जाउँ दुधपोखरी (फोटो ब्लग)

image
दुधपोखरी

छिटै जनै पुर्णिमा आउन लागेको छ। त्यस दिन नेपालमा गोसाइँकुण्ड, दुधपोखरी लगायतका धेरै ठाउँमा मेला लाग्छ। नेपालका धेरै स्थान दुधपोखरी नामले चिनिन्छिन्। ती मध्य माथीको फोटोमा देखिएको दुधपोखरी कास्की, लमजुङ र मनाङ जिल्लाको सिमानामा अवस्थित हिमताल हो। दुरी यकिन गर्न नसके पनि यो ठाउँ पुग्न कास्कीबाट चार दिन लगातार हिँड्न पर्छ, लमजुङको भुजुङ् गाउँ हुँदै आउने भने दुई दिनमा पुगिन्छ भन्ने सुनियो। मनाङबाट पनि बाटो रहेछ तर कति समय लाग्छ भन्ने जानकारी पाउन सकिएन। कास्कीबाट तीनवटा बाटो छन, पहिलो सिक्लेस हुँदै, दोस्रो ताङ्तिङ् हुँदै, तेस्रो थुम्सिकोट हुँदै। हामी सिक्लेसको बाटो हुँदै गएका थियौँ। पहिलो बास सिक्लेस पछि दोस्रो दिनदेखि मानव बस्ती भेटिँदैनन्। त्यसैले आफ्नो बन्दोबस्तीका सामान आफैं बोकेर लैजानु पर्छ। यदि जाने प्लान बनाउनु भएको भए स्लिपिङ् ब्याग, ओछ्याउने म्याट, न्याना कपडा, मोजा, जुत्ता, चप्पल, अन्न, दाल, गुन्द्रुक, सुकुटि, नुन, चिनी, तेल, मसला, अचार, पकाउने र खाना खाने भाँडा, पानी बोक्ने भाँडा, हल्का तर अत्याधिक पौष्टिक पद्धार्थ भएका खानेकुरा (जस्तै सातु, मह, चकलेट, ओटमिल, चिउरा, चाउचाउ, दालमोठ), पिउने बानी भए दारु (धेरै जाडो हुन्छ त्यसैले), टर्चलाइट, चक्कु, लठ्ठी, चियापत्ती, आवश्यक औसधी, अतिरिक्त मोबाइल ब्याट्री, एउटा नोकिया ११०० फोन र एनटिसी र एनसेलको एक एक वटा ब्यालेन्स भएका सिमकार्ड, छाता, रेनकोट, केही थप प्लास्टिकका टाट, एउटा पाल जसरी पनि लैजान भुल्नु हुँदैन। सकभर अनावश्यक सामान नलैजानु होला।
यदि भारी बोक्न सकिन्न भने पोखरामा दैनिक एक हजार – पन्ध्र सय ज्यालामा भरिया पाउन सकिन्छ, दुई जनासम्मको बन्दोबस्तीका सामान एकजनाले बोक्न सक्छन्। गरिब भएपनि उनीहरु पनि मान्छे नै हुन, पैसा तिरेको छु भन्दैमा अनावश्यक भारी नबोकाइदिनु होला, खानेकुरा किन्दा उनीहरुको लागि पनि किन्नु होला। हामी जाँदा तिर्थयात्री हरुले भरिया हरुलाई गरेको ज्यादती देख्दा यीनीहरु पाप धुन जाँदैछन् कि थप पाप बटुल्न जाँदैछन् जस्तो सोचाइ आएको थियो, त्यसैले पहिल्यै भन्देको। सकभर दुधपोखरी पहिले पनि गएका भरिया लैजानुहोला।

image
भरिया हरु आफूभन्दा गर्हौँ भारी बोकेर यस्तो बाटोमा पनि कत्ति सजिलै हिड्छन।

प्रथमत: दुधपोखरी जाने प्लान बनाउनु अघि निश्चित गर्नुहोस कि तपाईँ लगातार ८-९ दिनको बाटो गर्हौँ झोला बोकेर हिँड्न सक्नुहुन्छ कि हुँदैन? ठिक्क ले हिँड्दा जाँदा ४ दिन, आउँदा ४ दिन, १ दिन थप। यदि हिँड्ने बानी छैन भने तपाईंलाई यो यात्रा एकदमै कष्टकर हुनेछ। त्यसमाथि थकान र कमजोरीले कसैकसैको खुट्टा फर्कने, बाउँडिने समस्या हुन्छ, कतिपय त हिँड्नै नसक्ने अवस्थामा पुग्छन्। त्यस्तो अवस्थामा न अघि जानु न फर्कनु हुन्छ, तपाईँले गर्दा तपाईसँग गएका साथी हरुलाई अप्ठेरो पर्नसक्छ। यो क्षेत्रमा फोन मुस्किलले लाग्छ कतै कतै, फोन गरेर राहत मगाएर फर्किन्छु भन्ने नचिताए पनि हुन्छ। त्यसैले आफु शारीरिक रुपमा सक्षम छैन जस्तो लाग्छ भने यति लामो पदयात्रा नगरेको नै राम्रो।

image
सिक्लेस

सबैभन्दा रमाइलो समुह बनाएर जाँदा हुन्छ, मन मिल्ने साथीहरू सँग जाँदा यात्रामा समय बितेको थाहै हुँदैन, थकान पनि त्यति महशुस हुँदैन। तर यो रुटमा साथीहरुको सामुन्ने हिरो बन्छु भन्दै बाटै नचिनी अगाडि अगाडि जेपिटी बाटो नहिड्नु होला। बर्षमा एकपटक मात्रै हिँडिने बाटो भएकाले घाँसले बाटो पुरिएर नदेखिने भएका हुन्छन्, त्यस्तो अवस्थामा एक्याप ले गाडेका पहेँलो रङ्गका पोल हरु हेर्दै अघि बढ्न सकिन्छ, बाटो चिनेको भरिया लैजानु भएको भए धेरै सजिलो हुन्छ, नत्र अरु तिर्थयात्री हरु पनि हिँडीरहेका हुन्छन्, उनैको साथ लाग्नु  हुन्छ।

image

एक्यापले पदयात्री नहराउन भनेर ठाउँ ठाउँमा साना पोल गाडिदिएका छन, एउटा पोलमा पुगेपछि अर्को पोल देखिन्छ, पहिलोपटक जानेहरु तीनै पोल हेर्दै बाटो पहिल्याउँदै जाने हो। समाजसेवीहरुले एकदिनको बाटोको दुरीमा पाटिहरु पनि बनाइदिएका छन, धेरैजसो पाटि खानेपानीको सुविधा भएको ठाउँमा अवस्थित छन, र केहीमा शौचालयको पनि ब्यवस्था छ। कतै दाउराको पनि ब्यबस्था हुन्छ तर ढुक्क भएर जानुभन्दा आफैसँग एउटा सानो ग्यास या मट्टितेल स्टोभ लैजानु ठिक हुन्छ। एउटा अचम्मलाग्दो कुरा के देखें भन्दा जति उचाइमा गयो उति खाना पाक्न समय लाग्दो रहेछ। हामी जाँदा चिया पाक्न लगभग एक घण्टा लागेको थियो। भात पकायो, तल तल पाक्छ माथिको काँचै रहन्छ, त्यसैले त्यस्तो समयमा भातको साटो अन्य केही खान बेस हुन्छ। भोलीपल्ट पाटि छोड्नु अघि पाटि सफा गरेर, आफुले फ्याँकेका फोहर हरु जलाएर मात्र हिड्नु होला।

image
पाटि

यस्ता उचाइमा जाँदा सबैभन्दा ठुलो ब्यवधान भनेको लेक लाग्नु हो। श्वासप्रश्वासमा समस्या आउनु, मुटुको धड्कन बढ्नु, बान्ता आउनु, जरो आउनु लेक लाग्दा का लक्षण हुन। जोमसोम जाँदा लेक लागेका हरुलाई दुधपोखरी जाँदा लेक लाग्ने सम्भावना प्रवल हुन्छ किनकि जोमसोम २७०० मिटर उचाइमा छ मने दुधपोखरी जोमसोम को लगभग दोब्बर यानिकी ५३०० मिटर उचाइमा पर्छ। त्यसैले धेरै आत्तिएर नहिड्नु होला, धेरै सुस्त पनि नहिड्नु होला, बिस्तारै एउटै गतिमा हिँडिरहनु होला, बिश्राम थोरै मात्र लिनुहोला, सकभर उभिएरै बिसाउनुस, थुचुक्कै चाहिँ नबस्नु होला। नत्र बसेको बसेइ भइएला फेरी। क्याण्डी, ल्वाङ्, सुकमेल, लसुन, अदुवाको टुक्रा गोजीमा राखिराख्नु होला, हिँड्दा केहि न केही मुखमा च्यापिराख्नु होला। आमालाई तीलको अचार बनाइदिनु भन्नु होला। यसले लेक लाग्न कम गर्छ। सकभर धुम्रपान नगरेको राम्रो, गरे पनि एकदमै न्युन मात्रामा गर्नुहोला। लेक लागेको फिल भए थप उचाइमा नजानु होला। एकछिन बिसाएर कोशिश गर्नुहोला, सक्दिन झैँ लाग्यो भने फर्किएको राम्रो। तर फर्किने अवस्था आउने छैन भन्ने मलाई लाग्छ किनभने बाटोमा बिभिन्न उमेर, किसिमका तिर्थयात्री भेटिनेछन। बृद्ध बृद्धाहरु टुँइ टुँइ हिँडेको देखेपछि तपाईको आत्मबल त्यसै बढेर जानेछ।

image

बाटो पुरै उकालै उकालो हो, समतल बाटो को त अपेक्षा नगरे पनि हुन्छ। उकालो पनि नाक ठोकिने ठाडो उकालो। फर्किँदा चाहिँ ओरालै ओरालो। दोस्रो दिन हिँड्न एकदमै मुस्किल हुनेछ, पहिलो दिन एक्साइटमेन्टले हिँडिएला, त्यसको प्रतिफल भोलीपल्ट नै देखिन्छ। बेकारमा आएछु जस्तो हुन्छ। उच्च पहाडी भेकका जंगल कट्न गार्हो हो त्यसपछिको माहौल फेरी अर्कै हुन्छ। एक त हिड्ने बानी पर्न थाल्छ, अर्को मुखै अगाडी हिमाल र सुन्दर दृश्य देख्न थालेपछि थकान सकान चट् हुन्छ।

image

image

image

तेस्रो दिनदेखि जंगल सकिन्छन, ससाना बुट्यान मात्रै हुन्छन्, पर पर सम्म हरिया डाँडा, डाँडामा भेडा चरेका, जता हेर्यो उता जंगली फुलै फुल मात्रै, अनि टिलिक्क टल्केका हिमाल देखेपछि तपाईंलाइ एकपटक त स्विजरल्याण्ड पुगेछु कि झैँ लाग्नेछ। यदाकदा भेडीगोठ हरु देखिन्छन्, भेडीगोठालाहरु गोठबाट बटुवालाइ जिस्काउँछन। उनीहरू यो सिजनमा त्यता उक्लिँदा रहेछन्, उनीहरूको अनुसार जंगली फुल जेठ असार देखी फुल्न शुरु गरेर भदौ असोज सम्म रहँदा रहेछन्, त्यसपछि त्यो पुरै भेक हिउँले ढाकिने रहेछ। भदौ अन्तिम – असोज शुरुका हप्तामा सबैभन्दा बढी फुल फुल्ने र ती फुलका बिषालु बासनाले मान्छे, भेडाको लठ्ठीएर ज्यान समेत जाने हुँदा उनीहरु पनि भेडा लिएर भदौ दोस्रो हप्तातिर बेसी झर्दा रहेछन्। त्यो क्षेत्रमा दुधपोखरी मेला भर्न जाने तीर्थालु र एक दुई भेडिगोठाला बाहेक अन्य मानवीय चहलपहल शून्य रहेछ। कहिले जनै पुर्णिमा ढिलो पर्यो भने फूलका बासनाले तिर्थालुहरु बाटैमा ढल्दा रहेछन्। त्यसैले तपाईँ हरुपनि राम्रा फुल देखेर, छुने टिप्ने या बासना सुँघ्ने काम नगर्नु होला। सकभर मास्क लगाउनुस। टाढैबाट हेर्न, फोटो खिच्न केही नहोला।

image

image

image

image

image

image

image

image

image

image

image

यात्रा अबधीमा बिभिन्न बाटो हुँदै आएका तिर्थालुहरु मुख्य बाटोमा मिसिँदा बाटो भीड हुन सक्छ। बर्षको एकपटक मात्रै प्रयोग हुने बाटो भएकाले बाटो भत्केको, बिग्रेको हुन सक्छ। खुट्टा मात्रै टेक्न मिल्ने साँघुरा बाटो त्यसमाथि माथी पहरो, तल ठाडै भीर, एकदमै डरलाग्दो बाटो हुनेछन्। त्यसमाथि चिप्लिने डर उत्तिकै हुन्छ। तर नडराइ, नआत्तिई एक अर्कालाई पालो दिई बिस्तारै हिड्नुहोला।

image

image

जुत्ता चप्पलको बारेमा भन्नुपर्दा यात्राकै लागि भनेर नयाँ किनेर लैजानु भन्दा प्रयोग गरिरहेको पुरानै लैजाँदा हुन्छ तर दुवै बलियो अवस्थामा हुनपर्छ, माथि पुगेर फाट्यो या चुँडियो भने अप्ठेरो पर्नजान्छ। पुराना लैजानु भनेर यस अर्थमा भनें कि त्यो कठिन बाटोमा बानी परीसकेका जुत्ता चप्पल लगाउनु ठिक हुन्छ, नयाले खुट्टा डस्ने, घाउ बनाउने सम्भावना हुन्छ। र बाटैभरी आफुले चाहे अनुसारका जुत्ता, टिसर्ट, कट्टु मात्रै लगाउँछु भन्ने नसोचे पनि हुन्छ, तपाईको ठाउँमा अहिलेको मौसम जेजस्तो भएपनि त्यहाँ धेरै फरक मौसम छ। जति माथि उक्ल्यो उति जाडो बढ्दै जान्छ, यात्राको आधाजसो दिन भर पानी पर्छ, गतिलो रेनकोट र झोला छोप्ने कुरा नलैजानु भएमा भिजेर हिड्नै गार्हो हुन्छ। झोला भिजेर दोब्बर बजनको हुन्छ। बाटोमा अनेकन साना खोला तर्नुपर्छ, त्यसैले जुत्ता मात्र लगाउन सम्भव हुदैन।

image

लैजान त जुका नलाग्ने औसधी पनि लगे हुने हो तर जुका यति लाग्छन् कि औसधीले धान्नै सक्दैन। जुका देखेर सातो जान्छ भने जाने बारेमा पनि नसोच्दा हुन्छ किनकि जुका यति लाग्छन कि भनीसाध्य हुँदैन, रुख रुखबाट बर्षा हुन्छ जुकाको। एक, दुई पिन्ट रगत त जुकालाई चढाउँछु भन्ने जाने हुन्छ। तर उचाइमा पुगेपछि जुका त लाग्दैनन्, तर तीनले टोकेको ठाउँमा चिलाएर असह्य नै हुन्छ। जुकाले टोकेको ठाउँमा यति चिलाउँछ कि कन्याउँदा स्वर्गीय आनन्द आउँछ तर दुखको कुरा कन्याउन लाई रोकिन नै पाइदैन, केही गरी ढिलो भएर पाटि सम्म पुगिएन भने जंगलमै बास बस्नुपर्ने हुन्छ, संरक्षित क्षेत्र भएकाले जंगली जनावरको पनि उत्तिकै खतरा हुन्छ।

image
८ दिनको अनवरत हिँडाइले सुन्निएको खुट्टा र जुकाले टोकेका डाम

पाल सकभर बलियो लैजानु होला। यदि केही गरी पाटि भेटीएन या पाटिमा ठाउँ पुगेन भने पाल टाँगेर बस्नुपर्छ। टेन्ट जस्तो हुने भने अझ सजिलो, तर छ तीरैबाट पानी थेग्ने हुनुपर्छ। किनकि जति माथि पुग्यो उति घना बर्षा र घना भीड हुन्छ। सबैभन्दा माथिल्लो बास बस्ने ठाउँमा त यति भीड हुन्छ कि पाटि भीत्र खुट्टा टेक्ने ठाउँ पनि हुँदैन। हामी जाँदा पसल पनि हुन्छ, भेडाको मासु पनि बेच्छन भनेर सुनाएका थिए तर त्यहाँ पुग्दा केही भेटिएन। हामीले गतिलो पाल नलगेको हुनाले ढुंगाको ओतमा चुल्हो बनाउन बाध्य थियौँ।

image
पाटि मा बास नपाए यस्ता गोठमा आफ्नै पाल लगाएर बास बस्नपर्ने हुन्छ।

जाँदा अन्तिम बास बस्ने ठाउँलाई फुर्जु भन्छन्, लमजुङ जिल्लामा पर्ने यो ठाउँलाई मर्स्याङ्दी नदीको एउटा साखा नदिले मनाङ जिल्लासँग छुट्याएको छ। । त्यो ठाउँमा त राम्ररी सुत्न नि पाइदैन। बल्ल बल्ल ठाउँ खोजेर टुसुक्क बसेर यसो निदाउन लाग्यो, मान्छेहरु सबजना हिँड्न तयार। मध्यरातको १ बजे मान्छेहरु दुधपोखरी नुहाउन हिँड्छन्। ढिलो गरी गएमा तर्साउन दिन्छ भन्दा रहेछन्। हामी भुत सुत नमाने पनि बाध्य भएर आँखा मिच्दै दुधपोखरी यात्राको अन्तिम उकालो उक्लिइयो। पर आकाशमा नागबेली आकारमा ताराहरु बिस्तारै चले जस्तो देखिन्थे, कुनै तारा माथि माथि जाँदै, कुनै तारा तल तल झर्दै, के रहेछन, तर्साउँछ त भनेकै थिए, कतै सार्है ढिलो भएकाले राँके भुतले तर्साएको त होइन? जस्तो लाग्न थाल्यो। के हो त्यस्तो भनेर सोधेको मान्छे टर्च बाल्दै हिँडेका हुन पो भन्छन्। आम्मामामा अझै त्यत्रो उक्लिन पर्ने रहेछ। घरिघरि त जान्न भनेर त्यहीँ थुचुक्क बसिदिउँ जस्तो हुन्थ्यो। बिसाएर वरिपरि हेर्दा देखिने अजंगका काला पहाडहरु नै तर्साउन काफी थिए। लगभग ७ घण्टाको अनवरत मर्निङ वाक पछि अन्ततः दुधपोखरी ताल देख्दा कुनै युद्ध नै जितेजस्तो हर्ष हुँदोरहेछ।  त्यो हिउँ पग्लेर जमेको पानीमा डुबुल्की मार्दा प्राण जाँदाजाँदै बाट जोगियो, अमर रहुन ती जसले ज्याकेट बनाए। तर हिड्ने बानी परिसकेको भएर होला, यही हो गन्तव्य, अब फर्कनु पर्छ अब भनेको सुन्दा निराश पनि लाग्छ। अझै माथि जान पाए जस्तो लाग्दोरहेछ। कतिपय ठाउँले यस्तो मोहनी लगाइदिन्छन कि यतै घर बनाएर बस्न पाए जस्तो सोच आउँछ।

image
Dudhpokhari

image

image
कालो ताल।

दुधपोखरी जाँदा मैले केही चाखलाग्दा कुरा देखें। पहिलो थियो ‘बार्ह बजे खोला’, बाटोमा एउटा सानो खोला जसमा पानी बगेको थिएन, धेरै नै मानिस हरु त्यहाँ बिसाएर बसेका थिए। हामी त्यहाँ पुग्दा पौने बार्ह भएको थियो, त्यहाँ पुगेर बुझ्दा त्यो खोलामा बार्ह बजेदेखि एक बजेसम्म मात्र पानी बग्छ भन्ने सुनियो। शुरुमा त पत्याएर लागेन, तर पनि बार्ह बज्न लागेको थियो, त्यसैले एकछिन कुरेर हेरौं न भनेर बसियो। नभन्दै बार्ह बज्दा त कलकल गर्दै पानी बग्न पो थाल्यो। बैज्ञानिक कारण के थियो कुन्नि, हामी भने अच्चमित भयौँ। अर्को थियो एउटा सानो केटो, लगभग त्यही ७-८ बर्षको हुँदो हो, त्यसलाई मैले अघिल्लो दिन देखी देखिरहेको थिएँ। बिचरा यति सानो बाबुलाई यस्तो ठाउँमा किन ल्याएका होलान जस्तो लागेको थियो। एकपटक मेरो नजिक पर्दा बाबु तिमी कोसँग आएको भनेर सोधेँ, उसले ‘एक्लै’ भन्यो। म छक्क परें, मेला हेर्न जान लागेको? भनेर मैले सोधेँ, ‘होइन, पैसा टिप्न जान लागेको’ भन्यो अनि हरायो। दुधपोखरीमा स्नान गरेर, भएभरका पाप पखालेर पवित्र भइ निस्केर कपडा लगाएर घाममा बसेर यताउता नजर डुलाउँदा पो बुझें त्यो फुच्चेका कुरा। भेडीगोठमा बस्ने फुच्चेहरु दुधपोखरीमा तिर्थालुहरुले चढाएको पैसा टिप्नलाई उति टाढा सम्म पुग्दा रहेछन्। पछि त्यो फुच्चे लाइ बोलाएर कति टिपिस भनेर सोधें, उसले भन्यो ‘पचास र दुई’। बाउन्न रुपैयाँको लागि त्यो सानो ज्यान उति टाढा हिँडेर आएर त्यति चिसो पानीमा बारम्बार डुबुल्की मार्दै पैसा टिप्नको साटो हिजै बाटोमा मसँग मागेको भए मै दिँदो हुँ भन्ने लाग्यो। तेस्रो कुरा चाहिँ एक्यापले खटाएका स्वयं सेवकहरु मेलामा तिर्थालुहरुले फ्याँकेका फोहोर जम्मै टिपेर सुरक्षित ठाउँमा लगेर जलाएर पोखरी वरिपरि सबै सफा बनाएर मात्रै फर्किँदा रहेछन्।

image
भेडिगोठमा भेटेको बालक

दुधपोखरी मेलामा खासै केही त नहुँदो रहेछ। हामी पनि के के न हुन्छ होला मेलामा भन्ने सोचेका थियौँ, त्यहाँ त पोखरी पुग्ने, डुबुल्की लगाउने, जनै मन्तर्ने, जनै फेर्ने अनि फटाफट लुगा लगाएर फर्किने मात्रै हुँदो रहेछ। खासै स्पेशल अरु केही नहुने रहेछ। तर जब फर्किएँ तब देखें पृथ्वीको साक्षात स्वर्गीय झलक। आउँदा त अँध्यारो थियो, केही देखिएन, जाँदा त जता हेर्यो उतै स्वर्ग जस्तो। जाँदा तर्साएका ती काला पहाड हरु हिमाल रहेछन्, सुर्य को किरण परेर सुनौला देखिएका। जता फर्केर जे हेरे पनि फोटो खिच्न मन लाग्ने। तर दुखको कुरा, मोबाइल र क्यामरा दुवैमा ब्याट्री लगभग सकिएको थियो। त्यसैले तपाई हरु जानुभयो भने केही थान अतिरिक्त ब्याट्री या पावर बैंक लिएर जानु अनि आवश्यक बेलामा मात्रै प्रयोग गर्नुहोला।

image

image

image

image

फर्किँदा सकभर जुन बाटो आउनुभएको थियो त्यही बाटो फर्किनु होला। आएको बाटो र थकाई सम्झिँदा त्यो बाटो फर्केर जानै नपरोस् जस्तो हुन्छ तर सबै बाटो उस्तै हुन्। हामी फर्किँदा नयाँ बाटो हुँदै फर्किने भनेर नयाँ बाटो आयौँ, तर बिचमा कतै बाटो बिराएछौँ, कता हो कता पुगेर हरायौँ, साँझको समय त्यसमाथि झरी, कतै केही देखिन्न, त्यो रातभर भिजेर बस्नुपर्यो, त्योपनि भोकै।

image

अर्को आग्रह के गर्दछु भने, लगेका खानेकुरा फर्कने बेलासम्म बढी भएको जस्तो लाग्यो भने त्यतिकै फ्याक्नुभन्दा भेडिगोठाला हरुलाई दिनु होला। तपाईले उनीहरुलाई सहयोग गर्नुभयो भने उनीहरूले पनि तपाई हरुलाई सहयोग गर्नेछन्, साथसाथै तपाईँ पछि गएका हरुलाई उनीहरुले सहयोग गर्न सक्छन।

image

यदि कोही यो ब्लग पढेर जानुभयो भने दोस्रो दिनदेखि फर्केको दिनसम्म मलाई सम्झिँदै गाली गर्न थाल्नुहुनेछ, तपाईको हालत, जुकाले टोकेका डाम देखेर तपाईकी आमाले पनि मलाई सराप्नुहुनेछ। तर त्यसको केही दिनपछि जब त्यो यात्राको बारेमा सम्झिनुहुनेछ, त्यो एडभेन्चर फिल गर्नुहुनेछ, तपाईंका खुल्ला आँखाले प्रतक्ष देखेका ती स्वर्गिय दृश्य सम्झिनुहुनेछ, तब तपाईं मप्रति आजीवन आभारी रहनुहुनेछ।

शुभयात्रा!

image

थप जानकारी का लागि तलका लिङ्क हरुमा क्लिक गर्नुहोला
Nepal » Trekking in Nepal » Annapurna Region » Dudh Pokhari Trekking

Plant Hunting And Pilgrimage Expedition, August 2015

My Trek to Dudhpokhari
ताङ्तिङ् गाउँको फेसबुक पेजमा राखिएका दुधपोखरी यात्रा का तस्वीर हरु

Advertisements

5 thoughts on “जाउँ दुधपोखरी (फोटो ब्लग)

  1. बबाल! फोटा झन हरिबबाल! यहाँ पुग्ने सोच छ, र कुनै दिन पुगिएला पनि। जानुअघि फेरि पढ्नेछु.. तयारीका लागि। यात्राका धेरै पाटा समेट्नु भएकोमा धन्यवाद। 🙂

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s