सानुमाया

bgurung5

२०३० साल, मंसिर महिनाको बढ्दै गरेको जाडो, प्यारो बनेको घाम, करेसा वरीपरी ओइलाऊँदै गरेका सयपत्रीका बुटा, आँगनमुनी लटरम्म फलेका सुन्ताला र सातगेडे, फाँटभरी धान काट्ने खेतालाका ताँती । केही रमाइलो थियो केही नरमाइलो थियो बेला मौसम, तर सानुमाया दिदीको मनमा आज छुट्टै उमंग छाएको थियो, कारण भोली उनलाई हेर्न केटापक्ष आऊँदै थिए। दिदीले चिन्थिन केटालाई। अग्लो, खाइलाग्दो, शाही सेनाको जागिरे, खानदानी कुल, गाउँभरिका तरुनिहरुले आँखा गाडेको केटो आफुलाई माग्न आउने कुरा सुनेदेखी नै एक मनले हर्षीत, अर्को मनले बिचलित थिइन सानुमाया दिदी। खेतालालाइ खाजा तयार गर्दा चिउरा डढेर कालै भएर फेरी भुटेकि थिइन, अचारमा धन्नै चिनी हालिसकेकी थिइन। होश फिटिक्कै ठाऊँमा थिएन दिदीको। भोलि के हुने हो भनेर दिदी त्यसै त्यसै आत्तिएकी थिइन्।

छोरीलाइ हेर्न आउने भएकाले अघिल्लै दिन धान थन्क्याएर तयारी अवस्थामा बसेका थिए भिमप्रसाद। पहिलो सन्तानको बिहेबारी आँट्न लागेका, केहि हताश देखिन्थे। नजिकैको प्राबिबाट बेञ्च ल्याएर आँगनमा राखिएको थियो, हिजो धान चुट्न काम आएको टाँट आज पाल बनेर काम दिएको थियो। हावा चल्दा कुनाकुनाबाट ढुटो अझै फुसफुसाई रहेको थियो। भिमप्रसादका दाजुभाइ, छोरा, भतिज, छिमेकी, पाहुनाको बाटो कुरेर बसेका थिए। ३ बजेको आसपासमा एक हुल मान्छे भिमप्रसाद्को तगारो तीर आऊँदै गरेका देखिए। सबैजना सतर्क भए।  भीत्र सानुमाया दिदीलाइ उनकै बहिनी मैयाँ र फुपू हरुले शृंगारपटार गराई दिंदै थिए।  लाली नलगाउँदै दिदी रातीपिरी भैसकेकी थिइन्, झन् आँगनबाट मान्छे तगारोनेर आइपुगेको खबर सुनेपछि त थरथर काँप्न थालेकी थिइन्।

एक दर्जन आफन्त अघिपछी लगाऊँदै खड्क बहादुर कालो कोटमा ठाँटिएर भिमप्रसादको आँगनमा टेके। भिमप्रसादको परिवारले सबैको स्वागत गरे, खड्क बहादुर र उनका बालाई पिंढीको कुर्सीमा बसाए, अरु आँगनका बेञ्चमा बसे।  भिमप्रसादले औपचारिक रुपमा सन्चो बिसन्चो सोध्दै कुराकानी शुरु गरे। न केटालाइ बोल्न दिइयो, न केटीको राय बुझियो, जे जे कुरा गर्नु थियो, ती सब केटा र केटीका बा मिलेर गरे। अरु परिवारका सदस्यहरुको टाउको हल्लाउने बाहेक अरु काम थिएन। भिमप्रसादले छोरीलाई बोलाउन पठाए। मैयाँ र फुपुहरु मिलेर सानुमाया दिदीलाइ बाहिर ल्याए। आमाको बिहेको जरीवाला सारीमा दिदी बेहुली जस्तै देखिएकी थिइन्।  खड्क बहादुर बसेको कुर्सी छेउ अरुको कुर्सी लगाइयो, अनि त्यहीं बसिन सानुमाया दिदी। खड्क बहादुरले दिदीलाई टिका लगाइदिए, दिदीले पनि खड्क बहादुर लाइ टिका लगाइदिइन, सुनको सिक्री साटासाट गरेपछि सकियो दिदीको टिकोटालो, उनलाई भीत्र पठाइयो।  पाहुनाहरु खाना खान थाले, खड्क बहादुरका बा र सानुमाया दिदीका बा पण्डितसँग लगन हेर्न थाले। पण्डितले आजको ६ दिन पछिको दिन उत्तम ठहर्याए, त्यसपछि दुइ हुनेवाला सम्धी बीच केहीबेर लेनदेनको कुरा भयो, अनि उज्यालो मुख लगाऊँदै बेहुला पक्ष फ़र्किए।

घरैभरी अटाइ नअटाइ पाहुना थिए। सानुमाया दिदीको कोठा उनका स्कुले संगिनी हरुले भरिएको थियो। मैयाँ पनि नयाँ कुर्थासुरवालमा पुतली जस्ती देखिएकी थिइ, खुशीले यता र उता दौडिइरहेकि थिइ।  १३ बर्षकी थिइ मैयाँ, दिदीको बिहे भन्दा पनि दिदी गएपछि दिदीको कोठा आफुलाई हुन्छ भनेर दंग थिइ। दिदीका साथि हरुले “आइज दुलही बन्न, तँलाई पनि दिदीसँगै पठाईदिने हो” भनेर जिस्काऊँदा “उस् आफैं गए भो नि” भन्दै रिसाऊँथी। एक्कासी पर कतै नरसिंह बजेको सुनियो। दिदी झसंग झस्किइन, आत्तिइन। “लौ लौ अब आइपुग्ने बेला भयो, छिटो गर” आँगनतीर बाट आवाज आयो। दिदीको मुटु फुत्केर हातमै आउला झैं गरेर धड्किन थाल्यो, केहि पत्तो पाउन छाडिन। संगिनी हरुले उनलाई बाहिर लगे, करुवा लिएर दुलाहा लाइ घुमिन, भित्र लगे, दुलाहाले ल्याइदिएका लुगा लगाइदिए, फेरी बाहिर लगे, जगियामा बसाए।  दिदी उँधो मुण्टो लगाएर बासिन, कसैको अनुहारमा हेर्न सकिनन्।  कर्मकाण्ड सकिँदै गयो, दिदीको सिउँदो रंगीयो, अनि दिदी डोली चढेर रुँदैरुँदै त्यो घरबाट बिदा भइन।

बिहेको ५ दिनपछि दुरान फर्काउन दिदी भिनाजु घर आए। दुवै खुशी देखिन्थे, तर मैयाँ दुखी थिइ , किनभने बल्लतल्ल पाएको कोठा फेरी दिदीलाई छोड्नुपर्ने थियो। भिनाजुले मैयाँलाइ नजिक बोलाए, रिसाएर आइन। फेरी भिनाजुले हातको मुठ्ठी खोलेर ५ रुपैयाँको नोट देखाएर बोलाए, मैयाँ मुसुक्क हाँसी र भिनाजुको आडमा गएर बसी।

दिन, हप्ता, महिना गर्दै बर्ष बित्यो।  ढुकुरका जोडी जस्ता थिए दिदी भिनाजु, एकअर्कालाई एकदमै माया गर्थे। यसरी नै दोश्रो बर्ष बित्यो। दिदी केहि दुब्लाए जस्तो देखिन थालिन। मुहार पनि उदाश देखिन्थ्यो। कहिलेकाहीं माइत आऊँदा पनि टोलाएर बस्थिन। तर कसैसँग केहि बोल्दिनथिन। एकदिन आमाले फकाएर कुरा खोदलिन। बिहे भएको दुइ बर्ष बित्दासम्म पनि सन्तान हुन नसकेको हुनाले घरमा किचकिच हुन थालेको रहेछ। सासु, ससुरा, अमाजु, लोग्ने मिलेर बचन लगाऊँदा रहेछन। त्यसमा दिदीले गर्न सक्ने केहि थिएन। आमा भोलिपल्ट बिहानै चिना बोकेर ज्योतिषकोमा पुगिन।  ज्योतिषले अझै दुइ बर्ष बच्चाको योग नभएको बताए। छोरीलाइ केहि नभनि सबैकुरा बिस्तारै ठिक हुन्छ भनेर सम्झाईवरी पठाइन। त्यसपछिका महिनाहरू झन् झन् कष्टप्रद हूँदै गए। दिदी जसोतसो सहेरै बसिन। बिहे भएको ३ बर्ष पुग्यो तर बच्चा भएन। दिदीलाई यहि पीरले गलाएर हाड छालामात्र बाँकी थियो। भिनाजुले पनि वास्ता गर्न छोडिसकेका थिए।

एकदिन सबेरै दिदीका ससुरा खड्क बहादुरलाइ लिएर भिमप्रसादको घरमा पुगे।  एकाबिहानै सम्धी र ज्वाईं घरमा आएको देखेर एक मन त आत्तिए तर सम्हालिंदै दुबैको स्वागत गरे। सम्धी बम्किंदै बोले, ‘हेर्नुस यसरी चल्ने भएन’ खड्क बहादुर अलि अप्ठेरो मान्दै बा लाइ रोक्न खोजे तर बुढा रोकिएनन। ‘हामी तपाईंकि छोरी भित्राएर फसिएम’, भिमप्रसाद डराऊँदै भने, ‘किन हजुर, के गरी र छोरीले’, सम्धी खोक्दै भने , ‘हेर्नुस, बिहे भएको ३ बर्ष काट्दा पनि नातिको मुख हेर्न पाइएन, नातिको मुख नहेरी मरें भने स्वर्गमा बास पाऊँदीन। यसरी त मेरो बंश नै नासिने भयो, अब यसरि चल्दैन, म त्यहि भन्न आएको’, तल्लो तलाबाट आवाज आएको सुनेर मैयाँ तल ओर्लीइ।  भिनाजु र दिदीको ससुरा देखेर नमस्कार गरी। भिमप्रसाद पराजित स्वरमा भने, ‘अब के गर्ने त भन्नुस सम्धी, हामीले भनेर नहुने, दैवको लीला’ सम्धी एकोहोरो मैयाँतीर हेर्दै थिए, भिमप्रसाद तीर फर्किंदै भने, ‘म त खाशमा छोरी फिर्ता लैजानुस, अब छोरोको अर्को बिहे गराइदिन्छु भन्न आएको थिएँ, तर मन फेरियो’ भिमप्रसादलाई केहि राहत महशुस भए झैं भयो, त्यतिकैमा सम्धी फेरी बोले, ‘तर एउटा शर्त छ’
भिमप्रसाद ले सोधे, ‘के शर्त होला हजुर?’
सम्धीले भने, ‘हेर्नुस, तपाइँकि कान्छी छोरी दिने भए जेठी छोरी फिर्ता गर्दिन, नत्र कुरा त्यहि हो’
भिमप्रसाद झस्किएर श्रीमती तीर हेरे।  भिमप्रसाद कि श्रीमतीले मुख खोलिन, ‘यसरी त हुँदैन सम्धी, छोरीले नचाहेर बच्चा नभएको होइन। उ पनि यही पीरले दुब्लाएर त्यस्ती भैसकेकी छे। मैले ज्योतिषसँग हेराऊँदा अबको एक बर्षमा बच्चा हुन्छ भनेका थिए, एक बर्ष त कुर्नु न’
सम्धी रिसाऊँदै उठे, यसरी हुँदैन भने त्यसरी नि हुँदैन। म त आजै आर कि पार गर्न आएको। मैले मेरो निर्णय सुनाएँ, अब दिने भए कान्छी छोरी दिनुस, नत्र हामी अरुतीरै खोज्छम’
एकछिन सबै मौन भए। मैयाँ कोठामा फर्कीइ, भिमप्रसादका लाचार भएर भित्तातीर हेरिरहे। सम्धी हिड्न खोजेझैं गरे।
‘हुन्छ’ भिमप्रसादको मसिनो स्वर सुनियो।
सम्धी अडिए, भिमप्रसाद तीर हेरे।
‘हजुरलाइ यही मनासिव लाग्छ भने यसै गरौं, तर जेठिलाई हेलाँ नहोस् है हजुर।’ भिमप्रसादले भने।
सम्धीको अनुहारमा एकाएक चमक आयो, ‘ढुक्क हुनुस्, त्यस्तो केही हुँदैन,जसरी यो घरमा दिदी बहिनी थिए, त्यहाँ पनि दिदी बहिनी भएर बस्नेछन,सम्पती बाँढ्न नि परेन, खुशी खुशी राज गरेर बस्छन।’ सम्धिले सुनाए।

२०३३ साल फाल्गुन महिनाको उराठ्लाग्दो मौसम, झर्को लाग्दो दिउसोको घाम, बिहान रातिको कमाउने जाडो, उजाड बन जंगल, बेलानकुबेला चल्ने उखरमाउलो हुरी, त्यसमाथि उदास मन। रातभरी निद्रा लाग्दैन, फेरी घरधन्दा गर्न बिहान सबेरै उठ्नुपर्ने। बल्ल्तल्ल के झकाएकी मात्र थिइन, भाले बासेको सुनेर ब्युँझिहालिन सानुमाया दिदी, अनी लागिन पँधेरा तीर । फाल्गुन चैतको खडेरीमा अलिकति ढिला गए पँधेरामा पानी नै हुन्न त्यसैले छिट्छिटो पाइला चालिन। नभन्दै पँधेरामा कोही थिए, दिदीकै जेठानी पर्ने रहिछिन। दिदी पछाडी बसेर पालो कुरिन।  जेठानिले पछाडी फर्केर हेरिन अनि पानी उभाउँदै भनिन, ‘तेरी बहिनी कतिकी लाइ र?’
दिदीले भनिन, ‘सोह्र पुगी दिदी यो माघमा’
जेठानीले भनिन, ‘ए तरुनी नै भैसकिछ त’
दिदीले उत्सुक भएर सोधिन,’किन सोध्नुभयो दिदी?’
जेठानीले मुख बिगार्दै भनिन,’घराँ आफ्नै बहिनी भित्राउँदै रहिछस, फेरी किन भनेर आँफै सोध्छेस?’
दिदी खंग्ङ्ग्रै भइन, ‘कहाँबाट थाह पाउनु भएको दिदी? सत्ते मलाइ त केही थाह छैन’
जेठानीले भनिन, ‘भो धेरै स्वाङ् पार्न पर्दैन, बिहेको दिन निधो भैसकेको छ रे, तँ चाहिं केहि थाह नभए जस्तो नाटक गर्छेस?’
जेठानी गाग्री बोकेर हिंडीन।
दिदी अलमलमा परिन, के गर्ने के सोच्नै सकिनन्। सुर बेसुरमा गाग्री भरेर बोक्न मात्रै के आँटेकि थिइन, सारा ब्रम्हाण्ड घुमे जस्तो भयो। त्यहीं लडिन, पानी जम्मै पोखियो, एकापट्टि कुच्चियो।  एकछिन पछि अलि सम्हालीइन, फेरी गाग्री भरिन, बोकेर घरतीर लागिन। सँधै बोक्ने गरेको गाग्री आज साह्रै गह्रौं लागेर आयो, सँधै हिँडेको त्यो बाटो पनि बिरानो, टाढा लाग्यो। मनभरी अनेकन प्रश्न लिएर बल्लबल्ल घर पुगिन।  तर सोध्ने त कसलाई सोध्ने? उनीसँग राम्रो मुखले बोल्ने घरमा कोही थिएनन्। लोग्नेलाई खोजिन, उनी बिहानै ड्युटी गएछन। दिनभरी के के सोच्दै बासिन, त्यो दिन काट्न बर्ष नै कटे जस्तो भयो। साँझ पर्यो, लोग्ने आए, कसरी कुरा शुरु गर्ने, अप्ठेरो पर्यो दिदीलाइ। बल्लबल्ल शब्द जुटाएर सोधिन, ‘घना दिदीले ब्यान भनेकी, तपाईं बिया गर्न लाउनुभछ रे हो?’
लोग्ने केहि अप्ठेरो मानेझैं गरेर हेरे अनि भने, ‘अँ बाले साह्रै कर गर्नुभो’,
दिदी अग्लो भीरबाट खसेझैं भइन, आँखा टिलपिल भए, भक्कानो छोडेर रुन मन लाग्यो, गहभरी आँशु लिएर रुन्चे स्वरमा सोधिन, ‘हाम्रै मैयाँलाइ ल्याउन लाउनु भको हो?’
लोग्नेले आँखा झुकाऊँदै भने, ‘हो’
दिदीले अब रुवाई थाम्न सकिनन्, अनि रूँदै सोधीन,’बा आमाले माने?’
लोग्ने केहि नभनी बाहिर निस्किए। दिदी भक्कानिंदै रोइन, त्यो साँझ देखि रुन थालेकी उनी भोलिपल्ट, पर्सिपल्ट सम्म पनि उनको रुवाइ रोकिएन। रुँदा रुँदै अचेत भएर ढल्थिन, फेरी ब्युतिन्थिन, फेरी सम्झी सम्झी रुन्थिन। न खाना खानु, न पानी पिउनु, न कोही उनलाई सोध्न आउंथ्यो। लोग्ने समेत त्यो साँझदेखि त्यो कोठामा फर्केनन्। दिदीको मन त्यसै मरेर गयो। एकमनले त सुटुक्क माइत जाऊँ जस्तो लागेको थियो, तर आफ्नै छोरीमाथि सौता हाल्ने आफ्ना बा आमा सम्झेर घृणा जागेर आयो। त्यसैले माइत जाने कुरा सोच्न छाडीदीइन। अब जाने त कहाँ जाने? यो घरमा पटक्कै बस्ने मन छैन। यसो खोजिन, आफुलाई माया गर्ने कोहि भेटिनन, कतै जाने ठेगाना पाइनन। के के सोच्थिन अनि रुन्थिन अनि ढल्थिन, होस् खुल्थ्यो, फेरी सोच्थिन, रुन्थिन अनि ढल्थिन।

एक्कासी नजिकै कतै नरसिंह बजेको सुनियो। दिदी त्यो धुनले झस्किंदै ब्युंझीइन, आत्तिइन। “लौ लौ अब ढिला भैसक्यो, छिटो गर” आँगन तीरबाट आवाज आयो। दिदीको मुटु फुत्केर हातमै आउला झैं गरेर धड्किन थाल्यो, असाध्यै डराइन। केही मेसो पाउन नै सकिनन्। पहिले जसरी उनलाई सम्हालिदिने पनि आज कोही थिएन। खोपीबाट चिहाइन, खड्ग बहादुर उही पुरानो कोट लगाएर उही पुरानो डोलीमा चढेर घरको तगारो कटिसकेका थिए। एक मन त कराएर ‘नजानुस’ भनूँ जस्तो लाग्यो दिदीलाई, तर आवाज निकाल्नै सकिनन्, त्यहीं ढलिन। होसमा आऊँदा आँगनमा चर्को आवाजमा रत्यौली घन्किंदै थियो। रत्यौली सुन्नासाथ राता सारी, गरगहनाले संझिएका स्त्रीहरुको तस्वीर आयो दिदीको मस्तिष्कमा, बेसुरमा सन्दुक खोलेर बिहेको सारी लगाइन, गहनागुरिया लगाइन, लाली पाउडर लगाइन र पछ्यौरीले मुख छोपेर तल आँगनमा ओर्लीइन। सबजना मग्न थिए रत्यौलीमा, कसैले उनलाई चिनेनन, उनले भने सबैको अनुहारमा हेर्न भ्याइन। जसलाई हेरिन, उहिप्रती रिस उठेर आयो। त्यहाँ बस्नै मन लागेन उनलाई अनि दौडिदै तगारो बाहिर पुगिन। एकपटक घरतीर फर्केर हेरिन, रिस उम्लेर आयो, थुक्छु भनेर बल गरिन तर ओठतालु सुकेकाले थुक नै आएन। अनि मुर्मुरिंदै हिंडिन। मनमनै बा आमालाई गाली गरिन, लोग्नेलाइ सरापिन। बहुलाई झैं एक्लै रूँदै कराऊंदै हिंडिन। कता जाँदैछु भन्ने उनी स्वयंलाइ थाह थिएन। तर हिंडीरहिन।

गहीरो गल्छीमुनी सुसेली हाल्दै लुकामारी खेल्दै राप्ती खोलो बगीरहेको थियो।  राप्ती खोलामाथिको नयाँसाँघु नेर पुगेपछी दिदी एकछिन बिसाइन। एकछिन टोलाइन, अनि फेरी उठेर फटाफट साँघु तरिन। साँघुपारी सानो बस्ती थियो, केहि पसल थिए।  दिदी कुनै एउटा पसल बाट केहि किनेर निस्किइन। र पुन: आएकै बाटो फर्कीइन। साँघुनेर आइपुगिन्, काठको साँघुछेउमा थुचुक्क बसिन। कापी र कलम किनेर ल्याएकी रहिछिन, एउटा पानामा के के सोच्दै केही लेखिन, च्यातेर भीरतीर फालिदिइन। फेरी अर्को पानामा केही लेखिन। रोकिंदै टोलाऊँदै केही लेखी भ्याएर पाना पट्ट्याइन। ओढिरहेको पछ्यौरा भुइँमा बिच्छ्याईन। चिठी, लगाएका गहना, पटुकी भित्रको थैली त्यही पछ्यौरामा पोको पारेर छेउमा रहेको खिर्रोको रुखको हाँगामा झुण्ड्याइदिइन। अनि खाली हात साँघु तर्न लागिन्। बीच भागमा पुगेपछी टक्क अडिएर यताउता हेरिन। उत्तर तर्फ पर्ने आफ्नो माइतीघर देखिन्छ कि भनेर तन्कीइन तर केहि देखिनन्। वरिपरि कोहि छन् कि भनेर हेरिन, कोही देखिनन् अनि काठको बारमा उक्लीइन, आँखा चिम्लीइन अनि “आमा” भनेर चिच्याऊँदै हाम फालिन।

यसरी बिना कुनै दोष, सानुमाया दिदीले पिडा भोगिन, अन्याय सहिन र अत्याचारै भएपछी दुखका साथ हामीलाई छोडेर गइन।

Photo Courtesy – Buddhi Gurung [Internet]

Advertisements

8 thoughts on “सानुमाया

  1. awesome brother, पढ्दाखेरी कथा त पानी बग्या झै सरर बग्यो.. एकचोटि पढ्न थालेसी रोकिन मन लागेन 🙂

    Like

  2. कथाको बिच तिरै अन्त्य यस्तो हुन्छ भन्ने थाहा हुदाहुदै नि कथाले तान्यो, छोड्नै मन लागेन। सायद यसैलाई विशेषता भन्छन होला कथाकारको। यसैगरी उम्दा कथा पढदै जान पाइयोस ।

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s