म, नेपाल अनि अक्षयकुमार

Image

 

‘र’उमेर। अङ्रेजीमा टीनएज भने जस्तै मेरो नेपाली भर्जनमा ‘र’उमेर। एघा’र’, बाह्’र’, तेह्’र’, पन्ध्’र’, सोह्’र’, सत्’र’, अठा’र’। यही त हो हामी सबै खाशमा बाँचेको भनेर सम्झन लायक उमेर। त्यसपछी त जिन्दगी झण्ड्। सबैका आआफ्ना भर्जन का याद हरु बनेका हुन्छन यही ‘र’उमेर मा। जिउ तिर नियालेर हेर्यो, घाऊ का खत, उट्पट्याङ गर्दाका निशानी देखिन्छन, यही ‘र’ उमेर ताकाका। अहिले एकछिन टोलायो, फ्ल्यास्ब्याकमा गयो, ‘र’ उमेर का कुरा हरु सम्झियो, एक्लै मुस्कुरायो, थकाई सकाइ हराऊँछ अनी पुन: गधाको जूनी शुरु।

अक्षय कुमार नेपाल आएको थाहा भयो। मेरो त बेस्ट हिरो। दंग भएँ म। काठमाडौं जान पाए, भेट्न पाए, अटोग्राफ लिन पाए…… यस्ता सोच आउन थाले मनमा। तर अब त्यो उमेर रहेन। ‘र’ उमेरमा त पोखरा उपत्यकामा सुटिङ गर्न आएका प्रायजसो नेपाली कलाकार हरुको अटोग्राफ लिएर एउटा पुरै अटो कपी भरेको थिएँ मैले। राजेश हमाल देखी नारायण त्रिपाठी…. राजेन्द्र खड्गी सम्मकै। एउटा खुम्रोले खुब आँखा लगाएको थियो मेरो अटोमा, कुन दिन चोरेरै छोडेछ। अरु कुराको त दु:ख लाग्दैन तर राजेश हमालसँग खिचेको एउटै फोटो थियो त्यसमा, त्यो सम्झिँदा फोटो सम्म मात्रै भए नि पाउन पाए जस्तो हुन्छ।

अक्षय कुमारका बारेमा एक दुई ट्विट् नि ठोकियो अनी सम्झिन थालें अक्षय कुमारका फिल्म। यसो मैले आजसम्म अक्षयकुमार को कुन कुन फिल्म हेरेको छैन भनेर सोच्न थालें। अब हेरेका सम्झिन थाल्यो भने त प्राय सबै हेरेको जस्तो लाग्छ। वेब मा अक्षयकुमार को फिल्मोग्राफी हेर्न थालें। नहेरेका धेरै नै रहेछन, ‘डान्सर’ ‘मिस्टर बोन्ड’, ‘दिल कि बाजी’, ‘जय कीशन’, ‘नजर के सामने’, ‘८-१० तश्विर’ ‘हाउसफुल २’ । अब हेरेका मध्यमा सबभन्दा राम्रो लागेको अक्षयकुमार को फिल्म सम्झिन कोशीश गरेँ, गार्हो हुँदो रहेछ छुट्टाउन। सम्झेर हेर्दा सबैभन्दा मन परेकामा ‘जानवर’, ‘संघर्श’, ‘खाकी’, ‘स्पेसल छब्बिस’, ‘आँखे’, रहेछन। यसको मतलब अक्षय कुमारका कमेडी फिल्म मन परेनन भन्न खोजेको होइन तर मैले आफुलाई अक्षयकुमार ले सिरियस रोल गरेका चलचित्र धेरै मन परेको पाएँ। मन नपरेका कुच्चड फिल्म सम्झिन खोजेको त लिस्ट त लामै बन्ला जस्तो पो भयो। ‘तिस मार खान’, ‘जोकर’, ‘कम्बख्त इश्क’, ‘हाउसफुल’, ‘चादनी चोक टु चाइना’ अनी अरु कती हुन कती।
‘र’उमेरको शुरु शुरु ताका, हामीजस्ता साधारण मध्यम बर्गिय हरुको घरमा टिभी हुन्थेन, तर टिभी हेर्ने रहर भने असाध्यै हुन्थ्यो। बिहीवारको ‘महाभारत’, शनिबारको हिन्दी फिल्म हेर्न कहाँ कहाँ पुगिएन होला? चिन्दै नचिनेका हरुकोमा समेत गएर टिभी हेरिन्थ्यो। तर त्यतिले चित्त बुझ्थेन। अनी चाडबाढ या छुट्टी पर्दा टोल तिरका दाई हरु जोसिन्थे, जन्थे बजार, ल्याउँथे डेक र टिभी भाडामा, २४ घण्टाको लागि। अनि प्रती चलचित्र ५ रुपैयाँका दरले लिएर कसैको अँध्यारो कोठामा ४ वटा फिल्म (प्राय हिन्दी) ब्याक टु ब्याक देखाऊँथे। प्राय दिउसो महिला टोलिहरु मात्रले हेर्थे अनि राती भने महिलालाई निसेध गर्थे। अली सानो हुँदा त म पनि आमै, आन्टीहरुको साथ गएर दिउसो हेर्ने गर्थें। हेर्थें तर केही बुझ्थिन। पछी बिस्तारै बुझ्दै जान थालें। केटा हरुले फुर्ती लाएको सुनेपछी राती केटाहरु सँगै हेर्ने रहर जाग्यो। एक दिन शायद गर्मी छुट्टी भएको बेला थियो, दाई हरुले डेक ल्याएको कुरा साथीले सुनायो। म घर गएर रोइ कराइ २० रुपैया फुत्काएँ, बेलुका भात खाइवरी डेक ल्याएको घर नजिक गएँ। साथी पनि त्यहीं भेटियो। सँगै फिल्म हेर्न भनेर गयौं। ‘यस्ता फुच्चे लाई त हुन्न’ एउटा दाईले प्याच्च भने। मैले बिस को नोट् नि देखाएँ तर तिनको मन पग्लिएन। कता हेर्नै दिन्नन कि जस्तो लाग्यो, रुन मन लाग्यो, अनि रोइदिएँ। बल्ल उनको मन पग्लिएछ कि कुन्नी, बिस रुपैयाँ को नोट् च्याप्प समाएर भित्र धकेले। धन्न शुरु भएको रहेनछ। अँध्यारो कोठाभित्र उकुस र मुकुस गर्दै बिसौँ जना रहेछन, म त फुच्चे, स्यानो जिउ, अलिकती खाली ठाउँ पाएँ, त्यहीं टुसुक्क बसें। आम्मामा त्यो गर्मी, त्यो उकुसमुकुस, अहिले सम्झेर ल्याउँदा कहाली लाग्छ। त्यस माथि एउटाले पाद्यो भने कोठामा बस्नै नसकिने, हावा जाने ठाऊँ छैन, के गर्नु? सहेरै बस्नुपर्थ्यो। दिनभरी महिला टोलिले हेरेकाले दाईहरु फिल्म रिविन्ड गर्दै थिए। रिविन्ड गरेको हेर्न खुब मज्जा लाग्थ्यो मलाई। उल्टो अनि छिटोछिटो हिँडेको, उल्टै नाचेको, उल्टै फाइट गरेको हेर्दा कुनै कार्टुन हेरेजस्तै लाग्थ्यो। अनि शुरु भयो फिल्म, फिलिम भन्दा पनि मलाई मुनिपट्टी देखाउने बिज्ञापन हेर्न मन लाग्थ्यो मलाई। क्रिकेट मा चौका छक्का हान्दा म्याचसंगै टिभिको स्क्रिनमा देखाऊँछ नि एड, त्यस्तै एड हुने गर्थे। घरीघरी स्क्रिनमा धागो जस्तो आऊँथ्यो अनि दाई हरु भिसिआर चक्का निकालेर एक मोहोरको डबलले कस्थे। अनि फेरी क्लियर आऊँथ्यो। एउटा फिल्म, अनि दोश्रो फिल्म, अनि तेश्रो फिल्म, अनि चौथो फिल्म, घरी घरी निद्राले झप्प हुन्छु अनि फेरी ब्युझिन्छु अनि हेर्न थाल्छु फिल्म। चौथो हिन्दी फिल्म हेर्दा हेर्दै एकछिन झुप्प भएको जस्तो लागेको थियो, यसो ब्युँझेर हेर्छु त कुइरे हिरो कुइरिनी हिरोनी नांगै, के के हो के के छटाको काम गरेका। म त केट्केटी मान्छे, पहिला त्यस्तो केही हेरेको थिइन, लाजले रातो पिरो भएँ, निन्द्राले नि छ्याङै छोड्यो। यताउता दाई हरुलाई हेरें, एकटकले आँखा नझिम्काइ हेरिरहेका थिए। त्यसै त गर्मी मौसम, त्यस माथि गर्मी कोठा, अनि अर्को गर्मागर्मी शुरु….. बसिसाध्य थिएन त्यहाँ। दाई कती बज्यो भनेर एउटालाई सोधेँ, त्यसले मलाई यस्तरी झपार्यो कि मानौं मैले उसको बर्सौँदेखी को तपस्या भंग गरिदिएँ। खोपी बाट चिहाएर हेरें, झिसमिसे भईसकेको रहेछ। बिस्तारै ढोका खोलें, अनि घर तिर टाप कसें। नसुती निद्राको तालमा एकसाथ हेरेका ४ वटा हिन्दी फिल्म कक्टेल भएर कुन फिल्मको कुन सिन, याद भए मरिजाऊँ। तर त्यो अङ्रेजी चलचित्रका हेरेजति जम्मै सिन झल्झली थिए। शरीरमा कताकता काउकुती लागेजस्तो भएर आयो। धेरै दिनसम्म त्यो फिल्मको झझल्को आइरह्यो। पछी आएर थाहा भो, त्यसलाई ब्लु फिल्म भन्दा रहेछन।

हामी आलि ठुला भयौँ, डेक भाडामा दिने पसलेले पत्याउने जति ठुला। हामी त्यस्ता लाज लाग्ने फिल्म चाँही हेर्थेनौं, मनै लागे पनि त्यस्तो फिल्म माग्ने हिम्मत हुन्थेन। साथी साथी सल्लाह गरेर मन परेका, गीत सुनेका, हलमा हेर्न नपाएका हिन्दी फिल्महरुको लिस्ट बनाउँथ्यौं, अनि पैसा उठाएर महिना, दुईमहिना मा डेक भाडामा ल्याएर हेर्थ्यौं। तिनै ताका रिलिज भएको थियो अक्षय कुमार र सुनिल सेट्टी को एउटा फिल्म, ‘मोहरा’। त्यो फिल्म यस्तो दामी लाग्यो कि हामीले चौबिस घण्टामा तीन चोटि दोहोर्याएर हेर्यौँ। त्यसपछी हामी बन्यौं अक्षयकुमार र सुनिल सेट्टीका फ्यान। यि दुइटा हिरो फिल्ममा भएपछी फाइटै फाइट, गीतै पिच्छे फाइट, अझ अक्षयकुमार किक एकदम फेमस थियो त्योबेला, हामीलाई फाइट भएको फिल्म भनेसी अरु के चहियो? अरु हिरो हरु पनि थिए, शाहरुख खान, सलमान खान, आमिर खान, यि तिनटै फाइटै खेल्न नजान्ने, यिनिहरुको फिल्म प्राय जम्मै तोरिबारीमा नाच्ने, रुने, रुवाउने,’प्यार प्यार’ गर्ने खालका मात्र हुन्थे त्यसैले यि खान हरु मन पर्दैनथे। सञ्जय दत्त पनि राम्रै फाइट खेल्ने हिरो हो तर ‘त्यसले ड्रग्स खान्छ’ भन्ने सुनेपछी मन पर्न छोड्यो, अजय देवगन पनि फाइट गर्ने तर कालो थियो, त्यसैले मन परेन, अर्को सन्नी देवल थियो दामी फाइट गर्ने, तर अनुहार नै रोउँला रोउँला जस्तो, त्यसैले मन परेन। अक्षयकुमार र सुनिल सेट्टी नै हरेक कोण बाट हाम्रा लागी बेस्ट हिरो थिए। तिनैका भएभरका नयाँ पुराना फिल्म ल्याएर हेरियो। खिलाडी नाम गरेका धेरै फिल्म आए अक्षय् कुमारका, सप्पै हेरियो। समय अनुसार टेक्नोलोजीले नि फड्को मार्यो, भिसिआर हराए, सिडी आए, त्यही अनुसार चलचित्र पनि फरक फरक बन्न थाले। अक्षयकुमार, सुनिल सेट्टी अब फाइटनै नभएको ‘धड्कन’ जस्ता फिल्म खेल्न थाले। हामी पनि ठुला हुँदै रहेछौँ, बिना फाइटका फिल्म नि मन पर्न थाले। ‘हेराफेरी’ भन्ने फिल्म आयो, त्यो फिल्मबाट अक्षयकुमार र सुनिल सेट्टी दुइटै हास्य अभिनेतामा परिणत् भए, र सफल पनि भए। उनिहरुको अभिनय खारिँदै गयो, हाम्रो च्वाइस बदलिंदै गयो। शायद अक्षयकुमार ले दर्शकले के चाहन्छन, त्यो बुझे र आफुलाई त्यही अनुरुप ढाले, त्यसैले उनी अझै उत्तिकै सकृय देखिन्छन तर सुनिल सेट्टी यो भागदौडमा अली पछाडि पर्न गए।

त्यो ‘र’उमेरमा जति चलचित्र हेर्दा इन्ज्वइ गरिन्थ्यो, त्यती आज ‘इस’उमेर (ब्’इस’, त्’इस’, चाल्’इस’) मा नगरिँदो रहेछ। अब चलचित्र नै त्यस्ता बनेका हुन कि, उमेर को दोश हो, त्यो बुझ्न सकेको छैन। अक्षयकुमार का नयाँ फिल्म त आइराख्छन्, अब केट्केटी देखी को बेस्ट हिरोको फिल्म भनेपछी हेर्न मन लागिहाल्दो रहेछ। तर प्राय चलचित्र हेरेर सन्तुष्ट हुन सकेको भने छैन। अन्तिम चित्तबुझ्दो लागेको फिल्म भनेको ‘स्पेसल छब्बिस’ थियो। ‘अ वेड्नेस्डे’ जस्तो बेजोड चलचित्र निर्देशन गरिसकेका निरज पाण्डे निर्देशित ‘स्पेसल छब्बिस’ पनि बेग्लै थियो। र सुने अनुसार अक्षयकुमार र उनै निर्देशक निरज पाण्डे मिलेर अर्को नयाँ चलचित्रमा काम गर्दैछन जसको सुटिङ काठमाडौंमा हुँदै छ। यि दुई ट्यालेन्टेड कलाकारहरु मिलेर बनाएको चलचित्र पक्कै पनि राम्रो बन्नेछ। तर मलाई एउटा कुरामा शंका लागिरहेको छ, त्यो के भन्दा उनै निर्देशक निरज पाण्डेले भारतिय अन्डर्वर्ल्डमा एउटा पुस्तक लेखेका थिए, ‘गालिब डेन्जर’, जुन पुस्तकमा आधारित् चलचित्र बन्ने भन्ने कुरा सुन्नमा आएको थियो। शायद उनी त्यही कथामा चलचित्र बनाउदै छन। त्यसै पनि भारतिय नजरमा नेपाल आइएसआइको ट्रान्जिट हो जहाँ भारत बिरोधी कृयाकलाप हरु हुने गर्छन्। यदी सो चलचित्रमा नेपाललाई आतंकवादको अखडा, या अन्य नकारात्मक रुपमा प्रस्तुत गरेको हेर्न पाइयो भने पक्कै पनि मजस्ता कैयौं फ्यान हरु त यसै पनि भड्किनेछन। त्यस माथि यो हल्लै हल्लाको देश, जहाँ ह्रितिक कान्ड जस्तो सुन्दै नसुनेको, देख्दै नदेखेको कुरामा बेफ्वाँक को अनावश्यक काण्ड मच्चाएर कतिले ज्यान गुमाए, यो देश मा अर्को कुनै सानो निहु पाए त्यस्ता घटना नदोहोरिएलान भन्न सकिन्न। किनकी यो बुद्ध मात्रको देश नभइ भेडै भेडाको देश पनि हो, मुर्खै मुर्खको देश पनि हो। त्यसैपनि जतिसुकै प्यारो बिदेशी होस्, आफ्नो देशको जस्तो भए पनि उसले केही नराम्रो भन्यो भने उ प्यारो रहँदैन किनभने आफ्नो मातृभूमी बिरुद्धको कुनै पनि शब्द कसैलाइ पनि सह्य हुँदैन। हुन त सरकार एवम सम्बन्धित निकायले अनुमती दिनुअघी नै के कस्ता द्रिश्य छायांकन हुने हो, चलचित्रमा नेपाललाई कसरी प्रस्तुत गरिनेछ भन्ने कुराको पूर्ण जानकारी लिएर नै छायांकन को अनुमती दिइएको होला। आफ्नो बेस्ट हिरोले आफ्नो देशमा छायांकन गरेको चलचित्रमा आफ्नो देशलाई राम्रोसँग प्रस्तुत गरोस भन्ने मेरो चाहना हो। म एउटा साधारण नेपाली नागरिक र एउटा बिदेशी कलाकारको साधारण फ्यान भएकाले मनमा यस्तै कुरा हरु खेले, जस्ता खेले तस्तै टाइप गरेँ र यो साधारण लेख ब्लगमा अपडेट गर्दैछु।

Advertisements

4 thoughts on “म, नेपाल अनि अक्षयकुमार

  1. मलाई चैं अक्षयको घाँटीको नशा देख्न थालेछि खासै मन पर्न छोड्यो 🙂

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s