एउटा सम्बन्धको अन्त्यष्टि पछि………

image

त्यसदिन दिमाग बशमा थिएन। अहिले सम्झिदा लाग्छ त्यो दिन सायद मैले आफुलाई सिनेमाको नायक ठानेको थिएँ जसले मायामा धोका पाएको छ र उसलाई जे गर्न पनि छुट छ। आर्यघाट नै जान्छु भन्ने मेरो कुनै योजना थिएन तर दिमागमा के लहड चल्यो म आर्यघाट तर्फ हानिएको थिएँ। सम्बन्धको चिता जल्दैगर्दा कपाल खौराउने मेरो कुनै योजना थिएन तर के सनक चढ्यो मैले कपाल खौराएँ । आर्यघाटबाट घर पुग्दासम्म मैले त्यस सम्बन्धको किरिया गर्ने सोच बनाएको थिएँ (अर्को लहड) ता की अल्पायु मै मृत्युबरण गरेको मेरो सम्बन्धले भविष्यमा ‘भुत’ बनेर नतर्साओस्। सोहीअनुरूप मैले हिन्दु धर्मसंस्कार अनुसार १३ दिन किरिया बस्ने निर्णय गरें।

पुस महिनाको मीनपचासको जाडो भए पनि मैले तातो पानी तताएर नुहाउने झन्झट गरिन। चिसै पानीले खल्को नुहाएँ। केहि बेर अगाडी सम्बन्धको चिता तापेर तातो भएको शरीर एक्कासी झनन्न भो, टाउको झर्ला जस्तो भो, शरीर भरि रुखकटहरको बोक्रा सरि काँडा उम्रिए। म लगलग कामेको थिएँ, दाँत किरकिर बजेको आवाज प्रष्ट सुन्न सक्थें। हतपत न्यानो लुगा लगाउन दराज खोलें। सबैभन्दा पहिले रातो स्वेटर खोजें। देखिन। झल्याँस्स भएँ। मन भित्रबाट आवाज आयो ‘स्वेटर त तैंले अघि नै पोलेर आइसकिस् फेरी के खोज्दैछस् ?’ त्यो आवाज यति धेरै रुखो थियो की स्वेटर पोलिरहँदाको समय भन्दा ज्यादा मुटु पोलिरहेको थियो। कस्तो कन्ट्रोभर्सी !!! एकातिर शरीर लगलग कामि रहेको छ अर्को तिर मन भत्भत पोलिरहेको छ। भित्रभित्रै डाह भैरहेको थियो मानौं कसैले एसिडमा मेरो मुटु चोपलिदिएको छ। दराजबाट झिकेर केहि न्यानो लुगा लगाएँ तर न्यानो भएन । लुगाहरु थप्दै गएँ तर पनि न्यानो भएन। म अझै पनि कामिरहेको थिएँ। एकपटक आफैलाई प्रश्न गर्न मन भयो आखिर म कस्तो न्यानो खोजिरहेथें ? सायद त्यति बेला मलाई उसको अँगालोको न्यानोको आवश्यकता थियो।

·         

किरिया बसेकाले एक छाक छोड्नुपर्छ भन्ने मलाई थाह थियो त्यसैले त्यो साँझ केहि नखाने सोच बनाएँ। अर्को कुरा केहि खान मन पनि कहाँ थियो र? जति गर्दा पनि शरीर तात्न सकेको थिएन । केहि पिउन पाए हुन्थ्यो जस्तो लाग्यो । कफी सम्झिएँ, ठुलो गिलाँस भरि कालो कफी बनाएर पिएँ । केहि राहत मिल्यो । शरीर ताते जस्तो भयो । दिमागले कुराहरु प्रोसेस गर्न सक्ने भयो । पर्दा उघारेर झ्यालबाट बाहिर हेरें । लोडसेडिङ थियो, सडक सुनसान । कतै मैनबत्ति पिलपिल गर्दै थिए,  केहि घरहरुमा इन्भर्टरबाट चलेका बत्ति मधुरो बल्दै थिए, लाग्थ्यो छिटै तिनीहरु पनि दम तोड्नेवाला छन्,। केहि घरहरु निस्पट अन्धकार थिए । खाना खाइसकेर न्यानो सिरक भित्र पसिसकेका हुँदाहुन् । त्यसपछि एकाएक साँझमा घटेका दृश्यहरुको फ्ल्यास ब्याक आउन थाल्यो । कसरि म आवेसमा सबै समानहरु झोलामा हालेर घरबाट निस्केको थिएँ । आर्यघाटमा के के भयो । कसरि चिता तयार पारेको थिएँ , कसरि पानाहरु च्यातेर तह तह मिलाएको थिएँ । सबै दृश्य एक एक गर्दै आँखा अगाडी नाच्न थाले।

कपाल खौरिएको समयमा गएर दृश्य टक्क अडियो । झल्याँस्स भएँ, पछाडी फर्केर ऐनामा मुडुलो टाउको हेरें, एउटा रौँ समेत बाँकी थिएन । ऐना अगाडी आफुलाई नै देख्दा तर्सिएको थिएँ । हात सर्रर मुडोलो टाउकोमा डुलाएँ कस्तो अनौठो लाग्यो । गाईको जिब्रोले हात चाट्दा जस्तो अनुभव हुन्छ ठिक त्यस्तै । अनि ‘तेरे नाम’ फिल्मको राधेलाई सम्झिएँ । एउटा दृश्यमा उसले पनि आफ्नो मुडोलो टाउको ऐनामा यसरि नै हेरेको थियो । मलाई निकै मन परेको फिलिम हो तेरे नाम, हरेक पटक हेर्दा रुवाउँथ्यो । कति माया गर्थ्यो उ निर्जलालाई , मैले जस्तै । तर मलाई त्यो फिल्मको अन्त्य कहिले मनपरेन । अन्तिममा उनीहरु मिल्न पर्ने थियो, अफसोच राधे पागल भयो, निर्जलाले बिष खाइ । आफुलाई खुसि बनाउनको लागि सोच्थें की यो नाटक हो, कसैको मनगढन्ते कल्पना हो, हामी बीच यस्तो हुन सम्भव छैन किनभने हामी वास्तविक हौँ । हामी दुइलाई एक हुनबाट कसैले रोक्न सक्तैन जस्तो लाग्थ्यो । म राधेलाई दया गर्थें, आफै राधे हुन पुगें, दुखको कुरा मलाई दया गर्ने कोहि थिएन ।

·         

अचानक आफै फ्ल्यासब्याकमा गएँ, बहिनीको तिखो स्वर कानमा गुन्जियो । भान्सामा हुनुभएकी ममीलाई उ मेरो कोठाबाट कुरा लगाउँदै थिइ ‘ममीssssई दाइ एक घण्टादेखि ऐना हेरेर कपाल मिलाउँदै छ, डेटिङ जान लागेको जस्तो छ । बहिनि ममीसित मेरो कुरा लगाएर गालि खुवाउन पाउँदा मज्जा मान्थी । कहिलेकाहीँ त लाग्थ्यो उ मेरी सौताने आमाकी छोरि हो ।

मैले झापारें, ‘चुप लाग् ! सानी मान्छे भएर बढ्ता बोल्दि रैछे, क्याम्पस जान लागेको देख्दिनस?’ यो कुनै दिनको घटना थियो जति बेला म उसलाई भेट्न भनेर तयार हुँदै थिएँ।

‘तिमीलाई छड्के तिरबाट कपाल उठाएको खुब सुहाउँछ, संधै यस्तै गरि कपाल मिलाउ है’ उसले भनेकी थिइ। म कुनै आज्ञाकारी बालक जसरि उसको हरेक कुरा मान्थें। सायद मायाको शक्ति भनेकै यहि हो। माया गर्ने मान्छेले बिष खाउ भने पनि हाँसीहाँसी पीइन्छ की जस्तो लाग्ने। कस्तो खुसि लाग्थ्यो उसले यस्तो गर उस्तो नगर भन्दा लाग्थ्यो कोहि छ जो मेरो बारेमा ख्याल राख्छ। म के गर्छु, के लगाउँछु, के खान्छु, कहाँ जान्छु यो सबको चिन्ता गर्दिने कोहि हुँदाको अनुभूति नै बेग्लै हुँदो रैछ। अफसोच आज मसंग न उ थिई न मेरो कपाल। आफ्नो रुप त्यो दिन जति विकृत कहिले लागेन।

        

ऐनालाई हेरीरहंदा अर्को दृश्य आयो कतैबाट। हामी कतै जानको लागि तयार हुँदैछौ। उ त्यहि ऐना अगाडी आफुलाई सजाउँदैछे, म उसलाई हेरिरहेको छु। उसले पहिला कपाल कोरी, त्यसपछि अनुहारमा केहि क्रिम लगाई, अनि पाउडर, त्यसपछि आँखामा गाजल, अनि ओंठमा लाली र निधारमा टिका। त्यसपछि उसको सिउँदोमा मेरो नामको सिन्दुर भरि। म हेरीरहेको छु।

‘के हेरेको त्यसरी ? कहिले देख्न नपाएको जस्तो ?’ उ सोध्छे।

म भन्छु ‘तिमीलाई हेरेको नि, जब तिमी ऐना अगाडी बसेर आफुलाई सजाउँछौ मेरो नजर तिमीबाट हटाउनै सक्तिन। तिम्रो हरेक शृंगारमा म आफुलाई पाउँछु, तिम्रा यी चुरा, निधारको टिका अनि सिउँदोको सिन्दुरले चिच्याई चिच्याई तिमी मेरी हौ भनेर संसारलाई सुनाइ रहेका छन् जस्तो लाग्छ अनि म तिमी तिर झन् आकर्षित हुन्छु।’

‘कुरा कत्ति आउँछ है तिम्लाई? धेरै रोमान्टिक बन्न पर्दैन आउ बरु मेरो ब्लाउजको डोरी बानिदेउ। अस्तिको जस्तो नकस्साउ है, सास नै फेर्न गाह्रो भएको थियो|’ उसको जवाफले मलाई झनै जिस्काएको जस्तो लाग्छ, आज्ञा शिरोपर गर्दै उसको कपाल पन्छाएर म ब्लाउजको डोरी कस्न थाल्छु।

अचानक सडकमा कुकुर भुक्यो अनि मेरो कल्पनाको दृश्य बिलिन भयो। म रन्थनिएँ, पिडा भयो असहिय पिडा भयो, ऐना अगाडीको आफ्नो रुप मनपरेन। भन्छन् नि रिस उठ्यो भने ऐना हेर्नुस् रिस मर्छ। तर उल्टो भयो, मलाई ऐना देखि नै रिस उठ्यो किनभने यस्ले त्यी सबै यादहरुलाई फेरी बल्झाइदियो, मलाई थप पिडा दियो। मुट्ठीकसेर जोडले ऐनामा हानें, ऐना झर्यामझुरुम भयो। ठ्याकै फिलिमहरुमा देखाए जस्तै  हात काट्यो अनि रगत बग्न थाल्यो तर अफसोच मेरो घाउमा आफ्नो सलको फेरो च्यातेर बाँध्न उ आइन। भित्तामा ढाडलाई अड्याएर टुक्रुक्क बसें। घुंडामा घोप्टिपरेर कति बेर रोएँ पत्तो भएन। केहि बेर पछि चिसो भएको महसुस भयो। भुइँबाट उठेर खाटमा पल्टिएँ। आँखामा निन्द्रा थिएन। उसको तस्विर हेर्न भनि मोबाइल खोलें, ब्याट्री सकिएको रैछ। यस्तो लाग्यो संसार भरिका तत्व मेरो बिरुद्धमा षड्यन्त्र गर्दैछन्।

तर अचानक किन यस्तो हुँदैछ? जे हुन्छ राम्रोको लागि हुन्छ रे। तर यस बाट के राम्रोको अपेक्षा गर्नु ? के राम्रो भएको छ र मलाई? सम्झी सम्झी रिस उठ्थ्यो। उसले मलाई धोका दिन पछाडीको कारण बुझ्न चाहन्थें। म कहाँ नेर चुकें त्यो पत्ता लाउन चाहन्थें। जान्न मन लाग्थ्यो के उसले मलाई कहिल्यै माया नै गरिन त? के उसले केवल प्रेम गरेको नाटक गरेकी थिई। यस्तै यस्तै कुरा मनमा खेलाउँदै मैले त्यो रात छर्लंग बिताएँ।

        

भोलिपल्ट देखि एक छाक मात्र त्यो पनि अलिनो खाने भन्ने थाह थियो। म सकेसम्म यो रित पुरा गर्न चाहन्थें। त्यो भन्दा पनि ठुलो समस्या मलाई खौरिएको टाउको लुकाउन थियो। जाडोको बेला भएर सजिलो भयो। सर्लक्क टाउको ढाकिने उन को टोपी लगाएँ। टोपी लगाउँदै गर्दा मैले त्यो ढाका टोपी सम्झिएँ जुन मैले हिजै सद्गद् गरेर आइसकेको थिएँ। मन अमिलो भयो। के जरुरि थियो र ढाका टोपी पोल्न ? नडढाएको भए म अझै पनि त्यसको बुट्टा हेर्न पाउने थिएँ। त्यी बुट्टा स्पर्श गर्न पाउने थिएँ। त्यी बुट्टाहरुको मतलब मैले कहिल्यै बुझ्न सकिन। मलाई लाग्छ हरेक टोपीमा हुने बुट्टाको फरक मतलब हुन्छ। होइन भने किन ममी मामाको लागि टोपी किन्दा छानी छानी बिशेस बुट्टा भएका टोपी मात्र किन्नुहुन्थ्यो? के बुट्टाहरु टोपीलाई केवल आकर्षक देखाउनको लागि मात्र हुन त? के उसले बुट्टाहरुको बारेमा बुझ्थी र मलाई त्यो कुनै बिशेस बुट्टा भएको टोपी उपहार दिएकी थिइ? फेरी घनचक्कर भयो। सायद म आवश्यकता भन्दा बढी नै सोच्ने भएको थिएँ।

जीवनको सबै भन्दा ठुलो व्यंग भनेको ‘समय’ होला। म चित्कार गर्थें ‘ए समय कमसेकम १ मिनेटको लागि त रोकिएर मेरो मृत सम्बन्धको शान्तिको खातिर मौनधारण गरिदे।’ तर उ रोकिंदैन थियो। उसलाई न मेरो मतलब थियो न मेरो सम्बन्धको। उ आफ्नै गतिमा चल्दै थियो। म लडेको बेला कठै भनेर उ उठाउन आएन। म कुन हालतबाट गुज्रिंदै थिएँ उसलाई सबै थाह थियो तर उसले दया देखाएन। सायद समयको कुनै मुटु हुँदैन। यस्लाई दया, माया, दुख सुख, पिडा, आँसु, हाँसो भन्ने केहि थाहा हुँदैन। कति भावहिन छ यो समय। कास म समय हुन सकेको भए आज मलाई यो पिडा हुने थिएन। मन आफ्नै सिमा नाघेर चाहिने नचाहिने कुरा सोच्न मै व्यस्त थियो। दिमाग घरि बिद्युतको बेग भन्दा छिटो चल्थ्यो घरि ठप्प हुन्थ्यो। घरि म कसैको पर्वाह नगरी बौलाहा जसरि जोडजोडले छाति पिट्दै रुन कराउन चाहन्थें, त घरि चरा जसरि आकाशमा उडेर डांडाको टुप्पोमा बस्न चाहन्थें जहाँ मलाई कसैले बिथोल्न नसकोस्, जहाँ उस्का यादहरु आउन नसकुन।

         

तर अहँ , समय रोकिएन, जीवन रोकीएन, मलाई दुनियादारी निभाउनु थियो। मलाई साथिहरुको अगाडी हाँस्नु थियो, अफिसमा काम गर्नु थियो, फोन आए उठाउनु थियो, कसैले सल्लाह मागे दिन पर्ने थियो। किरियापुत्रीलाई सम्झिएँ। कति भाग्यमानी छन् उनीहरु कमसेकम आनन्दसंग शोक मनाउन त पाएका छन्। किरियामा नै सहि दुनियादारीबाट त उन्मुक्ति पाएका छन्। कसैको काँध थामेर रुन त पाएका छन्। मलाई उनीहरु प्रति इर्श्या लागेर आयो।

तर म? मलाई किन अनुमति छैन शोक मनाउन? म प्रश्न गर्थें तर उत्तर दिने कोहि थिएन। घरिघरि त लाग्थ्यो म प्रश्न नै प्रश्नको भकारी हुँ।

किरियामा बसेकाहरुले काँचो केरा भुटेर खाएको देखेको थिएँ। मैले पनि त्यस्तै गरें। काँचो केरा भुटेर खाएँ, मिश्रीको काँडा बनाएर खाएँ, केहि छाक घ्यु सित भात मुछेर खाएँ, आलु भुटेर खाएँ, फलफूल पनि खाएँ तर नुन खाइन। यो कर्मकाण्ड जसरि पनि पुरा गर्नु मेरो अभिष्ट थियो। खाने बेला वाक्वाकी हुन्थ्यो त्यै पनि जसरि तसरी खाएँ किनभने मलाई यो किरियाबाट बाहिर आउन थियो। किरिया बस्ने काम सोचेको भन्दा निकै गार्हो रहेछ। नुन नखाएकोले ५ दिन पछि नै म लल्याकलुलुक भैसकेको थिएँ। १३ दिन किरिया गर्न त यति गार्हो हुन्छ भने १ बर्षसम्म परपेचमा बसेर बरखी बार्न कति गाह्रो हुन्छ होला? जस जसले यो कर्मकाण्ड नियम पुर्वक पुरा गरेका थिए उनिहरु प्रति अगाध श्रद्धा जागेर आयो।

         

यादहरु बल्झिने क्रम रोकिएको थिएन। भूकम्पको पराकंप जस्तै यादहरु झम्टीझम्टी आउँथे। कुनै यादहरुको कम्पन कम हुन्थ्यो त कुनैले जरैदेखि हलाउँथे। म खाट मुनि लुकौं की ढोकामा आड लागूँ केहि सोच्न सक्दिनथें । कहिले सिरक भित्र गुजुल्टो पर्थें त कहिले कानमा फुल भोल्युममा गित बजाएर सुन्थें। म जति यादहरुबाट भाग्न खोज्थें उति पिछा गर्दै आउँथे। अचम्मको लुकामारी चलेको थियो यादहरु सित तर अफसोच म संधै हार्थें।

हो, यसरि नै बिते मेरा जीवनका सबैभन्दा कष्टकर १३ दिनहरु। यो समयमा मैले सबै कुरा भोगें । मुलतः मैले जीवनका सायद सबै भन्दा दुखदाई अनुभूतिहरुलाई आत्मसाथ गर्न पाएँ। म कुनै पनि किसिमको किरियाको लागि तयार थिईन किनभने त्यसबारेमा मैले कहिल्यै सोच्न परेको थिएन वा भनौं त्यो बारेमा सोच्ने मेरो उमेर नै भएको थिएन। मैले त सोचे न सम्झेको भैदियो या भनौं आफैले यो परिस्थितिलाइ निम्त्याएको थिएँ। जे होस् मैले जसो त्यसो त्यो शारीरिक र मानसिक पिडाबाट छुटकारा पाएको थिएँ।

         

किरियाबाट बाहिर निस्केपछि मैले आफुले आफैलाई फरक पाएको थिएँ। केहि गम्भीर त केहि दृढ। मलाई थाह थिएन म अब जीवन कसरि अगाडी बढाउँछु। म अन्यौलमा थिएँ कुन दिशामा जाउँ। बास्तवमा म त्यो सम्बन्धको पोखरीमा निस्फिक्री आहाल बसेको थिएँ, सायद अलि लामो समय नै आहाल बसेछु। म आफु समय भन्दा केहि पछाडी भएको महसुस गर्थें किनभने म संगैका साथिहरु धेरै अगाडी पुगिसकेका थिए। रिस उठ्थ्यो आफ्नो मुर्खता प्रति, मैले पहिले नै ‘प्लान बि’ बनाएर राख्न पर्ने थियो। तर मलाई त मेरो मायामा यति बिश्वास थियो की मैले ‘प्लान बि’ को जरुरत नै देखेको थियिन। किन हो कुन्नि त्यती बेला आफैलाई धिक्कार्न मनलाग्यो।

पढाई सुचारु गरुँ की खाडी तिर जाउँ की अहिले कै जागिरलाई निरन्तरता दिउँ या अलि राम्रो जागिर पो खोज्ने हो की? मैले केहि निर्णय गर्न सकेको थिईन। अरुसंग सल्लाह माग्दा फरक फरक सल्लाह दिन्थे। सल्लाह दिन सजिलो छ तर आफुलाइ नै पर्दा निर्णय गर्न गाह्रो अनि डर पनि लाग्थ्यो यसै त पछाडी धकेलिएको म अझै पछाडी धकेलिईने पो हुँ की? लाग्थ्यो मेरा सम्भावनाका सबै ढोका थुनिएका छन् या भनौं म कुन ढोका खोलौं अन्योलमा थिएँ। यो अन्योलताले मलाई थप निरास बनाएको थियो। दिन त जसो तसो बित्थ्यो रात बिताउन मुस्किल हुन्थ्यो। एकातिर भविष्यको चिन्ता अर्को तिर जति सुकै बिर्सिएँ भनेर गफ हाने पनि उसका झल्कोले घरिघरि झस्काई नै रहन्थे। अझै पनि उसँग बिताएका पलहरुका झझल्को आउँथ्यो। याद भन्ने कुरा हरेक ठुलोसानो कुरामा जोडिएको हुँदोरैछ; एक कप कफी, एउटा गित, एउटा दृश्य, वर्षाका केहि थोपा नै काफी हुँदो रैछ मुटु बल्झाउन, उसको याद दिलाउन र कमजोर बनाउन। सबैभन्दा पिडा आफ्नो दुख अरुलाई सुनाउन नपाउँदा हुँदो रैछ। मसंग न कोही साथी थिए न परिवारको कुनै सदस्य जसलाई म मन खोलेर आफ्नो दुखद कथा सुनाउन सक्थें। साथीहरु नभएका होइनन् तर कसैसंग पनि त्यो लेभलको कम्फर्टमा पुग्न सकिन। सबैसंग लुकाइराखेको सम्बन्ध एक्कासी टुट्यो भन्दा कस्ले पो सहानुभूति जताउथ्यो र? डायरीलाई खुब मिस् गर्थें। फेरी लेख्न सुरु गरौँ की झैँ लाग्थ्यो तर लेख्न सक्दिन झैं लाग्यो । झन् पिडा थपिन्छ की डर लाग्थ्यो ।

         

अम्मलीहरु चुरोट छोड्नको लागि सुर्ती च्याप्छन् सुर्ती छोड्नको लागि पराग अनि पराग छोड्नको लागि अरु नै कुनै अम्मल अँगाल्छन् तर अम्मल त्याग्न सक्दैनन्। हो, त्यसरी नै यो कथित सम्बन्ध रुपी बन्धनबाट छुटकारा पाउन म फेरी अर्को कुनै सम्बन्धमा जोडिन जरुरि थियो। आखिर बिझेको काँडा निकाल्ने काँडा नै त हो। त्यो समयमा मैले यो बाहेक अरु बाटो कुनै देखिन।

तर मलाई डर थियो म फेरी पनि जीवनमा कुनै यस्तै सम्बन्धलाई स्थान दिन सक्छु र ?

त्यो भन्दा पनि गार्हो कुरा थियो फेरी कसैलाइ बिश्वास गर्न, फेरी कसैको साथ पाउन, जसले आफुलाई जीवनभर साथ दियोस्, अगाडी बढ्ने प्रेरणा दियोस्।

मलाई यति कुरा थाहा थियो की म फेरी सुन्यबाट सुरु गर्न सक्दिन किनभने म जीवनमा धेरै अगाडी बढीसकेको थिएँ। कसैलाई भेट्नु, मनपराउनु, फेरी त्यस्तै भावना आउनु, प्रेम प्रस्ताव राख्नु, डेटिङ जानु, उपहार किनेर दिनु, संगै फिल्म हेर्नु यी सबै कुरा जसलाई म ‘नाटक’ को संज्ञा दिन्छु यस्ता नौटंकीबाट मलाई बितृष्णा भैसकेको थियो। अब गाँस्ने नयाँ सम्बन्ध सफल हुन्छ भन्ने ग्यारेण्टी पनि त केहि थिएन नि। अनि म के फेरी ४ बर्ष पछाडी धकेलियिनु? एक प्रकारले मलाई प्रेम देखि नै बितृष्णा उत्पन्न भएको थियो।

त्यसैले मैले बिहे गर्ने निर्णय गरें। बिहे गरेपछि सम्बन्धले स्थायित्व पाउँछ र दुइ जनालाई संगै बस्न, एकअर्काको साथि बन्न बाध्य पार्छ। तर मैले बिहे गर्ने सोच यसकारण गरें की म फेरी त्यो नाटक मंचन गर्न सक्ने अवस्थामा थिईन। अबको सम्बन्ध म सिधै बिहे देखि सुरु गर्न चाहन्थें। बिहे पछि जतिसुकै मनमुटाव भएपनि समाज, परिवार को डरले भएपनि दुईजनालाई संगै बस्न कर लाग्छ, अनि बिस्तारै एकअर्काको बानी परिन्छ, चित्त बुझाइन्छ, एडजस्ट गरिन्छ तर सम्बन्ध टुट्दैन। ठुलो साहस बटुलेर घरमा कुरा राखें। सबैले सर्हाउनु भयो, बहिनिले खिसी गर्दै भनि, ‘तेरी पुरानी गर्लफ्रेन्ड खै त? ब्रेकअप भको हो?’ बहिनि सित खुब रिस उठ्यो तर म सित उसलाई दिनको लागि मुख भरिको जवाफ थिएन। पहिलोपल्ट बहिनि सित हारेको महसुस भएको थियो किनभने म जीवनमा नमज्जा सित थेचारिएको थिएँ।

आखिरमा परिवार सुहाउँदि, सबैको चित्त बुझ्दी एउटी केटिको पनि खोजि भयो। सपरीवार केटीको घर गयौँ। अभिभावकहरुले हामी दुइलाई आफ्नो भाग्यको निर्णय गर्न भनेर १ घण्टाको समय दिनुभयो। ४ बर्षमा त मैले कसैलाई बुझ्न सकिन भने १ घण्टामा के बुझ्न सक्थें र? त्यहि पनि औपचारिकता निभाइयो। एकअर्काको अन्तर्वार्ता लिईयो। १ घण्टाको समय सायद धेरै नै हुँदो रहेछ। यस् बिचामा हामीहरुले एक अर्काको मनपर्ने रंग, खाने कुरा, हिरो हिरोनीदेखि जीवन कसरि अगाडी बढाउने सम्मका सबै कुरा गर्यौं। एकअर्काका पुराना सम्बन्धको पनि कुरा गरियो। मेरो पुरानो सम्बन्धको बारेमा सबै कुरा साँचो भन्ने हो भने उसले म सित बिहे नगर्ने निश्चितप्रायः थियो। समस्या मेरो सम्बन्धको थिएन, समस्या थियो जुन रुपले मैले मेरो सम्बन्धको अन्त्यष्टि गरेर किरिया गरेको थिएँ। सद्धे मान्छेले गर्ने जस्तो हर्कत नै कहाँ गरेको थिएँ र? मैले एउटा बनावटी कथा सुनाएँ जहाँ केटा केटि एकअर्कालाई असाध्यै माया गर्छन्, अचानक केटिको अमेरिका भिसा लाग्छ, टाढाको सम्बन्ध उनीहरु निभाउन सक्दैनन्, यहि बीच केटिको एक्स ब्वैफ्रेन्डको इन्ट्री हुन्छ उनीहरु प्याचअप हुन्छन् र केटा केटिको सम्बन्ध टुट्छ। मलाई लाग्छ मेरो कथा सजिलै बिक्यो किनभने बजारमा यो भन्दा सस्तो कथा सायदै उपलब्ध थियो। एकछिनलाई लाग्यो कति कमिना छ है मान्छे कथा पनि छानीछानी सस्तो मात्र पढ्छ। उसले पनि आफ्नो उस्तै सस्तो कथा सुनाइ। मैले ध्यान दिएर सुनेको झैँ गरें। बीचबीचमा ‘अनि के भयो ?’ भनेर प्रश्न पनि गर्थें। हामीले पुरानो सम्बन्धलाई बिर्सेर भावी जीवनमा अगाडी बढ्ने कसम खाएर एकअर्कालाई विश्वास दिलायौं। हामीले हाम्रो निर्णय सुनायौं। सबैजना खुसि हुनुभयो म खुसि भएँ सायद उ पनि खुसि भई।

मलाई लाग्यो जीवनले मलाई फेरी एउटा मौका दिएको छ अगाडी बढ्न, पुराना गल्तिहरु सच्याउन, कसैलाई माया गर्न र कसैको माया पाउन। ममा फेरी नयाँ उर्जा थपिएको थियो। जीवनले नयाँ दिशा लिएको थियो। त्यो बेला मैले त्यो पुरानो सम्बन्धलाई खुचिंग गरें जसले मलाई पिडा बाहेक केहि दिएन। सायद हो क्यारे जे हुन्छ राम्रो को लागि नै हुन्छ। मलाई आज आएर यो भनाइ चरितार्थ लाग्यो।

        

धुमधाम संग बिहे भयो। सबै खुसि देखिन्थे, म खुसि थिएँ, उ खुसि थिइ। बिहे भएको तेस्रो दिनदेखि हाम्रो प्रेम सुरु भयो। जीवन कति छिटो चल्दो रैछ, अस्ति सम्म सिंगल रहेको मेरो रिलेसनसिप स्ट्याटस आज म्यारिड हुन पुग्यो। अस्ति सम्म म जसलाई चिन्दा पनि चिन्दिन थिएँ आज उसैसंग प्रेम गर्छु। हामी सामान्य श्रीमान् श्रीमती जस्तै बन्यौ मेरा बा र आमा जस्तै। सायद म असल श्रीमान ठहरिएँ उसले असल श्रीमतीको बिल्ला भिरी। फेसबुकका भित्ताहरु हाम्रा जोडीका तस्विरले भरिन थाले। लाइक र कमेन्टको ओइरो आउँथ्यो। सबैको नजरमा हामी पर्फेक्ट कपल थियौ। हाम्रो जोडीको डाह गर्नेहरु छ्यापाछ्यापी थिए बजारमा। हितैषीहरु यो जोडीमा कसैको नजर नलागोस् भन्थे।

        

समयलाइ फर्केर हेर्दा मैले सहि समयमा सहि निर्णय गरें जस्तो लाग्छ। हुन त बेला बेला मलाई अझै पनि पुरानो सम्बन्धले झस्काउने गर्छ।

सोच्छु: 

कतै म निदाइरहेको बेलामा उसको नाम बर्बराएँ भने के हुन्छ?

लापरबाही फोन मिल्काउँदा उसको म्यासेज या कल आए के हुन्छ?

कुनै रिक्तताबाट गुज्रिएको बेला मेरी श्रीमतीलाई उसको नामले बोलाएँ भने के हुन्छ?

कतै मेरो भुत मेरो बर्तमान र भविष्यको खुसिको बाधक त हुने होइन?

सायद मैले उसलाई पहिले नै सबै कुरा भन्न पर्ने थियो। मैले हाम्रो सम्बन्धको सुरुवात नै झुटबाट गरेको छु त्यसैले डर लाग्छ यदि केहि गरि उसले साँचो कुरा थाह भयो भने कस्तो प्रतिक्रिया दिन्छे होला। तर अब धेरै ढिला भैसक्यो। बिश्वास भन्ने कुरा एकपटक गुमीसकेपछि फेरी पाउन गार्हो हुन्छ। म उसको विश्वास गुमाउन चाहन्न न त उसलाई दुखि नै देख्न सक्छु। यो रहस्य सायद अन्तिम समयसम्म पनि मसंग नै रहनेछ ।

सायद मैले त्यस सम्बन्धको अन्त्यस्टी गरेर ठिकै गरें, त्यति नगरेको भए सायद म फेरी उस्को शरणमा पुग्ने थिएँ, सायद फेरी आफ्नो प्रेमको भिख माग्ने थिएँ, सायद उ पग्लिने थिइ, सायद हामी फेरी सम्बन्ध जोड्ने थियौं, अनि फेरी हाम्रो सम्बन्ध टुट्ने थियो, सायद फेरी यो प्रक्रिया दोहरिरहने थियो, सायद म जहाँको त्यहिँ हुने थिएँ, सायद म कुनै दुर्व्यसनी वा अल्कोहोलिक भएर सिद्धीने थिएँ, या पागल हुने थिएँ, या जिन्दगीदेखि हार खाएर आत्महत्या गर्ने थिएँ। मलाई खुशी छ कि यो सब केहि भएन। अहिले मलाई त्यो सम्बन्ध प्रति न घृणा छ न कुनै लगाव। किरिया गरेसंगै त्यो सम्बन्धको मेरो जीवनमा अब कुनै औचित्य र स्थान छैन।

जे होस् अहिलेको क्षणमा म जीवन सित खुसि छु। साँचिकै खुसि छु। यति सजिलो रैछ जीवन जिउन त मान्छेहरु किन प्रेमको पछाडी पागल सरि दौडीरहेछन म कुरा बुझ्दिन। मलाई लाग्छ समय आएपछि प्रेम स्वयं हामीलाई खोज्दै आउँछ। अनि भन्छन् नि जोडी भगवानले माथिदेखि बनाएर पठाउँछन्, मलाई ठिकै हो जस्तो लाग्यो। मेरो भाग्यमा जो लेखिएको थियो मैले उसैलाई पाएँ।

(पुनश्च्य:- यो कथा यसै ब्लगमा भएको कथा एउटा सम्बन्धको अन्त्यष्टी को दोस्रो भाग हो। यसको पहिलो भाग धेरैले मन पराउनु भएको थियो र यो दोस्रो प्रयास पनि सबैले मन पराउनु हुन्छ भन्ने आश गरेको छु। लेखकको बिशेष आग्रहमा उहाँको नाम खुलाउन असमर्थ भएको ब्यहोरा अबगत गराउन चाहन्छु)

Advertisements

5 thoughts on “एउटा सम्बन्धको अन्त्यष्टि पछि………

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s