सन्की

Image

पहिल्यै भन्दिन्छु, – कृपया यस कथामा कुनै किसिमको लजिक खोज्ने ब्यर्थ प्रयास नगरिदिनु होला। यो फुर्सद, फाल्तु सोच र मुड को समिश्रण मात्र हो। 

 

एकादेशमा एउटा सन्की थियो रे, असाध्यै सन्की, उसलाई तरकारीमा अलिकती नुन धेरै भएपनि रिस उठेकै हुन्थ्यो रे, उसले लगाउन चाहेको कपडा मैलो भएपनि रिस उठेकै हुन्थ्यो रे, सडकमा हिँडेका सवारीसाधनले हर्न बजाउँदा नि रिस उठेकै हुन्थ्यो रे। वास्तबमा ऊ रिसको भुङ्रो थियो जो अलिकती हावा लाग्नासाथ दन्किने। यतिबिघ्न रिस त शायद कमैलाई थियो होला। त्यस्तो मलाई होइन, त्यस् घरमा भएका दराज, टेबल, ढोका, टिभी, ऐना, टेलिफोनहरुलाई लाग्दथ्यो।

 

घरमा कुनै जिवित बस्तु नभएको बेलामा यी निर्जिव बस्तु हरुको बैठक बस्ने गर्थ्यो। त्यस्तै कुनै एकदिन कुराकानीमा टेलिफोनले आफ्नो दुखेसो पोख्यो, ‘हेर, म चाइनामा जन्में, चाइनिजले कस्तो जतनसँग मलाई बनाए, फिट गरे, प्याक गरेर बिदेश पठाए। मेरो अभागी कर्म, के के न बिदेश पुगिएला भनेको त नेपाल पो आउन लेखेको रहेछ। खाशा हुँदै काठमाडौं आएँ, केही महिनापछी पोखरा ट्रान्स्फर भयो। पोखराको पसलमा केही दिन बसेपछी यो घरको शोभा बढाएँ। शुरु शुरुमा त खुब माया मान्थ्यो, मलाई समाएर मिठा, नमिठा, रमाइला, छाडा, जम्मैखाले कुरा गर्थ्यो। एकदिन के भयो भनेदेखी, ऊ मेरो सामु आयो, निकै हतारमा थियो जस्तो लाग्दथ्यो। एउटा नम्बर डायल् गर्यो तर फोन लागेन। दोस्रो, तेस्रो, चौथो…… नवौं, दशौं पटक रीडायल् गर्दा पनि संपर्क भएन। अनि के चाहियो उसलाई? कसेर एक पन्च् हानेर मलाई भुइमा थेचार्यो, अनि हिँड्यो। दोश एनटीसीको नेटवर्कको, पिटाइ खाने चैं म? म भुइमै मिल्की रहेँ। बेलुकी ऊ आयो, मलाई उठाएर टेबलमा राख्यो, तार जोड्यो, अनि बल्ल मलाई होस् आयो। बाँच्न त बाँचेकि रहिछु, तर पार्ट जम्मै दुखेका थिए। स्क्रु लुला भएका थिए, जोर्नीका तारहरु खलबलिएर होला, बोली त्यती प्रस्ट थिएन, सुन्न पनि गार्है भएको थियो। त्यो दिन उप्रान्त आजसम्म जेनतेन बाँचेकि छु, अब कुन दिन फेरी एनटीसीको नम्बरमा फोन ट्राइ गर्छ र लाग्दैन अनि मेरो इहलीला समाप्त हुन्छ।’

 

घरमा भएका सबै चिज भावुक भए। त्यतिकैमा ढोका बोल्यो, ‘तिमी त एकपटक मत्रै परेकी रहिछौ, म त दिनरातै लात खान्छु। आफ्नै ‘ढङ्रङ’ आवाज सुनेर तर्सिन्छु। थाहै हुन्न कतिबेला आएर हिर्काऊँछ भन्ने। कस्तो दिनमा उम्रेछु भन्देखी। कत्रो ठुलो रुख हूँला, छहारि बनूँला भन्ने थियो, नाथे प्लाईवूडको ढोका बनेर दिनरात सन्कीको लात्तो खाएर बस्न परेको छ, के गर्नु?’

 

टिभीको कुरा भने अरुहरु भन्दा अली भिन्न थियो। लाज मान्दै भनी, ‘तिमिहरुलाई त त्यस्तो गर्नुहुँदो रहेछ तर मलाई अहिलेसम्म कहिल्यै नराम्रो गर्नुभएको छैन। बत्ती आउने बितीकै म भा’ठाऊँ आएर मलाई हेरेर बस्नुहुन्छ’ 

 

‘तिमी धेरै मक्ख नपर दिदी’ रिमोट च्याँठ्ठियो, ‘जती सहनु पर्ने हो त्यो तिम्रो साटो नि मैले सहेकी छु, मलाई त फुटाऊँला नै जस्तो गरेर समाऊँछ। गतिलो प्रोग्राम आको छैन भने यती दुख्ने गरेर थिच्छ कि। घरी माथि माथि माथि माथि….. घरी तल तल तल तल….. च्यानल चेन्ज गरेर रिङ्गटा नै लाग्ने बनाउंछ। अनि फेरी बेट्री फेर्ने बुद्धी चैं आउने होइन कहिल्यै। एकछिन मैले काम गरिन भने सिधै टेबलमा लगेर बजार्छ मलाई। के गर्नु, आखिर रिमोट न परेँ, चाहे पनि आँशु झर्दैन, तर यति त दुख्दैन। त्यसका हात ठुन्किना’

 

टेबलले आफ्नो नाम सुनेर पुलुक्क हेर्यो अनि भन्यो, ‘फुच्ची, तिमीलाई मात्र दुख्छ होला र? म पनि कम्ता सहेर बसेको छु?’

 

पुरानो रेडियो खोक्दै भन्यो, ‘हो हो तिमी धेरै मख्ख नपर टिभी नानी, तिम्रा जस्ता दिन हाम्रा नि थिए। कुनै जमाना थियो जब ऊ मलाई दिनरात हातमा लिएर हिंड्थ्यो, तर आज आएर म के भएँ? बत्ती नआएको बेलामा कायाकैरन सुन्ने भाँडो मात्र? टुप्पो हेर त मेरो, यो सद्धे हुँदो हो त यसलाई एरियल भन्थे, आज कसरी बुच्चो भएँ त्यो भनिरहन नपर्ला। मलाई सुन्दै निदाऊँथ्यो, बेट्री फेर्न भने दाँतबाट पसिना झर्ने। त्यो नाथे यासिमा बेट्रीले म कतिबेर बजिरहन सक्थेँ होला त? अनि बजेन भनेर मलाई हुर्‍याऊँथ्यो भित्ता तिर। कम चोट खाएर बुढो भएको हो म? तिम्रा नि त्यस्तै दिन नआऊलान् भन्न सकिन्न।’ 

 

टिभी ट्वाँ परी।

 

इयरफोनले मसिनो स्वरमा भन्यो, ‘मेरो पनि उस्तै ब्यथा छ। मलाई गोजीमा कोचेर बिर्सिन्छ, अनि उसलाई गीत सुन्न मन लागेपछी मात्र मलाई सम्झेर निकाल्छ। म गुज्मुजिएको हुन्छु। उसले भन्नेबित्तिकै म आँफै तन्किएर सिधा त कसरी भैदिन सक्छु र? अनि रिसाऊँदै मलाई गाली गर्न थाल्छ।’

 

ढोकाले हावाको हेल्प लिँदै हल्का खुलेर ढोका पछाडी मिल्किएको चर्किएको ऐना तिर हेर्दै भन्यो, ‘भन्देउ त, तिमी के कारणले चर्केकी रे?’

 

ऐना निन्याउरो मुख हेर्दै भनी, ‘म प्रस्ट थिएँ, जे थियो त्यही देखाऊँथेँ, यो संसारमा मभन्दा सत्य बस्तु अरु केही छैन होला। ऊ कपाल भिजाएर आऊँथ्यो, दशथरी क्रिम र जेल लगाऊँथ्यो, घन्टौं लगाएर कतै ठड्याउने, कतै कुच्याउने, कतै बङ्याउने गर्थ्यो। अब उसको कपालै गतिलो छैन त क्रिम र जेल मात्र लगाएर के हुन्थ्यो। अनि भएन भनेर मतिर हेरेर मुर्मुरिंदै आफ्नै कपाल कुइयाऊँथ्यो। एकदिन कपाल काटेर आएको रहेछ। मिनेटौं सम्म टाउको घुमाइ घुमाइ हेर्यो। चित्त बुझेनछ, मैले थाहा पाइसकेकि थिएँ किनकी एकातिर टाटो बसेको रहेछ। झन नियालेर हेर्यो, झन गाढा टाटो देख्यो होला। अनि एक्कासी ‘माचि…. धोती’ भन्दै मलाई पो मुड्कीले हान्छ बा। म त्यो प्रहार सहन नसकेर चर्किएँ। आजकाल मलाई हेर्दैनन् कसैले। चर्केको ऐना हेरेपछी साइत पर्दैन रे।’        

 

‘हामी उत्पीडित हरुको दु:ख कसले बुझिदिने? कहिलेसम्म सहेर बस्ने यो अन्याय र अत्याचार? यस्ता परपिडकलाई कारवाही हुनैपर्छ।’ पुरानो रेडियोले एकै सासमा आफ्नो जम्मै आक्रोश पोख्यो। समाचार फुकीफुकी बोल्नमा एक्स्पर्ट भईसकेको रहेछ।

‘बूड्ढा सठीया गया। :P’, ढोका हाँस्दै बोल्यो।

टेबलले थप्यो, ‘हो हो रेडियोबा केही त गरम, दु:ख दिउँ त्यसलाई पनि, साटो फेरम’

टेलिफोन बोली, ‘कसरी?’

इयरफोनले मसिनो स्वरमा बोल्यो, ‘मिल्नेभए गरम, म नि साथ दिन्छु’

‘ट्यसो भए सुन् पासा’ पुरनो रेडियो सतर्क भएर बोल्यो, ‘मसँग एउता मास्तर प्लान छ’

गुनगुनगुन गरे एकछिन, अनि सबले सहमति जनाए।   

त्यतिकैमा बाहिरबाट कसैले ढोकाको चुकुल खोलेको आवाज आयो। सुन्ने बित्तिकै सबै जना चुपचाप, मिटिङ बर्खास्त। उही आएको रहेछ, टिभी खोल्यो, एक लट सबै च्यानल सरर हेर्यो अनि ‘साला बत्ती आएको बेलामा एउटा गतिलो फिल्म नि आऊंदैन’ भन्दै टिभी अफ गरेर रिमोट टेबल माथि फ्याल्दियो। अनि आफ्नो कोठाको ढोका लात्ताले हानेर खोल्यो अनि ढ्यांग् गरेर बन्द गर्‍यो।

 

ढोका अघिको आफ्नो ‘पिलान के मुताबिक’ पसांगीइदियो, खोल्न नमिल्ने गरेर ढम्म लाइयो। उ सरासर दराज खोल्न गयो। दराजले पनि ‘पिलान के मुताबिक’ चाबीसँग सल्लाह गरेर सेटीङ् मिलाइसकेको थियो, आज नखुल्ने भनेर, अनि खुलेन। उ फर्केर ढोका खोलेर बाहिर जानको लागि ढोका खोल्न खोज्यो तर ढोका नि खुलेन। सकेको बल लगायो, तर अँह, ह्यान्डल निस्किन लाग्यो तर ढोका खुलेन। लात्ताले हिर्काउन के खुट्टा उठाएको थियो, ढोकाको आडमा भएको चर्किएको ऐना जानी जानी ढलिदियो, ठ्याक्क खुट्टा गएर ऐनामा ठोकियो, बुढीऔंला नेर काट्यो। (थोरै मात्र काटेको हो, भायलेन्ट स्टोरी हैन यो) ए अनि, उ खुट्टा समाउन निहुरिँन के खोजेको थियो, ढोकाको ह्यान्डलमा गएर निधार ठोकियो, टुटुल्कै उठ्यो। ढोकाको मन प्रफुल्ल भयो, अनि अली कम पसांगीयो। उसले पनि दुइटा चोटको झोंकमा फेरी एकपटक फुल पावर लगाएर ह्यान्डल तान्यो, बल्ल ढोका खुल्यो। टेलिफोनले ‘पिलान के मुताबिक’ आफ्ना तार फैलाएर बसेको थियो, उ अर्कै सुरमा थियो, तार देखेन, घाऊ नभएको खुट्टा तारमा अल्झियो, उ हुत्तिँदै बैठककोठाको टेबलमा ठोक्किन पुग्यो।

 

आफ्नै अगाडि सन्की साहुको बेहाल देखेर रिमोट हाँसो खपेर बस्न सकिन, खितितिती हाँसिहालि।

रिमोट हाँसेको देखेर रेडियोको लहरे खोकी सुरु भयो, खोक्दै हाँस्न थाल्यो।

दुईजना हाँसेको देखेपछी इयरफोन र टेलिफोन पनि मुर्छा परेर हाँस्न थाले।

कोठामा अजिब खाले हाँसोको आवाज गुन्जिन थालेपछि उ एकसाथ अचम्मित् र भयभित भयो।

उसको त्यस्तो एक्स्प्रेसन देखेर उनिहरु झन चर्को हाँस्न थाले।

झन चर्को आवाज गुन्जिन थालेपछि कुन्नी के सोच्यो उ, एक्कासी उसको मुखबाट आवाज निस्कियो। ‘आमा……!’ उसलाई त्यसैबेला याद आयो, आमा त आज मेला जानुभएको छ। उसको हंसले ठाम छोड्यो, अनि यताउता केही नहेरी घरबाहिर टाप कस्यो।

 

त्यसदिन त्यस घटनापछी बसेको आकस्मिक् बैठकको निर्णय अनुसार सबै निर्जिब बस्तुहरुलाई समेटेर रेडियोबाको नेत्रित्वमा एउटा क्रान्तिकारी संगठन बनाउने सहमति भयो। सोही बैठकमा भविश्यमा कुनै निर्जिब बस्तुलाई गार्होसार्हो परेमा सहयोग गर्नको निम्ति एउटा अक्षय कोश र भविश्यमा सन्की बिरुद्ध पुन बस्तु-कारवाही आवश्यक पर्नसक्ने हुनाले सबै निर्जिव बस्तुहरुलाई बिशेष कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्चालन गरिने निर्णय गर्दै बैठक सम्पन्न भयो।

 

सकियो

 

       

 

   

 

 

 

  

Advertisements

4 thoughts on “सन्की

    1. हाहाहा, क्लाइमेक्स सोच्दा सोच्दा यस्तो हुन पुग्यो बिनोद सर 🙂

      Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s