुई बोल्न/सुन्न नसक्ने केटा र् केटीको भेट हुन्छ, प्रेम हुन्छ, अन्तमा अनेपेक्षित मोडमा गएर चलचित्र टुंगिन्छ। यस्ताखाले चलचित्र सबैलाई मन पर्छ भन्ने हुँदैन, तर म जस्तो आम दर्शकलाई चलचित्र मन पर्‍यो र लेख्दै छु। खराब चलचित्र लाई बहिस्कार गर्नु पर्छ, र मेहनत गरेर बनाइएका यस्ता चलचित्र लाई माया गरेर प्रोत्साहन पनि दिनुपर्छ। अन्त्यमा, डेढ घण्टा फुर्सद भए, केही नौलो कथाबस्तुमा चलचित्र हेर्ने मन भए ‘मौन’ हेर्नु होला।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s