मैले (न)बुझेको राजनीति

नेपालको परिपेक्षमा न २०५२ को आन्दोलन आवश्यक थियो न अहिलेको मधेश आन्दोलन नै। दुवै आन्दोलन केही शक्ति र केही ब्यक्तिको स्वार्थमा टिकेको छ जसमा सर्वसाधारण लाई ढाल बनाइएको छ।

२०४६ मा जब बहुदल आयो, काँग्रेस, एमाले, राप्रपा संसदमा पुगे, तर बाबुराम, प्रचण्ड, मोहनबिक्रम लगायतका नेताका आल्तु फाल्तु पार्टीको बिचल्ली थियो, उनीहरुलाई आफ्नो अस्तित्व जोगाउन केही गर्नैपर्ने थियो, त्यही स्वार्थमा कथित जनयुद्ध जन्मेको हो। र जनयुद्ध सफल हुनुको मात्र कारण चरम गरिबी र बेरोजगारी थियो। त्यसमाथि केही अवशरबादिहरु “माओवादी हुँ” भन्दै ध्वाँस जमाएर लुटेर खान पाईने भएकाले माओवादी बन्ने ट्रेण्ड नै चलेको थियो। ब्यबहार बिग्रेका ब्यापारी, ठगीमा संग्लग्न हरुलाई सबैभन्दा सजिलो उम्कने उपाय भनेको माओवादी बन्नु थियो। बाठा बाहुन क्षेत्री त माओवादीमा पसेर आफ्नो झोली भरे, फँसे बिचरा सोझा जनजातिहरु। माओवादी जिन्दाबाद भन्दै बन्दुक र बम बोकेर कमान्ड सम्हाल्दै युद्धमा अघि अघि हिड्ने ती घोइराहरु यति पछाडि परे कि आज को कता छन. केही अत्तोपत्तो छैन। अहिले बल्ल सबैमा चेत आएको छ कि माओवादी जनयुद्ध आवश्यक थिएन र अहिलेको बर्तमान परिस्थितिको मुख्य जिम्मेवार पनि माओवादी हो।

छनलाई त अरु मधेशबादि दल हरुपनि छन, तर तीनले कहिल्यै केही लछारपाटो लगाउन सकेनन्, न लगाउन चाहे, न कहिल्यै लगाउने नै छन भन्ने आश छ। तीनले जन्माउने भनेको सरिता गिरी र सिके राउत हरु हुन त्यसैले तीनको बारेमा केही लेख्नु या बुझ्न खोज्नु त बेकारै छ। यहाँ फोरमको बारेमा मैले थाह पाए अनुसारको लेख्दैछु। ६२/६३को आन्दोलन पछि बिभिन्न पार्टीमा रहेका एकथरी नेताहरुमा नाटकीय मित्रता देखियो, त्यसैको फलस्वरुप जन्मियो फोरम। मधेशको नारा लिएर उदय भएको यो पार्टी संसदमा चौथो शक्तिशाली पार्टीमा दहरीयो, गठबन्धन सरकारमा दोश्रो ठुलो पद पड्काउने हैसियत बनायो। तर अफसोच, पदमा पुगेपछि कुनै नेताले आफ्ना नारा सम्झिएनन्, सबै पदको भागबण्डामा भुले, अन्ततः फोरमको यति बिजोग भयो कि प्रत्येक चोटी नया सरकार आउँदा फोरम टुक्रिएको हुन्थ्यो। फलस्वरुप पहिलो निर्वाचनमा चौथो शक्ति भएको फोरमलाई दोश्रो निर्वाचनमा राप्रपा नेपाल जस्तो हिजो जन्मेको पार्टीले समेत पछाडि पार्यो। धेरै ठूला भनिएका नेताहरु पराजित भएर संविधानसभा बाट बाहिरिन पुगे। र अबको चुनाबमा झनै खराब भविष्य देखिरहेका यी मधेशी नेतालाई संविधान घोषणा हुनु नै आफ्नो गुमेको राजनीतिक साख ब्युँताउने सुवर्ण मौका साबित हुन पुग्यो। नत्र केही महिना पछाडी फर्केर हेर्यौँ भने देश लगभग शान्त थियो, जताततै एउटै नारा घन्किएको हुन्थ्यो “संविधान जारी गर”। संविधान जारी भयो, र जारी हुनासाथ बर्षौँदेखी कहिले संविधान जारी होला र आन्दोलन गरौँला झैँ गरेर सबै मधेशी नेता उर्लिए, संविधान मा के त्यस्तो लेखिएको थियो र मधेशीले आफ्नो हक अधिकार गुमाए भन्ने कुरा मैले आजसम्म बुझेको छैन। यसो बुझ्न पाए र सही लागे हामी पनि समर्थन गर्ने थियौँ होला।

प्रथमत: यति कुरा आफैँले आफैँलाई स्पष्ट पारौं कि हाम्रो देश नेपाल शताब्दीऔँ देखि यावत् राजनीतिक झमेलाले पछाडी परेको हो। बेलामै बिकास, शिक्षा पाएनन जनताले। त्यसैले हो हामी पछाडी परेकै हौँ। हामी बिदेशीको अधीनमा कहिल्यै रहेनौ तर बिदेशी भन्दा खतरनाक स्वदेशीले हामीलाई यसरी थिचे कि टाउको पनि उठाउन दिएनन्। राजा र राणा, यी दुई भाइरसले देश यति इन्फेक्टेड हुन पुग्यो कि हामी बिश्व भन्दा शताब्दी पछाडी पर्यौँ। मुख्य कुरा जनताले शिक्षा पाएनन्, एकादुई भारत तीर गए पढे, आफूजस्तै चतुर चतुर बटुलेर आए, नानाभाँती राजनीति गरे बचेकुचेको फेरी तीनले लुटे, तीनैका वरिपरि हिँड्ने लठैत हरु आज देशको सत्ता हाँक्दैछन। राणा पालामा भैसक्नुपर्ने बिकास महेन्द्रको पालामा आएर बल्ल भए, नत्र त्यो भन्दा पहिला यो देशमा न गतिलो बाटो थियो, न बिजुली न पानीको ब्यवस्था। जनताहरु यस्ता थिए कि बरु चार घण्टा टाढा पँधेरो जान सक्ने तर आवाज उठाउन नसक्ने। रेलको त झनै कुरा नगरौँ, देशको भौगोलिक अवस्थाले गर्दा रेल चल्न सकेन भनेर सजिलै भन्दिन्छन, उता त्यस्तै पहाडी दार्जीलिङमा पुगेको रेल थोत्रिएर संग्रहालयमा राख्ने उमेरको भैसक्यो। पढाइ त बल्ल राणा शासन हटेपछि सुलभ भएको हो। अलिअलि अक्षर चिनेकाले आफ्नै भकारी भर्न बाहेक अरु काम जानेनन्। राज्यब्यवस्था बदलियो तर देशको अवस्था जस्तो को त्यस्तै रह्यो। यत्रो लेख्नुको मतलब, जब देश अशिक्षाले आक्रांत थियो, अर्धशिक्षित हरुले देशको बागडौर धानेका थिए, यस्तो अवस्थामा समाज मा बिभेद हुनु स्वभाविक हो। तर सबैकुरा बिस्तारै परिवर्तन हुँदैछ, आफै हेर्न सक्नुहुन्छ, आज उमेरले ५० कटेका पहाडीको पिंडीले मधेशी माथि गर्ने ब्यबहार र २५ कटेका पहाडीको पिंडीले गर्ने ब्यबहारमा आकाश जमिनको फरक छ।

हामीलाई “बदमासी गरिस भने देशी आएर बोरामा हालेर लैजान्छ” भनेर डराउन दिइन्थ्यो, अनि हाम्रो बाल मस्तिष्कमै काला बर्णका मधेशी मूलका या भारतीय प्रति नकारात्मक सोच भरियो, तर हामी बुझ्ने भयौँ, बुझेपछी हामीलाई डर देखाउने लाई पनि “यो गलत हो” भनेर बुझायौँ र हाम्रा सन्ततिलाई पनि बुझाउने छौँ। परिवर्तन हुन समय लाग्छ र सुध्रने समय हरेकलाई दिनुपर्छ। मान्छे हरु दिनानुदिन नयाँ कुरा सिक्दैछन, बुझ्दैछन, चेतना फैलँदो छ, नयाँ पिढी साक्षर हुँदैछ, र आशा गरौं केही समयमै ठूलै परिवर्तन देखिनेछ। त्यसैले पुराना उदाहरण दिएर पुरानै ब्यथा कोट्याउँदै पहाडेले यसो गरे र उसो गरे भन्दै कोकोहोलो मच्चाउनु, पहाडे माथि प्रतिशोधको भावना राख्दै हरेक पहाडे माथि औँला उठाउनु ठिक देखिँदैन। ‘जे हुनु भैहाल्यो, अब केही तिमी सुध्र केही हामी सुध्रिन्छौं’ भन्दै सहमतिको बाटोमा लागियो भने अवश्य राम्रा दिन आउनेछन। तर “तीमीहरुको अन्नपानी बन्द गरिदिन्छु” भनेर नाकाबन्द गरेर, आन्दोलन गरेर या पहाडे लाई सरापेर परिवर्तन त यी यत्रो नि हुन्न।

यति र उति प्रदेश, प्रदेश सिमाङ्कन लगायतका बिषय हामी सर्वसाधारणको बुद्धिले भ्याउने भन्दा माथिका कुरा हुन। र यो सबको बारेमा खोतलेर जान्नु पर्ने आवश्यकता पनि छैन साध्य पनि हुँदैन। कि त प्रत्येक जनताले संविधान का एक एक धारा पाठ गर्नुपर्यो र फलानो धारा या बुँदा गलत छन भन्ने प्रमाणित गरेर सच्याउन लगाउनु पर्यो। तर यो ब्यवहारीक हुँदैन त्यसैले संविधान मा सही गलत छुट्याउने, गलत कुरा सच्याउने काम हामीले चुनेर पठाएका नेताको हो। उनीहरूलाई आफ्नो जिम्मेवारीको काम जनतामाथि थुपारेर, उनीहरुलाई बहकाएर, कामधन्दा छोड्न लगाएर आफ्नो पछिपछि लगाउने, लाखौँ क्षतिपूर्ति पाउने लोभ देखाई सुरक्षा संयन्त्र माथि आक्रमण गर्न उक्साउने कुनै अधिकार छैन। म बुझ्न सकिरहेको छैन कि मधेशका जनता के कति राजनीति बुझेर आन्दोलनमा होमिएका छन। संविधान भनेको संसोधन गर्न मिल्ने कुरा न हो जसको एउटा आफ्नै प्रक्रिया हुन्छ। आफैं हिड्ने बाटो बन्द गरेर, आफै चढ्ने सवारी तोडफोड गरेर, आफ्नै ठाउँमा आउने सामान रोकेर, आफ्नै सन्तान पढ्ने बिधालय बन्द गरेर मेहनत गर्नुपर्ने समयमा सयौं दिन आन्दोलन गर्दै बसेर केही परिवर्तन हुँदैन। हुन्छ त केबल आफ्नै अबनति र बरबादी मात्र। भन्दाखेरी उत्पीडित भयौँ भन्ने अनि सय दिनदेखि पेशा, ब्यवसाय ठप्प पारेर पनि खान पुग्ने कस्तो किसिमको उत्पीडन हो यस्तो? बेलाबेलामा सामन्ती पहाडीया को कुरा निस्कन्छ, सामन्ती पारा त बरु अहिले मधेशले देखाईरहेको छ। भेदभाव कहाँ हुँदैन? यो त सांसारीक बिकृति नै हो। चाहे बिश्वको सबैभन्दा बिकसित मुलुक अमेरिका होस या युद्धग्रस्त अफगानिस्तान, जहाँ मानवजाति हुन्छन् त्यहाँ मतभेद हुन्छ, आआफ्नो धर्म, बर्ण या जाति अनुसारको समुह बन्छ, अनि एक समुहका ले अर्को समुह माथि बिभेद गर्छन। त्यही हो समाज भनेको, जहाँ दमन पनि हुन्छ, जहाँ सामन्ती पनि हुन्छन्। उदाहरणको लागि अमेरिकी लाई लिउँ, कुनै समय त्यहाँ काला जाति हरु कति उत्पीडित बनाएर थिए, र आज कालै बर्णको ब्यक्ति त्यहाँका राष्ट्रपति छन।

हो नेपालमा संख्यात्मक रुपमा धेरै भएकाले पनि हुनसक्छ, बाहुन क्षेत्रीहरुकै बाहुल्य छ धेरैतीर, र मधेशी हरुमाथि बर्णभेद भएको थियो, आज पनि भैरहेको छ। तर यो सब भएको अशिक्षा र अज्ञानले हो। परिवर्तनका लागि सबैभन्दा पहिला शिक्षा जरुरी छ, समाज परिवर्तन गर्छु भनेर नेतृत्व लिनेले त्यसका निम्ति पहिले आफु साक्षर भएर संबन्धित उठानका बिषयमा ज्ञाता हुनुपर्यो, अनि अरुलाई बुझाउन सक्नु पर्यो त्यसपछि देशको संविधानको दायरामा रहेर भद्र तरिकाले बिरोध जनाएर नमिलेका बुँदालाई संसोधन गर्न सकिन्छ। राजनीतिको ‘र’ पनि नबुझेका सर्वसाधारण लाई आक्रोशमा ल्याएर, उचालेर सकारात्मक परिवर्तन ल्याउँछु भन्ने कुरा नचिताए पनि हुन्छ। तर बर्तमान परिस्थितिमा जे भईरहेको छ त्यसले पहाड तराई बिचको सम्बन्धमा यति ठुलो फाटो ल्याईदिएको छ कि अब यो सम्बन्ध सुधार्न सदियौँ लाग्नेछ। त्यति नै समय यो अबधीमा देशले भोगेको आर्थिक नोक्सानी भर्पाई गर्न लाग्नेछ। यो आन्दोलनले हुने फाइदा भनेको आन्दोलनका नेतृत्व गर्ने नेतालाई मात्र हो। गलतलाई गलत भन्न सक्ने ब्यक्ति पनि होलान् तराई तीर, छिटै तीनले आवाज उठाउने छन र गलत दिशा तीर गईरहेको मधेश आन्दोलनको दिशानिर्देश गरेर आफ्नो हक अधिकार सुनिश्चित गर्नेछन्, मधेशलाई यो सामन्ती पहाडेको शुभकामना!
image

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s