खाते

Image

भ्यालेन्टाइन २०१४ को दिन। उसले यो जाडो बल्ल तल्ल कटाएँ भन्ठानेको थियो, तर अचानक त्यो दिन बिहान देखी नै आकाशमा काला बादल मडारिन थालिसकेका थिए। ट्विटर मा ‘इट्स सो क्लाउडी टुडे, इट्स गोन्ना रेन’ भन्दै मौसमी बिवरण ट्विट्दै थिए एकथरी, अर्काथरी ‘गूड् फ्राइडेमा मौसमले पनि च्यालेन्ज गर्‍यो’ भन्दै प्लान बनाउदै थिए। केही बेरमै पानी दरर दर्किन थाल्यो। त्योबेला उ चियापसल बाहिर कठ्याङ्रिन्दै, बाछिटा बाट बच्ने कोशीश गर्दै चियामा बिस्कुट डोबेर खाँदै थियो। उसको आजको ब्रेकफास्ट र लन्च यही नै थियो र यदि कसैले दया गरेर केही खान दिएमा, पानी बिदो भैदिएर केही प्लस्टिक का टुक्रा टिप्न पाएमा, या आधा कुहिएर फालेका फलफुल भेट्टाएमा खान पायो, नत्र शायद उसको आजको डिनर पनि यही अहिले खाँदै गरेको चिया र बिस्कुट नै हुने सम्भवप्राय थियो। किनकी उसलाई ‘बाबु तँलाई भोक लाग्यो होला, के खान्छस?’ भनेर सोधिदिने आमा उसका थिएनन, ‘यस्तो जाडो छ बाबु, ज्याकेट लगा त’ भनिदिने बा पनि थिएनन।

बा’को धमिलो अनुहार उसको मानसपटलमा आऊँछ कहिलेकाहीँ, तर त्यो याद यति धमिलो थियो कि उसले अब आफ्नो बा लाई अगाडि नै देखे पनि चिन्दैन। उ सानै छँदा उसकी आमा उसलाई लिएर एउटा कुल्ली सँग पोइल गएकी थिइ। तर सौतेनी बाउले उसलाई कहिल्यै पनि देखी सहेन। बिस्तारै आमाले पनि उसलाई वास्ता गर्न छाडि। सौतेनी बाउ र आमा कुल्ली काम गर्न जान्थे अनि उ दिनभर सडकमा खेल्ने गर्थ्यो। खेल्दा खेल्दै एकदिन उ सडकै सडक कहाँ पुगेछ, उसलाई पत्तै भएन। उ हरायो। उ रोयो, शान्त भयो, फेरी रोयो तर उसको रोदन सुनिदिने यो स्वार्थी शहरमा कोही थिएन। अनि त्यही सडकमा उसले आँफै जस्ता दामली भेट्टायो, तिनैसँग खेल्न थाल्यो, तिनैसँग रमाउन थाल्यो अनि बिस्तारै बा आमालाई बिर्सन थाल्यो। शायद उनिहरुको बारेमा सम्झन लायक केही नभएर पनि होला। उ कहिले माग्दै हिँड्थ्यो, कहिले ट्याम्पुमा झुन्डिन्थ्यो, कहिले कुनै होटेल या चिया पसलमा भाँडा माझ्थ्यो। तर कुनै पनि काम मा उ धेरै टिक्दैनथ्यो। तर पेट त पाल्नै पर्थ्यो, माग्दै हिँड्दा समाजले गर्ने तिरस्कार बुझ्यो होला, अरुको मा काम गर्दा पेलाउने प्रवृती बुझ्यो होला अन्तत उ यो फोहोर शहरमा प्लास्टिकका टुक्रा खोज्ने काम रोज्यो।

यस दौरान उसले धेरै राम्रा नराम्रा भोगाइ भोग्यो। उ गोरो थियो, अहिले पनि नुहाऊँदो हो त गोरो नै छ। एकदिन एउटी महिलाले उसलाई फकाइ फुल्याइ उनको घर लगिन। उसलाई नुहाइदीइन्, राम्रा लुगा लगाइदीइन्। वास्तवमा कुरा के रहेछ भनेदेखी, उनको छोरा पनि उसैको जतिको उमेरमा दिवंगत भएको रहेछ। उनले उसमा आफ्नै छोराको झल्को आएर ल्याएकी थिइन। मध्यरातमा उनको लोग्ने मादक पद्धार्थ सेवन गरेर आयो, उनले घरमा आफ्नै छोराजस्तै बच्चा भेटेर ल्याएको कुरा बताइन्, त्यो सुनेर लोग्ने रिसायो र उनलाई कुट्पिट गर्न थाल्यो। अनि उ सुतिरहेको ठाउँमा पुग्यो। उ डरायो, अनि लुसुक्क भागेर आफ्नै सडकमा पुग्यो। धेरै दिन पछी एकदिन पुन: उनै महिलासँग उसको जम्काभेट भयो। ति महिला उसलाई देख्ने बित्तिकै बारर आँशु खसालिन, उ त्यो देख्ने बित्तिकै भाग्यो।

एक साँझ एउटा ठुलो झोला बोकेको बिदेशी नागरिक हातमा ठुलो क्यामेरा बोकेर सडकमा हिँड्दै थियो, उ र उसँगैका सडक बालकहरु ‘हेल्लो, टु रुपिज’ भन्दै त्यो बिदेशीको अघिपछी गर्दै थिए। बिदेशी पनि दंग पर्दै उनिहरुको फोटो खिच्दै थियो, त्यही बेला मौका परेर त्यो बिदेशीको झोला चोरेर सबैजना भागे। अनि बिष्णुमतीको पुल मुनी पुगेर झोलामा भएका सामान बाँढे। उसको भागमा त्यही बिदेशीको ज्याकेट पर्‍यो। त्यो अजङको ज्याकेट उसलाई लगाउन त मिल्थेन तर उसका निम्ति सिरक बन्न पुगेको थियो। कसैका बन्द सटर अगाडि, पाटी पौवा, मन्दिर परीसर, या कुनै सवारी साधन भित्र गयो, ज्याकेट ओढ्यो अनि आनन्दले सुत्यो।

एकपटक कुन्नी के नामको अनाथाश्रमका मान्छे हरु आए अनि उ लगायतका अरु सडक बालबालिका हरुलाई लिएर गए। आश्रम ठुलै थियो। उसैका उमेरका बालबच्चा हरु धेरै भएकाले उ शुरुमा धेरै रमायो। तर पढ्न पर्ने, नुहाउन पर्ने, सडकमा झैँ निस्फिकृ हिँड्न नपाईने भएकाले उसलाई बिस्तारै त्यहाँ पट्ट्यार लाग्न थाल्यो। त्यत्तिकैमा एक रात, जब उनिहरु सबैजना सुतिसकेका थिए, आश्रमको वार्डेन् आएर उसलाई उठायो, अनि अर्कै रुममा लिएर गयो। उसलाई नयाँ कपडा देखाऊँदै पुराना कपडा खोल्न लगायो। बालक मन न हो, नयाँ कपडा देखेर खुशीखुशी उसले सबै कपडा खोलेर नांगै भयो। वार्डेनले उसलाई आफु नजिक बोलायो अनि उसको शरीर सुमसुम्याउन थाल्यो, उसका अझै लाज नपसिसकेका अङ हरुमा हात पुर्यायो अनि………

भोलिपल्ट उ ब्युँझिन त ब्युँझियो, तर शरीर उठाउन सकेन। सकि नसकी उ शौचालय गएर के बसेको थियो, असह्य पिडाले उ ‘आमा’ भन्दै चिच्याऊँदै डाँको छोडेर रोयो। उसलाई याद आयो, हिजो राती पनि उ यसरी नै चिच्याऊँदै रोएको थियो। तर उसको बेदना सुनिदिने त्यहाँ कोही थिएन, ‘बाबु तँलाई के भयो?’ भनिदिने कोही थिएन, ‘म बलात्‍कृत भएँ, न्याय चाहियो’ भनेर उजुरी गर्न पनि जान्दैन उ। दुइचार दिन खुट्टा फट्ट्याऊँदै यताउता हिँड्यो अनि त्यो कैदबाट निस्कने बाटो खोज्न थाल्यो। र एकरात उ र उसका साथीहरु खुशुक्क त्यो नर्कआश्रम बाट भाग्न सफल भए। पुन: उही सडक, बिन्दास जिन्दगी, स्वतन्त्रता, जो उनिहरुलाई प्यारो थियो।

आज बिहान उ एउटा पातलो च्यातिएको टिशर्ट र मैलो कट्टु लगाएर बोरा बोकेर निस्केको थियो। बिहानै केही मिनिरल वाटरका बोत्तल भेट्टाएको त थियो तर दिउसो हुन नपाऊँदै पानी दर्कियो। अब त चिया बिस्कुट पनि सकिसक्यो, अरु केही खानलाई साथमा पैसा छैन। ओत लाग्ने मनिसहरु अझै थपिंदै छन। बाक्ला ज्याकेट लगाएका छन, तर उनैलाई धेरै जाडो भएझैं गर्दैछन, उसलाई हेर्दै ‘ओइ खाते, उता भाग’ भन्दै उसैलाई पर धपाऊँछन, उ चुपचाप धपिन्छ। अलि पर अलि पर सर्दा सर्दै उ निथ्रुक्क भिजिसक्यो। उ बिचरा कुट्कुट काँप्दै घरी आकाश तिर हेर्छ, शायद पानी बिदो पो भईहाल्ला र आफ्नो सिरकरुपी ज्याकेट ओढेर सुतौंला भनेर होला। उसलाई आज खान नपाईएला भन्दा नि अर्को ठुलो चिन्ता छ, यो जाडोको मौका पारेर कतै कसैले उसको ज्याकेट चोरी त दिएन?

-सकियो-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s