पोखरा एक्सप्रेस

“पोखरा बजार टुरिस्ट हजार” त जम्मैले सुनेकै होलान्। हामी त्यहिँ हुर्केम् बढेम्, नानाथरि उपद्रो र उट्पट्याङ गरेम्, व्यक्तित्व त त्यस्तै हो तर ‘साइज’ले चैं ठुला भएम्, अब बिस्तारै बुढाहरुमा पनि गनिन्छौँ होला। ‘होला’ के भन्नु, लक्षण आजकलै देखा परिसकेकोछ, कसैले साइड हान्दैनन्, आफुले हानेका साइडको रेस्पोन्स पाइन्नन्। कताकता मन खिन्न हुन्छ। जे होस् टुरिस्ट बढेका बढ्यै छन् पोखरामा। ‘ट्रेकिङ’, ‘साइट सिईङ’, ‘बोटिङ’ले त प्रख्यात नै थियो पोखरा, ‘एभिया क्लब’का स्याना जहाज अनि ठुल्ठुला रंगीचंगी बेलुनमा मान्छेहरु उड्न आऊँथे, अहिले झन् ‘प्याराग्लाईडिङ’ र ‘जिप फ्लायर’ले गर्दा आन्तरिक र बिदेशी पर्यटक ह्वात्तै बढेका छन्। अझै केबुल कार र अरु धेरैकुरा खुल्दैछन् भन्ने सुन्नमा आइरहेको छ।

हामी स्याना हूँदा यतिका धेरै पर्यटक हूँदैनथे, जे होस् फाट्टफुट्ट चाहिँ देखिन्थे। टुरिस्टलाइ हामी कुइरे भन्थेम्, बसमा देखिए भने ‘टाटा’, साक्षात देखिए भने ‘नमस्ते’ गर्नु भनेर हामीलाई सिकाइएको थियो। अझ दुईतले बसमा कुइरे आएको देखेम् भने टाटा गर्दै च्याँठ्ठिदै उफ्रिन्थेम्। अचेल त्यो दुइतले बस कता गयो होला कुन्नि? धेरै भो नदेखेको। कहिलेकाहिँ कुइरेहरु ट्रेकिंग जानको लागि लाइन लाएर हिंड्दै आऊँथे, सबैभन्दा अगाडी ठुल्ठुला डोका बोकेका भरिया, तीनको पछिपछि एउटा गाइड र टुरिस्टहरु हुन्थे। हामी छुचा केटाकेटी, कुइरे देख्ने बित्तिकै ‘नमस्ते, हेल्लो, टु रुपिज’ भनी हाल्थेम्। तर कसैले ‘टु रुपिज’ झारेको चाहिँ मलाइ याद छैन। नदिए पछि हामी तीनलाई ‘भुक्का टुरिस्ट’ भन्थेम्। ती नेपाली गाइडहरुले हामी फुच्चेहरुलाइ टुरिस्टको आसपास देखि सहन्नथे।

एकपटक चैं एउटा चाइनिज हो कि जापानिजले माग्दै नमागी पेन्सिल दे’को थियो। तर किन किन जापानिज, चाइनिजहरु त टुरिस्ट नै हैनन् जस्तो लाग्थ्यो। तर जम्मै कुरा राम्रा मात्रै पनि छैनन् पोखरामा, बिकृति फैलिँदो छ, सबै भन्दा ठुलो समस्या चाहिँ यहाँ धेरै जसो पर्यटक ठगिने, लुटिने गर्छन। एक्ला दुक्लै सराङकोट जान गाह्रो छ। टुरिस्ट भनेपछी कुबेरै आए भन्ने सोचेर बोरामा हाल्न खोज्ने प्रवृति छ। यी कारणहरुले पोखराको छवि बिग्रेको छ। जान अन्जानमा मैले पनि एकदिन एउटा गल्ती गरें, अहिले सम्झिंदा हाँसो लागेर आऊँछ।

बेलौति फल्ने सिजन भनेसी भदौ असोजको बेला हुनुपर्छ, शुक्रबार हाफ छुट्टी भएर घर आएपछि झोला मिल्काएर डाँडातिर घुम्न निस्कें। घुम्तीमा एउटा जिप रोकिराखेको थियो। नजिक पुगेर हेरें, भित्र बाहिर कोही थिएनन्। हामी केटाकेटीलाई मोटर देखेसी अरु के चाहिन्थ्यो र? जीपको फन्को लगाएँ, औंलाले जिपका झ्याल मा चित्र बनाएँ। त्यो बेला ट्रयाक्टर देखे ट्रयाक्टर, ट्रक देखे ट्रक, बस देखे बसको पछाडी झुन्डिन रहर लाग्थ्यो। हामी भुराहरुलाई छतमा कहिल्यै चढ्न दिन्थेनन्। चप्पल काटेर पांग्रा बनाएर मोटर चलाई खेल्ने मेरा सामुन्ने साक्षात् जिप खडा थियो। आज झुण्डिए पनि, छतमा चढे पनि, केहि भन्नेवाला कोहि थिएनन्। एक्लै शान देखाऊँदै चित्त बुझिन्जेल झुन्डिएँ अनि रहर पुगेपछि छतमा उक्लिएँ। हुन त ‘स्पेसल’ केहि थिएन तर बडा रमाइलो लाग्यो। छतमा एउटा ठुलो ब्याग रहेछ। कसैले देखेभने चोर्न चढेको भन्ठान्लान् कि भनेर डराऊँदै ओर्लें अनि घरतिर दौडें। तर जाँदाजादै मन के भयो के? त्यो झोलामा के होला भन्ने जिज्ञासा उठ्न थाल्यो। के सोचें कुन्नि? फरक्क फर्कें। अझैपनि जिप वरिपरी कोहि थिएनन्। बिरालोको चालमा छतमा उक्लें। ‘ब्याग’ त ‘लक’ रहेछ। साइडका स्याना ‘पकेट’ भएपनि छाम्न मन लाग्यो। स्याना हात लुत्त छिरे। त्यत्तिकैमा कोहि बोलेको सुनें। यताउता हेरेको, केहिपर गाइडले टुरिस्टलाइ डाँडा देखाऊँदै रहेछ। मेरो सातो गयो। फुत्त हात निकालेँ। दुइटा पोका केका थिए कुन्नि, हातसँगै निस्किए। के गरौँ के गरौँ भयो, सकेको बलले बाटो छेउको बान्नो काट्ने गरि फालें अनि छिट्छिटो ओर्लेर टाप कसें। देखेनन् कस्सो। भोली आम्ला भनेर घर गएँ।

ए टुरिस्टको जिप पो रच। के निकालें हूँ’ला? कतिबेला भोलि होला र त्यहाँ पुगेर हेरौँला भएर रातभरी निद्रा लागेन। कसैले भेट्टाएर लगे कि भन्ने डर पनि लाग्यो। बल्लतल्ल रात कट्यो, बिहान खाना खाइवरी निस्किएँ। हिजो जिप रोकेको घुम्तीमा पुगें। हिलोबाटोमा जिपका टायरका डाम सग्लै थिए। बान्नो उक्लेर हेरें, हिजो फ्याँकेका पोकाहरु असुरोको झ्यांङमुनि टल्किरहेका थिए। डाँडामा लगेर ठुलो चाहिँ पोको खोलेको, ‘चोकोफन’ हुन्छ नि? हो त्यस्तै चकलेट एक माला रहेछन। जम्मै खाएँ। धेरै गुलियोले मतमताएर होला, अर्को पोको खोल्नै मन लागेन, घर लगें।

नुवाइधुवाई गरेर शनिबारको फिलिम हेरेर होमवर्क गर्न आँटेको थिएँ, अर्को पोकोमा पनि त्यस्तै चकलेट छन् कि भन्ने कौतुहलता जाग्न थाल्यो। पोको लिएर माथि सिरानको तलामा पुगें, बिस्तारै पोको खोलें। अफसोच, यसमा चाहिँ चकलेट रहेनछ। मसिना धागा भएको स्यान स्याना पुरिया थिए। नियालेर हेरें, पुरिया भित्र त खैरो धुलो। मेरा हंशले ठाम छोडे, हातखुट्टा लगलग कामे। फ्ल्यास्ब्याकमा पुगेँ, ‘यी कुइरेहरु नेपालाँ स्म्याक र ब्राउन सुगर खान आउनी हुन्’ कसैले भनेको याद आयो। ‘ए आमा……. ड्रग्स!’ म त्यस्ता कुरा अलिअलि बुझ्ने भैसकेको थिएँ। क्लासका सुड्डा दाइहरु तोप/ब्ल्याक बनाएर खाएको देखेको थिएँ। पोको खोपीमा लुकाएर तल ओर्लें, फटाफट होमवर्क गरेर सुतें। मसँग ब्राउन सुगर भएको कुरा थाह पाएर पुलिस आउने हुन् कि भनेर रातभर डर लाग्यो। भोलिपल्ट स्कुल गएँ, एउटा तोपे दाइलाइ खुसुक्क बोलाएर भने, ‘मसँग ब्राउन सुगर छ, खाने भए ल्याइदिन्चु’, छक्क पर्दै उसले सोध्यो, ‘काँ’ट ल्याको?’, मैले टुरिस्टको चोरेको भनेर भनें। लोइरे डरायो, ‘हुन्न यार तिनीहरुले हान्ने माल त डेन्जर हुन्छ, म त खान्न।’

त्यसपछि अलि दिन ब्राउन सुगरको खासै याद आएन। अर्को शनिबार फेरी डुल्दै त्यहिँ पुगें। जिपका पांग्राका डाम मेटिईसकेका रहेछन्। झल्याँस्स सिरानको तलामा राखेको ब्राउन सुगरको याद आयो। घर फर्कें, तलामा गएँ, अनि एउटा ब्राउन सुगरको पोको खल्तीमा हालें, लुसुक्क भान्सामा पुगें, सलाईको बट्टा टिपें अनि हजुरआमाको कोठामा गएर चुरोट चोरें। कसैले थाह नपाउने गरी खेतको बीचमा भएको बेलौतीको रुखमा चढें। बेलौती लटरम्म फलेका थिए, त्यो सिजनमा हाम्रो खाजा नै बेलौती हुन्थ्यो। गोजीबाट सारा सामाग्री निकालेर म ‘मेक हान्ने’ तयारीमा जुटें। ‘एक्स्पेरिएन्स’ नभए पनि केटाहरुले ‘मेक’ हानेको देखेको थिएँ। ‘प्रोसेस’ याद थियो। पहिले चुरोटको सुर्ती देब्रे हातमा झारें। तर कसो कसो मिलेन, धेरै जसो सुर्ती बाहिर खस्यो। अनि ब्राउन सुगरको पोको खोलेर देब्रे हातमा भएको सुर्तीसँग मोलें। केटाहरुले जसरी भर्न आएन, अनि औंला र सलाईको काँटीको सहायताले बल्लतल खाली चुरोटमा ‘माल’ भरें। अब ‘फायर’ हान्न बाँकी थियो। केटाहरुले गाँजा खाएपछि एकदम भोक लाग्छ भनेको सुनेको थिएँ, यो त झन् ब्राउन सुगर, फेरी भोकले नै मरिने पो हो कि भनेर दुइटा बेलौती खाएँ, अनि ‘माल’ ‘फायर’ हानें।

मैले जिन्दगिमा त्यति नराम्ररी सर्को परेको कहिल्यै थाह पाएको थिईन। त्यो दिन यति नमिठो धुवाँ पेटभित्र गयो कि, कुरै नगरौं। ‘फायर’ हानेर तान्दा पटटटट आवाज पनि आएको याद छ। बररर आँशु झरे, खोक्दै आँशु पुछ्दै घर फर्कें। ब्राउन सुगर यस्तो पो हुनेरहेछ, बल्ल थाह पाएँ। क्यारेर खाँदा हुन् कुइरेहरुले? घरीघरी नमिठो हस्को आऊँथ्यो अनि मुख बिगार्थें। छ्या अब खान्न यस्तो चीज, फालिदिन्छु भनेर सिरानको तलामा पुगें। पोको निकालें। बल्ल पोकोको खोल हेर्ने बुद्धि आयो। पढें। त्यहाँ ठुल्ठुला अक्षरमा लेखेको थियो – Yorkshire Tea Bags.

*******************************************

– N®B

This article was first posted on http://www.aakarpost.com/2012/11/pokhara-expressstory.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s