एउटा सम्बन्धको अन्त्यष्टी

          केहि थान पत्र, एउटा डायरी, केहि तस्विरहरु, एउटा स्वेटर, अनि एउटा ढाकाटोपी झोलामा पोको पारी म पशुपति तर्फ हुइकिएँ। साँझ पर्न आँटेको थियो। म मन्दिर दर्शन गर्न गएको थिइन। पुषको महिना, शनिवारको साँझ अनि पशुपतिको सिधै मुटुमा बेग हान्ने स्याँठ, क्या कम्बिनेसन थियो। तर पशुपतिमा चलेको स्याँठको भन्दा मेरो मनमा चलेको स्याँठको बेग निकै तेज थियो। आर्यघाटको एक कुनामा झोला बिसाएँ अनि पालै पालो सबैकुरा झिकेर बाहिर राखेँ। डायरी एकफेर खोलेर हेरें, पढ्न मन लाग्यो। मन्द प्रकाशमा पनि निलो मसिले लेखिएका ठुलाठुला ढ्याब्रे अक्षर प्रष्ट देखिएको थियो। 

 

           “म सोच्न पनि सक्दिन कि म कसैलाई हृदयदेखि नै यति धेरै माया गर्न सक्छु। अन्क्न्डीसनल लभ भन्ने सुनेको थिएँ, टिभीमा देखेको थिएँ, कितावमा पढेको थिएँ तर आज आफु नै त्यो स्थितिबाट गुज्रिंदा कस्तो अनौठो महसुस गर्दै छु। हो त साच्चै हुने पो रहेछ त। म संधै सोच्थें कि टिभीमा, सिनेमामा देखाउने प्रेमकथाहरु, रोमान्सहरु काल्पनिक हुन् अनि त्यहि कल्पनालाई कलाकारहरुले अभिनय गरेर मात्र देखाउने हुन्। तर वास्तविक जीवनमा पनि त हुँदो रहेछ नि। आहा कस्तो मिठो अनुभव, उ नहुँदा पनि साथमै भएको जस्तो लाग्ने। शरीरको अंग-अंग, रगतको थोपाथोपा उसैको नाउँ गरिदिउँ जस्तो। नखाए पनि अघाए जस्तो, अघाए पनि भोकै जस्तो। अभावमा पनि सम्पूर्णता, सम्पूर्णतामा पनि अभाव। कस्तो अनौठो अनुभव , कस्तो मिठो अनुभूति। आइ एम लभिंग व्हाट आइ एम गोइंग थ्रु।”

          यति पढे पछि खिस्स हाँसे। फेरी अर्को हरफ पढ्न मनलाग्यो। अर्कै पाना पल्टाएँ। “आजकल धेरै नै खुशी हुन थालेको छु, मान्छेहरु किन दुखि हुन्छन् जब की खुशी हुन यति सजिलो छ। मान्छेहरु खुसि हुन जानेका नै छैनन् अनि दुखि छु भन्छन् ‘बेवकुफहरु’। मेरो खुसि मनमा मात्र सिमित छैन बाहिर पनि छल्की रहेको छ। मेरो प्रत्येक गतिबिधिमा त्यो प्रतिबिम्बित भैरहेको छ जुन म आफैले पनि अनुभव गरेको छु। साथिभाइ पनि तँ धेरै नै चेन्ज देखिन्छस् आजकल भन्छन्। बहिनि पनि धेरै नै जिस्काउन थालेकी छ। म मोबाइलमा धेरै नै भुल्ने भएको छु। पहिले जता पायो उतै मिल्काउने मोबाइल अहिले चौबिसै घन्टा साथमै रहन्छ। सुत्ने बेला बत्ति निभाएर सिरक भित्र पसी उस्को तस्विर नहेरी म निदाउनै सक्दिन। हाम्ले मिस्कल कोड बनाएका छौँ। एनसेलबाट मिस्कल आए म सुत्न लागेको ‘गुडनाइट’, एनटिसिबाट आए ‘प्लिज कम अनलाइन’। अनि कहिलेकहिँ र्यान्डम मिस्कल आए म ‘तिम्लाई मिस् गर्दैछु’ या ‘तिम्रो बारेमा सोच्दैछु’। वास्तवमा यो मेरो आइडिया हो। यसो गर्दा कम्युनिकेसन सस्तो, छिटो र छरितो हुँदो रहेछ। र पनि पैसा त धेरै नै खर्च हुँदैछ आजकल। तर बाल हो? यस्तो मौका जीवनमा फेरी फेरी कहाँ आउँछ र? म खुसि छु भित्रैदेखी खुसि छु र यो खुसि संधैको लागि रहीरहोस् भन्ने चाहन्छु। थ्यांक यु गड फर एब्रिथिंग।”

 

          वास्तवमा त्यो बेला जति डायरीको महत्व मैले कहिल्यै बुझेको थिइन। डायरिमा त समयलाई थुनेर राख्न सकिने रहेछ, हरेक पललाई कैद गरेर राख्न सकिने रहेछ। चलचित्रहरुमा टाइम ट्राभल गरेको धेरै देखेको थिएँ तर आज मलाई आफु पनि टाइम ट्राभल गरेको फिल गर्दै थिएँ। म ठ्याक्क त्यहि मोडमा पुगेको थिएँ जतिबेला संसारकै खुसि मान्छे हुँदो हुँ। म त्यहि मोडमा पुगेको थिएँ जहाँ उस्को तस्विर नहेरी म निदाउन सक्थिन, जहाँ म बिना कारण खिस्स खिस्स हाँस्थें। सारा दृश्यहरु एक एक गर्दै दिमागमा आउन थाले, चलचित्रमा फ्ल्याशब्याक देखाए जस्तै, तर फरक यति थियो की ती फ्ल्याशब्याकहरु न ब्ल्याक एण्ड ह्वाइट थिए न स्लो मोसनमा या न पृष्ठभूमिमा गित नै बजेको थियो।

 

          म आफुले आफैलाई संसार कै भाग्यमानी मान्छे सोच्थें। उ संग हुँदा संसार कै शक्तिशाली मान्छे मै हुँ जस्तो लाग्थ्यो। उस्ले एकपटक मात्र भने क्याम्पस नै टप गर्न सक्छु जस्तो लाग्थ्यो। उ संग एकपल बिताउनको निम्ति जस्तो सुकै मूल्य पनि चुकाउन तयार थिएँ। त्यी सबै यादहरु ताजा भएर आए। यति पढिसकेपछि मलाई फेरी अर्को पाना पढ्न मन लाग्यो।

 

          “आज उ सित झगडा भयो। कुरा सानो हो तर पनि झगडा ठुलै भयो। गल्ति उसैको हो। भेट्न भनेर टाइम फिक्स गरेको, आधा बाटोमा पुग्दा ‘आज भेट्न मिल्दैन सरि पछि भेटौला’ भनेर म्यासेज आयो। आजकाल त हप्ता, कहिले दश दिन, कहिले त महिनासम्म पनि भेट हुँदैन। टाढाको सम्बन्ध यस्तै त हो नि दिनहुँ कहाँ भेट हुन मिल्छ र? भनेर मन बुझाऊँछु। तर पनि यहि दिनको लागि भनेर म कति कुरेर बसेको हुन्छु। त्यहि पनि धेरैबेर सम्म बस्न पाइने पनि होइन। उसलाई संधै ढिला हुन्छ अनि उज्ज्यालो मै घर पुग्न पर्छ। आफ्नो बाइक पनि त छैन। भेट्न भनेर २ बजे बोलायो पुग्दा पुग्दै संधै ३ बज्छ अनि ४ बजे देखी नै ‘अब जाउँ, अब जाउँ, फर्किउँ ढिला हुन्छ ……’ सुरु हुन्छ। मलाई पनि सजिलो त कहाँ छ र भेट्नलाई? भेट्ने भनेको दिनमा कलेज परेकै हुन्छ अझ आज त प्राक्टिकल समेत हापेर हिँडेको थिएँ। घरमा थाह भो भन्ने बर्षदिन सम्म यहि कुरा सुन्न पर्छ। नमिल्ने भए पछि पहिल्यै भन्न पर्छ नि, आधा बाटोमा पुगेर फर्किदा कस्तो नमजा भयो। काम पर्न सक्छ भन्ने पहिल्यै थाह भएपछि भोली पनि त भेट्न सकिन्थ्यो। के मेरो समयको कुनै मूल्य छैन? उस्ले भेटौँ भनेको बेला मैले ४ हात टेकेर भए पनि पुगेकै छु। तर जब जब म भेट्न बोलाउँछु उस्को बिभिन्न बाहानाबाजी हुन्छ। म गलत पनि हुन सक्छु तर यो सहित ३ पटक भैसक्यो यस्तै घटना भएको। किन यस्तो हुँदैछ? सुरुसुरुमा त हामी कति खुसि थियौं त। तर आज किन यस्तो मनमुटाव? मेरो गल्ति हो की मैले उसलाई बुझ्न नसकेको हो? खै मेरो गल्ति कहाँ नै छ र? यति धेरै माया जो गर्छु। उस्को तस्विर नहेरी म अझै पनि निदाउन सक्दिन। आज जे भयो भयो भोली यो सबै कुरा भेटेर नै क्लियर गर्छु तर भेट्न पो मान्ने हो की होइन।”

 

          यति पढेर सक्दा सम्म अक्षरहरु नदेखिने भैसकेका थिए। पुषका दिन कति छोटा, कति छिटो रात परेको। मैले समयलाई दोष दिएँ। अर्को पाना पल्टाएँ घोइरीएर पढ्न खोजें तर केहि देखिन। असहीय पिडा भयो। केहि क्षणलाई यस्तो लाग्यो त्यहि डायरी पढेर त्यहिँ रात बिताईदिउँ। एकफेर टाइम ट्राभल गरौँ। अथक प्रयास गर्दा पनि केहि देख्न सकिन। अनि मलाई के भएको? म त त्यी सबै यादहरुको अन्त्यष्टी गर्न आएको थिएँ। फेरी के भयो? किन म फेरी त्यहि पलमा फर्किन चाहन्छु? मनलाई दह्रो पारें। डायारीका पाना पाना उक्काएँ। उस्ले पठाएका पत्रहरु हामी दुइ संगै भएका तस्विरहरु, डायरीका पाना, स्वेटर अनि ढाका टोपीलाई तहतह मिलाएर राखें जसरि चितामा लाशलाई राखिन्छ। म आजसम्म कसैको मलामी त गएको छैन तर पनि मलाई थाह थियो चितामा लाशलाई कसरि मिलाएर राख्छन्। पशुपतिमा धेरै देखेको थिएँ। सानोमा एकफेर मलाई मलामी जाने अवसर मिलेको थियो, छिमेकमा साथिको हजुरबुवा बित्दा तर त्यति बेला म सानै थिएँ र मसानघाटमा तर्साउँछ भनेर आमाले जान दिनुभएको थिएन। मैले त आज सम्म नजिकबाट कुनै लाशलाई हेरेको पनि छैन। तर म आज त्यहाँ एउटा सम्बन्धको अन्त्यष्टी गर्दै थिएँ। मैले त्यो सम्बन्धको चितालाई दागबत्ती लिएर ३ पटक परिक्रमा त गरिन तर झोस्न भन्दा पहिले सलाई का ३ ओटा काँटी खर्च गरें । पहिलो र दोश्रो काँटी हात मै बलेर सकिए। हात पोलेको पनि चाल पाइन। मन दह्रो पार्दै तेश्रो काँटी त्यी पत्रहरुको बीचमा लगेर झोसिदिएँ। आगोलाई कागज पाएपछि के चाहिने? हर्हरी सल्कियो आगो। आगोको धर्मलाई नि मान्नै पर्छ। जे पनि डढाउँछ। डढाउन भन्दा पहिले एकपटक पनि सोचेन की यो कसैको ४ बर्ष देखीको सम्बन्ध हो। आफ्नो त्यो केटाकेटी सोंच प्रति आफैलाई हाँसो पनि उठ्यो। १०० वर्ष पुगेका बुढा बुढी, कस्ता कस्ता महान् हस्तीलाई त बाँकी नराखेको आगोले मेरो ४ बर्षको सम्बन्ध भनेर किन दया गर्थ्यो र?

 

          चिताको सबैभन्दा माथि राखेको ढकाटोपीलाई देखें। कति सुन्दर थियो त्यो ढाकाटोपी, म ढाकाटोपीको बुट्टाहरुको बारेमा त बुझ्दिन तर बनाउनेले निकै मिहेनत गरेर बनाएको हुनपर्छ। त्यो भन्दा पनि महत्वपूर्ण थियो जुन सद्भावले उपहार स्वरुप त्यो टोपी दिइएको थियो। म कति खुसि थिएँ त्यो उपहार पाउँदा। त्यो भन्दा पहिले मलाई कसैले ढाकाटोपी उपहार दिएको थिएन र सायद थोरैले मात्र नलगाउनेलाई ढाकाटोपी उपहार दिन्छन्। दिदिबहिनिले तिहारमा समेत टिका लगाईदिएर मलाई ढाकाटोपी लगाईदिएका थिएनन्। एजुकेशनल टुरमा पाल्पा जाँदा त्यहिबाट ल्याईदिएको टोपी। “मलाई के ल्याईदिन्छौ त त्यहाँबाट?” मैले फोनबाट सोधेको थिएँ। “म तिम्लाई त्यस्तो उपहार ल्याऊँछु जुन तिम्लाई आजसम्म कसैले दिएको छैन” उताबाट जवाफ आएको थियो। उपहार ल्याईदिए पछि लगाउ त बिचार गरम भन्दा ‘भो यहाँ सबैको अगाडी गर्दिन घरमा गएर गर्छु, फोटो खिचेर पठाईदिम्ला नि’ भनेको थिएँ। तर बिचार गर्दा टोपी सानो भएको थियो। त्यो टोपी जुन मैले एकपटक पनि लगाएको थिइन, जुन यति सुन्दर थियो तर पनि बिना कसुर जल्दै थियो। टोपीको माया लागेर आयो। टोपीलाइ झिक्ने कोसिस गरें तर धेरै ढिला भैसकेको थियो। आगो दन्दनी दन्किसकेको थियो। हात हाल्न खोजेको झिक्न सकिन उल्टो हात पोल्यो। आगोको राप र उत्तरबाट आएको हुरीले होला डायरीका केहि पाना उछिट्टीन पुगे। केहि पर पुर्यायो, यस्तो लाग्यो त्यी पानाहरु डढ्न चाँहदैनन्। कृष्ण धरावासीको ‘झोला’ कथा सम्झिएँ। कथामा सतिहरु चिताबाट हाम्फाले जस्तै त्यी पानाहरु पनि हाम्फाल्दै थिए। वास्तवमा भन्दा त्यी पानाहरु सति नै त गएका हुन्। बिचरा तिनीहरुको के दोष? म सम्बन्धको अन्त्यष्टि गर्न आएको थिएँ तर त्यी पानाहरुको के दोष ? रातो स्वेटरले न्यानो दिएकै थियो, लगाउँदा शरीरमा मिलेकै थियो, सबैले कति सुहाएको, कहाँ किनेको? कतिमा किनेको? भनेर सोध्थे म मक्ख पर्दै कसैले उपहार ल्याईदिएको हो भन्थें। तर आज के भयो? त्यो ढाकाटोपीको के दोष? मेरो दराजलाई सजाएकै थियो। त्यी पानाहरु बारम्बार पढिन चाहन्छन्। कति खुसि हुँदा हुन् त्यी पानाहरु जब म हरेक दिन तिनीहरुमा आफ्नो भावना पोख्थें। त्यी पानाहरु नै मेरा त्यस्ता साथि थिए जस्लाई म हरेक कुरा सुनाउन सक्थें। अनि पानाहरु मैले जे जे भन्थें ध्यान दिएर सुन्थे। पानाहरुले मलाई कहिल्यै प्रश्न गरेनन्। उछिट्टिएका केहि पानाहरु आगोको प्रकाशमा पढ्ने कोसिस गरें।

 

          “आज भक्तपुर भेट्न बोलाएँ। उसलाई मलाई भेट्ने इच्छा त थिएन, ५ बजे सम्मै क्लास थियो रे, तर पनि मैले जबर्जस्ति गरेर बोलाएँ। क्लास नै छोडेर आउन बाध्य पारें। र यो जरुरि पनि थियो। कति दिन म पेन्डुलम जस्तो झुण्डीरहने? यताको न उताकोभएर। न म उसलाई बिर्सिन सक्छु न त म उसंगै छु। म कहाँ नेर छु मलाई नै थाह छैन। म पलपल उसलाई भेट्नको निम्ति तड्पीरहेको हुन्छु। तर उसलाई वास्ता नै हुँदैन। यो सहित दोस्रो पटक भैसक्यो मेजर फाइट परेको। पहिलाको उ र अहिलेको उ मा धेरै फरक छ। हामी बिच जुन सम्बन्ध रहन पुग्यो त्यसलाई उ भुलबस भयो भन्ने लाग्यो होला उसलाई, म सौभाग्यबस भयो भन्छु। र म त्यसलाई गल्ती मान्दिन। किनकी त्यो हामी दुवैको सहमतिमा भएको कुरा हो। त्यो कुनै ठुलो कुरै थिएन। मन मिलेर माया बस्छ, माया गर्नेहरुको बीचमा सम्बन्ध स्थापित त भैहाल्छ नि। हरेक मान्छेको अँध्यारा कोठाहरुमा आफ्ना आफ्नै गोप्य सम्बन्ध हुँदैन र ? यस्तो गर्ने हामी संसारकै पहिलो जोडी त थिएनौँ। अनि समाजको पछि लागेर हुने पनि के नै हो र। प्रेम गर्नु कुनै पाप होइन, अनि प्रेम को खेति गरेपछि फल त लागिहाल्छ नि। यस्मा यसरी डराउन पर्ने के नै कुरा छ र? अनि उसलाई त्यस्तो डर नै लागेको भए हामी सरसल्लाहमै त्यस्तो सम्बन्ध पुन नदोहोर्याउने सहमति गर्न सक्थ्यौं। मेरो उसँग माया गर्नुको उद्धेश्य त्यती सम्बन्ध राख्नु मात्र थिएन तर कहिले काहीं समय परिस्थिती त्यस्तै भैदिनाले शहनशिलताले सीमा नाघ्छ, आँफैले आँफैलाई सम्हाल्न नसकिँदो रहेछ। कसरि हुन पुग्यो कसरि। हो त्यसदिन मैले आफुले आफैलाई सम्हाल्न नसकेको नै हो। तर अर्को के कुरा पनि साँचो हो भन्दा मैले सहमति बिना पनि गरेको थिइन। अनि म हरदम उसैको पक्षमा छु त उसलाई को सित डराउन पर्यो ? यो भन्दै हिंड्ने कुरा पनि होइन। गुपचुप राख्न सकीहालिन्छ नि कुराहरु। २१औं शताब्दीको मा आएर पनि यती संकिर्ण सोच किन भएको होला? तर मैले उसलाई जज गर्न मिल्दैन, त्यो मलाई थाह छ। म पुरुष भएकै नाताले यो समाजमा कुनै न कुनै रुपमा उसलाई भन्दा मलाई धेरै नै छुट छ। तर उ फोन गर्यो कहिले नउठाउने, कहिले बिजी, कहिले स्वीचअफ, म्यासेज गर्यो नो रिप्लाई, न अनलाइन आउने हो। की त म यस्तो यस्तो कारणले बिजी छु भन्न पर्छ एक्कासी बिना कारण यस्तो त गर्न हुँदैन नि। मलाई कस्तो हुन्छ एकपटक त सोच्न पर्छ नि म चाहन्थें की यो कुरा आर या पार होस्। मलाई यसरि इग्नोर गर्नु पछाडीको कारण सोधें।”

 

            यो भन्दा पर पढ्न सकिन किनकी त्यो भाग आगोले डढाई सकेको थियो। उस्को जवाफ मलाई थाह थियो। तर पनि म त्यहीं लेखिएको कुरा पढ्न चाहन्थें। जुन खरानी भइसकेको थियो। त्यी बाहेकका पानाहरु पढ्न मन लागेन। सबै पानाहरुलाई समेटेर फेरी त्यहि आगोमा हालिदिएँ। अब मेरो हातमा केहि बाँकी थिएन। बल्दै गरेको आगोलाई हेरीरहें। चलचित्रमा जस्तो उस्को चित्र आगोमा त आएन तर पनि त्यो आगोबाट मैले नजर हटाउन सकिन। मलाई बल्ल पिडा हुन थालेको थियो। एकटकले आगोलाई हेरिरहेको थिएँ। या भनौं मेरो ४ बर्षे सम्बन्धको चितालाई त्यो ठण्डीमा तापीरहेको थिएँ। अघिसम्म मलाई आवेश थियो, म जति सक्दो चाँडो त्यी याद दिलाउने तत्वहरुबाट पन्छिन चाहन्थें जसरि मान्छे मरेपछि जति सक्दो चाँडो आर्यघाट पुर्याएर जलाउन हतार हुन्छ। हतारमा कति पटक जिम्दा मान्छेलाई समेत चितामा जलाएका छन्। मान्छे कति स्वार्थी हगी, कुनै पनि चिजको जहिले सम्म भोगचलन गर्न पाउँछ गर्छ अनि जुनदिन देखि त्यसले काम दिन छोड्छ त्यसलाई त्यागी हाल्छ। बर्षौं लगाएको जुत्ता जुन दिन फाट्छ त्यहि दिन त्यो मिल्किन्छ। फाल्नभन्दा पहिले एकफेर पनि सोच्दैन की त्यो जुत्ता लगाएर उ कहाँ कहाँ सम्म पुगेको थियो। त्यहि जुत्तामा टेकेर उ कस्ता कस्ता मान्छेको अगाडी उभिएको थियो। कस्ता-कस्ता ठाउँमा टेकेको थियो। किन मान्छेमा भावना नभएको होला? अनि म पनि त कुनै अपवाद रहिन नि। जुनदिन देखि हाम्रो सम्बन्ध औपचारिक रुपमा टुट्यो तेही दिननै मैले त्यो सम्बन्धको अन्त्यष्टी गरिदिएँ। के हतार थियो र? भोलिसम्म कुरेको भए पनि हुने। यति राति यो जाडोमा यस्तो गर्न मलाई के जरुरि थियो र? मनमा कुराहरु खेल्न थाले, आंधीबेहेरी चल्न थाल्यो। आँखाबाट आँसु झर्न थालेको थियो तर म भक्कानिएको चै थिइन। मनमा रिस, द्वेष, आवेग, घृणा, माया, पश्चातापले एकैचोटि परेड खेल्दै थिए। दिमाग प्रकाशको गति भन्दा कयौँ गुणा तेज चलिरहेको थियो। साँचै नै त्यो पल शब्दमा बर्णन गर्न नसकिने खाले थियो। आकाशले थिचेको जस्तो, मुटुमा हजार काँटी ठोकेको जस्तो पिडा भैरहेको थियो। मलाई एक्कासी चक्कर आउला जस्तो भयो, वाक्वाकी लाग्यो, त्यहाँ बसीरहन सकिन। चिता पनि त जलेर खरानी भैसकेको थियो। साँझ छिप्पिसकेको थियो। मैले खरानीलाई बाग्मतीमा बगाउन सकिन। त्यहाँबाट उठेर हिँडे।

 

          मनमा के कुरा खेल्यो खेल्यो, मैले कपाल खौरिने विचार गरें। मैले यो कर्मकाण्ड सकेसम्म पुरा गर्ने अठोट गरें। किरियापुत्री र मलामीको कपाल फालिदिने प्रसस्तै हुन्छन् पशुपतिमा। साँझमा पनि लास ल्याउने गर्छन् त्यसैले नदि किनारमा कपाल खौरीदिने भेट्न मुस्किल हुँदैन। एकजना सित कपाल खौराएँ। मलाई त्यी कपाल खौरिदिनेहरुको पेसा देखेर कस्तो कस्तो लाग्यो। कति त यस्ता किरियापुत्री र मलामी हुँदा हुन् जो कपाल खौरिदा रोइरहेका हुन्छन् त्यस्तो अवस्थामा उनीहरु के गर्छन् होला ? नरुनुस भनेर सम्झाउँछन् कि सम्झाउँदैनन् होला? के तिनीहरु प्रति उनीहरुलाई दया-माया पलाउँछ होला? कि भावहिन खुरु खुरु आफ्नो काम गर्छन् अनि गोजीमा कति दाम पर्छ भनेर पैसालाई मात्र देख्छन् होला? अनि त्यहि प्रसंगमा मैले फाँसी दिने जल्लादलाई सम्झें। कसैलाई फाँसी दिने बेला उस्को मनस्थिति कस्तो हुन्छ होला? कसैलाई फाँसी दिएकोमा उसलाई खुसि, दुख, पश्चाताप, पिडा के हुन्छ होला? दिमाग वशमा थिएन। मनमा अजीव अजीव कुराहरु खेल्दै थिए। फेरी ध्यान कपाल खौरीदिने तर्फ मोडियो। कस्तो नरमाइलो पेशा। नाई कहाँ कपाल काट्न जाँदा केहि नाईहरु कति रमाईला हुन्छन् त्यिनिहरुको गफ सुन्न कै लागि भए पनि हामी बारम्बार एउटै नाई कहाँ जाने गर्छौं तर यी कपाल खौरिदिनेहरु त कति चिसा। त्यै पनि त्यी कपाल खौरिदिनेले मलाई सोधे “भाइ कस्को मलामी आउनुभएको? लास त ल्याएको देखिन नि, अनि एक्लै पनि हुनुहुन्छ।” मैले केहि बोलिन या भनौं म बोल्न सकिन। साँचो कुरा भन्ने हो भने उस्ले मलाई पागल सोच्नेछ। त्यसैले म चुप लागेर बसें। कपाल खौरिदिनेले मेरो मौनता बुझेको पनि हुनसक्छ या धेरै चुपचाप नै खौराउँदा हुन्। कपाल खौरिन पोख्त भएकालाई कति नै बेर लाग्ने , उस्ले एकैछिन् मा अलिकति टुप्पीमात्र राखेर मेरो शिर मुण्डन गरिदियो। उस्ले भनेजति दाम दिएर त्यहाँबाट म घर तर्फ हिँडे। 

 

          मनमा भावानाहरुले परेड खेल्दै थिए। घरी लाग्थ्यो मैले जे गरें ठिकै गरें। भविष्य नै नभएको सम्बन्धलाई लिएर म कति दिन अल्झीरहने? संगैका साथीहरु आँफु भन्दा धेरै माथि पुगिसके। एक प्रकारले भन्दा यो सम्बन्ध मेरो भविष्यको बाधक बनेको थियो। जति प्रयास गर्दा पनि म अगाडी बढ्न सकेको थिइन। जे गरें ठिकै गरें। सम्बन्धको किरिया नै गरिसकेपछि त्यो सम्बन्धबाट सदा सदाको निम्ति मुक्ति पाउनेछु। जब सम्बन्ध नै बाँकी रहेन, सम्बन्धको याद दिलाउने तत्वहरुलाई पनि नष्ट गर्नुपर्छ। हो जे गरें ठिकै गरें। यस्तै यस्तै कुरा खेलाऊँदै म एउटा सम्बन्धको अन्त्यस्टी गरें अनि फर्किएँ।

 Image

पुनश्च्य:- लेखक हामी धेरैले चिनेका प्रख्यात ट्वीटे हुनुहुन्छ तर वहाँको बिशेष आग्रहले गर्दा लेखकको नाम खुलाउन असमर्थ भएको ब्यहोरा अबगत गराउन चाहन्छु। 🙂

 

Advertisements

6 thoughts on “एउटा सम्बन्धको अन्त्यष्टी

  1. लेखकप्रति मेरो सहानुभूति छ, ठ्याक्कै ‘सह-अनुभूति’ किनकि पाना जलेर खरानी भए पनि, मन को आगो अरु केहि दिन, केहि महिना वा केहि साल दन्किरहला- तर भविस्यहिन सम्बन्धको अन्त्यस्टि पक्कै शुरुवात हो। र शुभकामना !

    Like

    1. डाक्टर साब हजुरको कमेन्ट चित्त बुझ्यो, लेखक ले पढेर मनन गरिदिए हुन्थ्यो।

      Like

  2. सम्बन्धहरू अन्त्येष्टी गरिनाका लागी हुँदैनन्। र कतिपय सम्बन्धहरू सकिए पछी अन्त्येस्टी गरिन्छन। मैले भगेको छु। साला याद कुन्नी कुन जिनिसले बनेको हुन्छ कुन्नी; अन्त्येष्टी पछी पनि झन गाढा भएर पोल्दै आउंछ

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s