ती एघार दिन

​म आज के लेख्दैछु म आफैलाई थाह छैन। केही छ मनमा, दिमागमा तर स्पष्ट भन्न आउँदैन। ​म अलिक धेरै सोच्छु भन्छन् सबैजना। मलाई पनि त्यस्तो लाग्छ तर पनि बाल दिन्न। लेखकै त नभनौं तर केही लेखकीय गुण चाहिँ छ म मा। र यो बिधामा सबभन्दा आवश्यक नै सोच्ने अनि कल्पना गर्ने शक्ति हो। हरेक मानिस आफैँमा सब चिज हो, उसले आफुलाई कसरी प्रस्तुत गर्ने, त्यो आफैँमा भर पर्छ। सकारात्मक तरिकाले प्रस्तुत गरे कसै न कसैको नजरमा आइन्छ, नकारात्मक तरिकाले प्रस्तुत गरे कसै न कसैको आँखी अवस्य भइन्छ। भैगो, दर्शन छाँट्न पनि मन लाग्दैन, सुन्न पनि मन लाग्दैन आफुलाई, त्यसैले फिलोसोपी बन्द। 

जिन्दगीका कुनै मोडमा जान अन्जानमा कति मानिस सँग ठोकिन पुगिन्छ, तर केही ब्यक्ति यति घाँडो भएर आइलाग्छन कि तीनको बारेमा नसोचौँ भनेपनि सोच्न बाध्य नै भइन्छ। उनीहरुलाई थाहै हुन्न, यता भने मन मस्तिष्कमा बवालै भइरहेको हुन्छ। कुरा केही बर्ष अघिको हो। म पनि यस्तै अन्जानमा ठोक्किन आइपुग्नु भएका एकजना महोदयको उपस्थितिले निकै तनावमा थिएँ। गाँड फटाएरै राखेका थिए हेर्नोस। अगाडी भेटे काटेर लाश गायब गरिदिन्थेँ होला, तर उहाँ अदृश्य हुनुहुन्थ्यो। अलि नामर्द टाइपको के। कतै त हुनुहुन्थ्यो तर मेरो पकडबाट निकै टाढा र पनि मेरो जिन्दगीमा नराम्ररी नै असर गरिरहनु भएको थियो। म सोच्दा सोच्दा आफै थाकिसकेको थिएँ, अति भैसकेपछि ‘भैगो म यस्तो हुन हुँदैन, नत्र उस्तै परे पागल भइन्छ’ भन्ने सोच आउन थालेको थियो। मलाई छिटै कतै टाढाको यात्रा तय गर्नु थियो, तर यस्तो अवस्थामा त्यो सम्भव थिएन। अब कसरी सोच्न बन्द गर्ने त भनेर स्वअध्ययन गर्दा ध्यान गर्नु नै उत्तम उपाय भनेर हरेक श्रोतले सुझायो। हातमा फोन थियो, इन्टरनेट थियो, उपायका पनि अप्सन खोज्न औँलाहरु फोनतीर फैलिए। 

ओशो तपोवनका बारेमा त धेरैले सुनेका हौँला। विपश्यनाको बारेमा पनि केहीले सुन्नुभएको होला। तर यी राजधानीबासीका लागि मात्रै हुन, मोफसलमा खासै सुलभ छैनन् यस्ता सुविधा। त्यतिकैमा केही बर्ष अघि एउटा मेरो साथीले भनेको याद आयो, ‘बेगनास माथि बिपश्यना केन्द्र खुलेको छ, त्यहाँ जा’। गुगल सर्च गर्दै गएपछि भेटियो लेखनाथमा अवस्थित बिपश्यना केन्द्रको बारेमा जानकारी। फोन गरेँ, उनीहरुले यो सेसन प्याक भएको बताए। मैले केही गरी मिलेमा सम्पर्क गर्नु भनेर आग्रहका साथ मेरो नम्बर छोडेँ।

मनभीत्रको आन्तरिक लडाइँ जारी नै थियो, कहिले भिषण हुन्थ्यो, कहिले शान्त। त्यतिकैमा एकदिन फोन आयो, ‘पर्सी देखी नयाँ सेसन शुरु हुँदैछ, ११ दिन फुर्सद मिल्ने भए आउनुस’ भनेर भने। यस्ता ध्यान स्यानका कुरा हाम्रा समाजमा बुझ्दैनन्, त्यसैले कसैसँग बर्णन गरिरहनु बेवकुफी मात्रै हो। त्यसैले कसैलाई भनिन। तर त्यत्रा दिन गायब हुन केही बाहना अवश्य चाहिन्थ्यो। अरुलाई जे भनेपनि घरमा त के ढाँट्नु, त्यसैले बुबालाई भनेँ। शुरुमा केही अप्ठेरो मानेजस्तो गरे पनि बुबा मान्नुभयो, मुवाले अलि बुझ्नुहुँदैन यस्ता कुरा त्यसैले म केही दिन कतै जाँदैछु, अलि दिनमा फर्किन्छु भनेँ। बस चढेर जाने जाँगर चलेन, त्यसमाथि कमसेकम एउटा साथीलाई त भन्नुपर्छ भनेर एउटा साथीलाई एकठाउँ पुर्याइदे भनेँ। पुगिन्जेल उसलाई नि केही भनिन, जब पुगियो उ पनि छक्क पर्दै फर्कियो। 
बेगनास तालछेउको जंगलको बिचमा एउटा ठूलो हल ठडिएको थियो, वरीपरी ससाना घरहरु थिए। म पुग्दा बिदेशी नागरिकले लाइन लागेर उभिएका थिए, केही स्वदेशी (या भारतीय) पनि देखिए। सबैले आआफ्ना आवश्यक समान बाहेकका कुरा लकरमा राख्न पर्ने रहेछ। तौलिया, केही थान कपडा, साबुन, ब्रस बाहेक केही लैजान नपाइँदो रहेछ। त्यसैले लगाएका गहना, फोन र अरु बस्तु पहिल्यै साथीसँग फिर्ता पठाएको थिएँ। नाम लेखाएँ, पर्स र केही कुरा लकरमा राखेँ, रुम नम्बर भेटेपछि रुम खोज्दै गएँ। ठुलो हल ध्यान केन्द्र, साना घर चाहिँ आश्रम रहेछन्। सामुहिक बाथरुम र ट्वाइलेट अलग्गै। पुर्वपट्टी पुरुषका आश्रम, पश्चिमपट्टी महिलाका। यति सुन्दर ठाउँ कि कुरै नगरौँ। तल जंगल, अनि फैलिएको निलो ताल, त्यसमाथि सुन्दर बँगैचा। मोबाइल साथमा ल्याउन पाको भए क्या दामी फोटो खिच्दो हुँ जस्तो लाग्यो। तर यहाँ छिरेपछि फोटो खिच्न त परै जाओस बोल्न समेत नपाइदो रहेछ। ११ दिनसम्म मौनता कायम गर्नुपर्ने रे। अत्यावश्यक परे ब्यवस्थापनका मान्छेसँग नत्र गुरुसँग केही सोध्न मात्रै बोल्न पाइने। घण्टी अनुसार उठ्ने, ध्यान गर्ने, खाने, सुत्ने नियम हुँदोरहेछ। केही निश्चित ठाउँमा निश्चित मार्गबाट जान मात्रै छुट थियो। जेहोस बाहिर निस्केपछि देखिने चारैतिर हरीयो, निलो ताल, खुल्ला आकाश, अनि चराचुरुङ्गीको सुमधुर आवाज। मन यति शान्त हुन्थ्यो कि लाग्थ्यो म स्वर्ग नै आइपुगेँ। 

पहिलो दिन बेलुकी ५ बजेतिर घण्टी बज्यो, सबैजना माथिल्लो घरतीर उक्लिए, म पनि पछि पछि गएँ। चियापान को समय रहेछ, चिया, कफी, साना बटुकामा थोरै दालमोठ र भुजा, र एउटा आँपको टुक्रा थियो। मलाई खासै केही मन परेन, त्यसै पनि बेलुका खाना खाइहालिन्छ भनेर त्यो भोजन स्किप गरेँ। कोठामा आएर बसें, अरु दुई जना बिदेशी रुममेट थिए। तर मौनता कायम गर्नपर्ने भएकाले बोल्ने आँट आएन, उनीहरु नि बोलेनन्। झ्यालनेरबाट बाहिर नियाल्दै ढल्दै गरेको साँझ हेर्दै बसेको छु। बिस्तारै अँध्यारोले उज्यालोलाई बिस्थापित गर्दै गयो। भोक पनि लाग्दै गयो। बिदेशी हरु त निदाइसके तर म चाहिँ कतिखेर खाना खान बोलाउलान, कतिखेर घण्टी बजाउलान भनेर कुरेर बसेको छु, रात छिप्पिन लाइसक्यो हेर्नोस, खाना खान बोलाउने छाँटकाँट केही देखिन्न। सायद १० बजे होला टीङ् घण्टी बज्यो, मन हर्षित भएर आयो। बिदेशी हरु उठ्लान र तीनको पछि लागेर जाउँला भनेको, उनीहरु उठ्ने नामै लिएनन्। त्यतिकैमा एक कर्मचारी एकदमै शान्त चालले हाम्रो कोठामा आए, मलाई सुत भनेर हातले ईशारा गर्दै बत्ती निभाएर फर्किए। त्यसपछि बल्ल पो थाह भो, डिनर त त्यही ५ बजे दिएको खानेकुरा रहेछ, जुन मैले खाइन। अब पो भोक झनै जागेर आउन थाल्यो, आन्द्रा मडारिन थाले। भोक भनेको कुरा जति सोच्यो त्यति बढी लाग्ने रहेछ। खिस्रिक्क परेर यस्तै रहेछ आजको दिन भनेर मन बुझाउँदै निदाउने प्रयासमा लागेँ। एक त नयाँ ठाउँ, नयाँ बिस्तारा, त्यसमाथि भोको पेट, कसरी सजिलै निदाउन सक्नु?  र पनि कसो कसो निदाएछु, ५ बजे घण्टी बजेपछि ब्युझियो। 
बिहानै दुई घण्टाको ध्यान कार्यक्रम पछि नास्ता, फेरी ध्यान अनि खाना, ब्रेक, अनि ध्यान, बेलुकी हल्का चियापान र ध्यान अनि सुत्ने, केही यस्तै दैनिकी थियो। म पहिलो दिनमै भोकले छटपटाएर सुतेको मान्छे, ध्यान भन्दापनि खाना खाने घण्टी कतिबेला बज्ला भन्ने तीर बढी ध्यान जान थाल्यो। ध्यान केन्द्रित गर्छु भनेपनि मन यति चञ्चल कि, घरी खाना, घरी म किन-कुन कारणले यहाँ आएँ भन्ने सोच्दै अशान्त मात्रै रह्यो। र पनि मन भड्किन नदिन सकेको कोशिश गरेँ। मेरो मात्रै हो कि सबैको त्यस्तै हुन्छ कुन्नि, ध्यान गर्दै गयो, अनि दिमागले गुरुले भनेको एउटा शब्द टिप्छ, अनि त्यो शब्दले दिमाग लाई कता पुर्याउँछ कता। के भनिरहेका छन गुरुले केही अत्तोपत्तो, मन त्यो एउटा शब्दलाई पछ्याएर कहाँ कहाँ फ्ल्यासब्याकमा पुगिसकेको हुन्छ। अनि झल्याँस्स भयो, गुरुका कुरामा ध्यान दिन खोज्यो, तर अपुरो शिक्षा हानिकारक हुने त अवश्य नै भयो, त्यसैले सोचेजस्तो परिणाम पाउन भने सकिन। र पनि मलाई जिन्दगीमा आफ्नै परिक्षा लिने मौका मिलेको थियो र म त्यसलाई सदुपयोग गर्न चाहन्थेँ। किनभने त्यो मन माथि बिजयको मात्रै कुरा थिएन, मलाई मेरो धैर्यता जाँच्नु थियो। म आफ्नो मौनता कायम गर्न सक्छु कि सक्दिन त्यो जाँच्नु थियो। अम्मल बिना बस्न सकिँदो रहेछ कि रहेनछ भनेर थाह पाउनु थियो। ग्याजेट बिनाको लाइफ पुनः एकपटक अनुभव गर्नु थियो मलाई। सात्विक भोजन र योगी जिन्दगीको थोरै मात्रै भएपनि अनुभव लिने मौका पाएको थिएँ। नत्र बस्न नसक्ने अवस्था भएमा फर्किन सबैलाई पुर्ण छुट थियो। मैले बस्ने निर्णय गरेँ। 

सायद म जस्तै मन चञ्चल भएका अरु पनि थिए, त्यसैले ४० को जमात घटेर ३० जतिको भएको थियो। यो कुरा पनि कसरी थाह भयो भन्देखी, परपट्टी कुनामा एउटी च्वाँक केटी देखिन्थी, त्यो अचेल देखिन छोडेकी थिइ। एउटा इन्डियन जोडी पनि थियो, ती पनि देखिन छाडेका थिए। सबैजना आँखा चिम्लेर ध्यान गर्दै बसेका मौकामा मेरा आँखा भने वरीपरी डुल्ने गर्दथे। अनि बेलाबेलामा गुरुले देख्थे अनि आँखा को भाकाले गाली गर्थे। मानव शरिर न हो, बसेर प्रणाम गर्न झुक्दा पेट अँठिने भएर होला, केही ध्यानी हरुको ग्याँस छुट्ने गर्थ्यो। र लहरै एउटाको पछाडि अर्को बसिने भएकाले अगाडिकोले ग्याँस छोड्दा ठ्याक्कै पछाडि बस्नेलाई अत्यन्तै गम्भीर असर पर्थ्यो। वरीपरीकाले वायु प्रदूषण खेप्ने नै भए। हल्का गन्ध आउनासाथ मेरा आँखा खुल्थे, वरिपरि हेरेर मुख्य पिडितको अनुहार हेर्दा हाँसो छुट्थ्यो तर आफैँलाई सम्हाल्न पर्थ्यो। 
बिपश्यना केन्द्रमा सात्विक भोजन खाएपछि मेरो खाना प्रतिको धारणा फेरीयो। पहिलो दुई तीन दिन त लौ भोकैले मरिने हो कि के हो जस्तो लाग्थ्यो, तर भोक भन्दा पनि मन रहेछ मुख्य। जुन कुरा चौथो, पाँचौ दिनमै अनुभव गरेँ। मानिसले आफुले गर्ने श्रम अनुसार को आहार ग्रहण गर्नुपर्ने रहेछ। बिशेषत प्रातकालिन खाना पेटभरी खायो भने रात्रीकालमा केही फलफुल र हल्का खानेकुरा खाए शरिरलाइ पुग्ने रहेछ। हामी चाहिँ गोजेरो फुल्ने गरी खाएर सुत्ने मध्येका पर्यौ। 

धेरै कुरा सिक्न पाइयो, मुख्य त SN Goenka का भिडियो हेरेपछि मन प्रफुल्लित हुन्थ्यो। मौनता कायम राख्न सकिएको थियो, अम्मल छोड्न सकिएको थियो, फेसबुक नचलाइ बाँच्न नि सकिएको थियो, साथसाथै ध्यानमा कोशिश गर्दै जाँदा केही बेग्लै अनुभव हुन पनि थालेको थियो। बिशेषत शरिरमा भएका पिडा हरुमा ध्यान केन्द्रित गर्ने कुरामा केही उपलब्धि हासिल भएको थियो। दुखाई अहिले छ, एकछिनमा छैन, अहिले यता छ, एकछिनमा कता हुन्छ कता। दुख भनेको एकैठाउँमा सँधै नरहने रहेछ। त्यही सिकियो तर मन भने अझै बसमा ल्याउन सकिएन। घरी घरी जंगलमा बनकुखुरा कराउँथ्यो, अनि त्यसको मासु याद आउँथ्यो, अनि कुखुराको याद आउँथ्यो, अनि चिकेन आइटम, चिकेन मम, तन्दुरी चिकेन, बिरयानी। घर जान्छु अनि जाँदाको दिनमै चट्ट मसला हालेर बबाल बिरयानी बनाएर खान्छु भन्ने सोच्दै छटपटीन्थेँ। दिमागमा बिरयानीका कुरा खेल्न थालेपछि एसएलसी दिएर मद्रास जाँदा बिरयानी खाएको याद आउँथ्यो, मद्रास सम्झेपछि तिरुपति दर्शन गर्न गएको याद आउँथ्यो। इन्डियाको मन्दिर त्यत्रो भब्य अनि ब्यवस्थित, हाम्रो पशुपति मन्दिर अव्यवस्थित भन्ने सोच आउँथ्यो। पशुपति सम्झेपछि नजिकै भएको एयरपोर्ट याद आउँथ्यो, प्लेन पशुपतिको मन्दिर माथिबाट उड्दा मान्छेको खुट्टा मुनि मन्दिर पर्छ, त्यस्तो बेला पाप लाग्ला कि नलाग्ला?… हे भगवान, यता ध्यान गर्दैछु, एउटा बनकुखुरो के कराएको थियो, मन त मद्रास गएर बिरयानी खाएर तिरुपति घुमेर पशुपति पुगिसक्थ्यो। के के हो के के सोच पनि। मलाई मुख्य यहि समस्याको छुटकारा नपाएकोमा भने दुख लाग्यो। 

यसरी ११ दिन आश्रममा बिताइयो। कष्ट पनि भएन, आनन्द पनि भएन। सायद कष्ट र आनन्दको बिचको लाइन नै सुख हो, तर हामी अचेल सुख पैसा, समान र अरुमा खौल्छौं। पाउँदैनौँ, अनि दुखि हुन्छौँ, अरुलाई दोष दिन्छौं, संबन्ध बिगार्छौँ, अरुलाई पनि दुख दिन्छौं, बेखुशी दिन्छौं। यस्तै कुरा सोच्दै आफ्नो गच्छे अनुसारको आर्थिक सहयोग गरेर गेट पार गर्नासाथ चुरोट सल्काउँदै, घर गएर बिरयानी पकाएर खाने कल्पँदै, फेसबुकमा कति नोटिफिकेसन आए होलान् भन्ने सोच्दै घरतीर फर्किएँ। एउटा कुरा के प्रमाणित भयो भने म साकाहरी भएर बाँच्न नसक्ने रहेछु, दोश्रो कुरा म ध्यान गर्न नसक्ने रहेछु। त्यसैले केही सिकें भनूँ भने सोचेको जस्तो केही सिके जस्तो लागेन, नसिकि आएँ भनूँ भने नसोचेको केही न केही त पक्कै सिकें।

 र अन्त्यमा “भवत: सर्व माङ्ग्यलाम”

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s